युगसम्बाद साप्ताहिक

धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना
Tuesday, 01.02.2018, 01:48pm (GMT5.5)

- यादब देवकोटा
काठमाडौं उपत्यकाका धेरै सडक अहिले पनि धुलो र हिलो छ । कारण मेलम्चीको पाइप विस्तार र सडक विस्तार । अहिले कतिपउ सडकमा धुलो हटाउन हालिएको पानीले हिलाम्ये हुने गरेको मात्र हैन चिप्लिएर दुर्घटना नै हुन थालेका छन् । यात्रुहरु सकसपूर्ण यात्रा गर्न बाध्य छन । स्थानीय निकाय गठन भएपछि अहिले ठाउँठाउँमा दिनको ३–४ पटक पानी हाल्ने गरिन्छ । यसले धुलो त हट्छ तर दुर्घटना बढ्न थालेको छ ।
धुलो हटाउन पानी छ्याप्ने कामले तीब्रता पाएसंगै दुर्घटना पनि बढेपछि स्थानीयबासीहरुमा अर्को चिन्ता थपिएको छ । पानी हाल्न रोकौं धुलोले बसिनसक्नु, हाल्यो दुर्घटना । विशेष गरी दुईपांग्रे सवारी साधन बढी दुर्घटनामा पर्न थालेका छन् । एक गतिमा आइरहेको मोटरसाइकल अकस्मात चिप्लो ठाउँमा पुगेपछि असन्तुलित भै पछारिन पुग्छ । अहिलेसम्म जनको क्षति नभएकाले यो ठूलो समाचारको विषय बनेको छैन । 
राजधानीभित्रका विभिन्न सडक खण्डको समस्या यस्तै छ । केही समय अघिसम्म सडकको बीचमा हात्ती छिर्ने खाल्डा लामो समयसम्म त्यत्तिकै राखिएका कारण ठूलठूला दुर्घटना भए । सामाखुसीमा एक विद्यालय छात्राको वर्षाको समयमा खाल्डामा परेर मृत्यु भयो । गाडी, मोटरसाइकल खाल्डामा खसेका घटना त कति हो कति ? सडकको अवस्था तत्काल सुधार गर्ने महानगरपालिका र सरकारी निकायको प्रतिबद्धता कागजी घोषणा मात्र सावित भएको छ । 
अचम्मको कुरा त के छ भने सडकमा ग्राभेल राखेर पेल्ने काम भएपछि ढलको मगल बनाउन सुरु हुन्छ । केही समय राहत पायो फेरि सडकको समस्या उस्तै । यो क्रम आधा दशकदेखिको हो । विकास निर्माण गर्ने निकायहरुबीचको आपसी समन्वयको अभावमा यस्तो भैरहेको छ ।
काठमाडौंका सडकको जिम्मा विभिन्न निकायलाई छ । मेलम्ची खानेपानी आयोजना, महानगरपालिका, सम्बन्धित नगरपालिका अनि सडक विभाग । तर, एउटाले बनाएकोमा अर्कोले खन्ने, अर्कोले बनाएपछि फेरि अर्कोले खन्ने काम निरन्तर जारी रहँदा सडक कहिले बन्ने हो र राजधानीबासीले कहिले धुला र खाल्डोमुक्त हुने हो पत्तो छैन ।
एक वर्षअघि सर्वोच्च अदालतले सडक विस्तार र मेलम्ची खानेपानीको पाइप विच्छ्याउन खनिएको सडकका कारण काठमाडौं ‘धुलोमाडौं’ बनेपछि धुलो नउड्ने विधि अपनाउन आदेश दिएको थियो । त्यसपछि पानी हाल्ने काम त भयो, तर सडकको अवस्थामा भने खासै सुधार भएको छैन । 
उपत्यकाको सडक निर्माणका कारण वायु प्रदूषण बढेको जनाउँदै अदालतले काठमाडौँ उपत्यकाको सडक निर्माण गर्दा धुवाँधुलो न्यूनीकरण गर्ने विधि अपनाएर मात्र निर्माण गर्न सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको थियो । सो आदेशसंगै तत्काल धुलो न्यूनीकरण भए, नभएको निरीक्षण र अनुगमन गर्न, गराउनसमेत समेत आदेश दिइएको थियो ।
काठमाडौं उपत्यकाको सडक विस्तार र खानेपानी पाइप बिछ्याउने काममा सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको अग्रसरता देखिनुपर्ने भए पनि सबै झारा टार्ने शैलीमा मात्रै प्रस्तुत हुँदा महानगरबासीले पाउनुसम्म सकस पाइरहेका छन् ।
अहिलेको अवस्थाले उपत्यकाबासीको आयु ५ वर्ष घटेको विज्ञहरुले बताइरहँदा पनि सरकारको ध्यान गएको छैन । अहिलेको सडक विस्तारको काममा भएको ढिलासुस्तीको कारण ठेकेदार र सरकारी निकायको वेवास्ता बाहेक केही हैन । अनि ठेक्का पार्न दिइएको कमिशनको पूर्तिकै लागि निर्माणकार्य ढिलो हुने गरेको छ ।
नाम नबताउने शर्तमा एक ठेकेदारले केही समय अघि भनेको कुरा स्मरणीय छ । “८० करोडको ठेक्कामा १४ करोड कमिशन दिनु परेपछि कसरी काम समयमा सकिन्छ र गुणस्तरीय हुन्छ ? दुई वर्ष नलम्बाएसम्म सावा पनि उठ्दैन ।” अहिले भैरहेको यही हो ।
विगत केही वर्षयतादेखिको राजधानीको सडकको अवस्थाले पैराणिक–ऐतिहासिक शहर काठमाडौं विश्वका प्रमुख दश प्रदूषित शहरभित्र परेको छ । काठमाडौं अहिले अव्यवस्थित शहर मात्र हैन पर्याप्त सडकको अभाव र भएका सडकको नाजुक अवस्था अनि सवारी साधनको बढ्दो भिडले अरु कुरुप बन्दैगएको छ । 
सीमित घेराभित्र विश्व सम्पदाका सात सम्पदाहरु रहेको काठमाडौं उपत्यका प्रमुख पर्यटकीय नगरमा विश्वचर्चित रहे पनि पछिल्लो समय वर्षामा हिलैहिलो र हिउँदमा धुलैधुलोका कारण मुलुकको पर्यटन व्यवसायलाई नै नकारात्मक असर पारिरहेको छ । आर्थिक समृद्धि र स्मार्ट सिटीको नारा घन्काएर चुनाव जितेकाहरु कता, कुन कुनामा के गरेर बसिरहेका छन् पत्तो छैन । राजधानीको सडकमा हिंड्ने र गुड्ने जो कोही अहिले सम्बन्धित निकायका अधिकारीलाई धिक्कारिरहेका छन् । 
सडक मर्मत र सुधारको नाममा बजेट सक्ने काम मात्रै भैरहेको छ । सडकका खाल्डा ग्राभेलमात्र हालेर पुर्दा भोलिपल्ट उस्तै अवस्थामा परिणत हुने गरेका छन् । कतिपय ठाउँमा सवारी साधन गुड्दागुड्दै पनि ग्राभेल उक्किने गरेको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com