युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.21.2018, 08:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
स्रोत नभएर हैन सोच नभएर गरीब
Tuesday, 03.06.2018, 02:42pm (GMT+5.5)

- यादब देवकोटा
नेपाल गरीब हो कि गरीब बनाइएको हो ? नेपाल सम्पन्न हुनसक्ने मुलुक हो कि हैन ? यो प्रश्न यो पुस्ताले हजुरबा पुस्तादेखिका राजनीतिक नेताहरुलाई सोध्ने गर्दछन् । चार दशकअघि नेपाल धानचामल निर्यात गर्ने मुलुक थियो । विकासक्षेत्रपिच्छे राइस मिल खुलेका थिए । अहिले नेपाल चामल आयात गर्ने र अनुदानमा खाने मुलुक बनेको छ । एसियामी जलविद्युत उत्पादन गर्ने अग्रणी मुलुक हो तर एक शताब्दी पूरा भैसक्दा एक हजार मेघावाट पनि विद्युत उत्पादन छैन । भारतबाट आयात गरेर भारवहन गरिएको छ । भएका उद्योगधन्दा निजीकरण र उदारीकरणको नाममा बेचिए, भारतको एकलौटी बजार बन्यो । व्यापार घाटा चौपट छ युवा निर्यात गरेर बस्तु आयात भैरहेको छ । नेपालको अहिलेको दुरावस्थामा पुग्नको कारण स्रोत नभएर हैन, सोच नभएर हो ।
यो अवस्थाको अन्त्य नहुँदासम्म नेपालको आर्थिक समृद्धि हुँदैन । यसको कारण भनेको नेताहरुको स्वार्थ नै हो । नेपाली राजनीतिक दलका नेताहरुले आन्दोलनन गरे, सफलता प्राप्त गरे तर त्यसपछि उनीहरु स्वार्थी बने । २००७ सालदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिलाई हेर्ने हो भने थोरै मात्र नेता व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा लागेका देखिए । नेताहरुले आफूले आन्दोलन गरेको, जेलनेल खाएको समयको ब्याजसमेत असुल गरे । व्यक्तिगत स्वार्थ र मोह देखाए– जसको परिणाम मुलुक दिन प्रतिदिन कमजोर र दरिद्र बन्दै गयो ।
नेपाललाई अपार स्रोत–साधन प्रकृतिले दिएको छ, तर हामी ती स्रोतको सदुपयोग गर्न सकिरहेका छैनौं । विकास र समृद्धिका कुरा केवल नारा मात्र बनिरहेकोमा नेपालीहरु दशैंको रमझममा मस्त रहेका बेला मुलुकका दुई ठूला वामपन्थी पार्टी एमाले र माओवादी केन्द्रले चुनावी तालमेलसंगै पार्टी एकता गर्ने लिखित सहमति गरेपछि माहोल एकाएक बदलिएको थियो । सहमतिसंगै एउटै घोषणापत्रबाट चुनाव लडेर प्रदेश र संघीय संसदमा झण्डै दुई तिहाई मत ल्याए । अहिले बामसरकार बनेको छ र यसले छिट्टै पूर्णता पाउनेछ । अब आम जनताको भावनाको कदरसहित इमान्दार, योग्य र जनमुखी छवि बनाएकाहरुलाई मन्त्री बनाएर घोषणापत्रमा दावी गरिए जस्तै समृद्धिको दिशातिर मुलुकलाई अघि बढाउनुपर्छ । यसका लागि नेताहरुले त्याग देखाउनैपर्छ ।
देशको उन्नति नै चाहने हो भने दुई पार्टीका अध्यक्षले व्यक्तिस्वार्थ र आफन्तको मोह त्याग्नैपर्छ । राजनीतिमा त्याग गर्न सकिएन भने मुलुक बन्दैन र त्यस्तो त्याग गर्ननसक्ने नेता मुलुकका लागि बोझ मात्र हुनेछन् । अहिले पनि मन्त्री बन्न चाहनेहरुको लाइन लागेको छ नेताका घरमा । पार्टी एक हुने भैसकेपछि अब यो पक्ष र त्यो पक्ष हैन, जनपक्षीय सांसदलाई मन्त्री बनाउनु आवश्यक छ । हिजो केही राम्रा काम गरेर गएका व्यक्तिहरुको निरन्तरता आवश्यक छ । पटकपटक मन्त्री बनेर ‘माखो’ मार्न नसकेकाहरु पार्टीको शीर्ष तहमै भए पनि उनीहरुलाई मन्त्री बनाउनु आवश्यक छैन । अब पार्टीका गुटगत नेताको खुसीका लागि हैन पौने तीन करोड जनताको खुसीका लागि निर्णय गर्नुपर्छ । यसमा ओली–प्रचण्ड चुके भने यो कालखण्डले उनीहरुलाई माफ गर्ने छैन ।
किनभने समृद्धि, सुशासन, स्थिरता र विकासको नारा घन्काएर उनीहरुले चुनाव जितेका हुन् । जनताले त्यही आशमा भोट दिएका हुन् । यदि विगतकै जस्तो कुर्सी प्राप्ति र तेरो र मेरोमै समय खर्चिने हो भने जनमतको घोर अपमान मात्र हुने छैन कालान्तरमा एकीकृत पार्टीले ठूलो घाटा सहनुपर्नेछ । नेपाली कांग्रेसको निवर्तमान सरकारले गरेका केही गल्तीको दण्ड जसरी जनताले दिए त्यस्तै गति अबको पाँच वर्षपछि यिनीहरुको पनि हुनेछ । यही तथ्यलाई मनन् गरेर काम गर्नुको विकल्प छैन ।
यो देशमा योग्यहरुको कमी छैन, कमी छ त योग्य देख्ने आँखाको । आफ्नो नजिकको भए जो पनि योग्य र अर्कोको भए योग्य पनि अयोग्य देख्ने परिपाटीले गर्दा देशको समृद्धिमा योगदान दिने निकायमा विज्ञ हैन पार्टीका कार्यकर्ता लगिए । कार्यकर्ता पनि कस्ता लगिए भने देश र जनताको कामभन्दा नेताको निर्देशन बढी पालना गर्ने लगिए । यसको परिणाम विकास निर्माणको काम शुन्य । अब यो अवस्थाको अन्त्य आवश्यक छ र यही विश्वासका साथ जनताले बाम गठबन्धनलाई प्रचण्ड बहुमत दिएका हुन् । यो बहुमतको कदर उनीहरुले गर्नैपर्छ । मन्त्री बनाउँदा, नियुक्ति गर्दा भागवण्डा हैन योग्यता र क्षमता हेरेर गर्नुपर्दछ । विज्ञता छ भने जसलाई पनि मन्त्री बनाउँदा फरक पर्दैन । आफ्नै पार्टीको हुनुपर्छ भन्ने छैन, तर त्यसका लागि चाहिन्छ त्यागी भावना ।
अर्को महत्वपूर्ण वैदेशिक सम्बन्ध विशेष गरी भारत र चीनसंगको सम्बन्ध समदूरीमा राखेर लैजानु एकीकृत पार्टी र सो पार्टी नेतृत्व सरकारको ठूलो चुनौति हो । निर्वाचनमा बाम गठबन्धनले बहुमत ल्याएदेखि नै भारतीयहरुमा केपी ओली प्रधानमन्त्री बन्ने भारतलाई छाडेर चीनतिर लाग्ने प्रचार गर्दैआएका छन् । केपी ओली न भारततिर न चीनतिर प्रधानमन्त्रीका रुपमा नेपालतिर हुनुपर्छ । नेपालको दीर्घकालीन र बहुआयामिक हितका लागि उनले आफूलाई सच्चा देशभक्त सावित गर्दै दुबै मुलुकको विश्वास जितेर नेपाल र नेपालीको हितमा सहयोग र लगानी भित्र्याउन सक्नुपर्छ ।
सरकारले कम्युनिष्ट भन्नासाथ चीनतिर र ‘प्रजातन्त्रवादी’ भन्नासाथ भारततिर नजिक हुने भन्ने गलत मान्यता चिर्नुपर्दछ । यो सरकार पाँच वर्षसम्म चल्ने हुनाले यसले लिने निर्णय र सुरु गर्ने विकास आयोजनाहरु मुलुकको दीर्घकालीन महत्वका हुनेमा विमती छैन । यसर्थ सरकार संचालनका लागि आफ्नो मान्छे हैन राम्रा र क्षमतावान मान्छे चयन गर्न सक्नुपर्छ । यसका लागि नेताहरुले त्याग गर्न सक्नुपर्छ । 
अहिले केपी ओली देस्रोपटक प्रधानमन्त्री बन्नुभएको छ । ओली निर्वाचनपूर्व नै भावी प्रधानमन्त्रीका रुपमा स्थापित भैसक्नुभएको थियो । उहाँमाथि आमजनताको ठूलो अपेक्षा थियो र छ । पहिलोपक प्रधानमन्त्री बन्दा ओलीले देखाएको विकास र समृद्धिको सपना, अनि राष्ट्रिय स्वाभीमानको रक्षार्थ राखेको अडान आम नेपालीका लागि गर्वको विषय बन्यो । भलै यो विषय कतिपय राजनीतिक दलका नेताहरुलाई मनपरेन । ओलीको विकास योजना हावादारी ठाने, ओलीको राष्ट्रियतावादी सोच ‘महेन्द्रवादी चिन्तन’ माने । तर, जनताले तिनै ओलीलाई रुचाए ।
अब ओली प्रधानमन्त्री बनेर आफ्नो सपना पूरा गर्ने मैदानमा पुग्नुभएको छ । प्रचण्ड बहुमतको सरकारको नेतृत्व गर्नुभएको छ । त्यसैले काम गर्न सजिलो छ र कामगर्ने टोली सही भयो भने त्यो सम्भव छ । ओलीले देखाएको विकासको सपना पूरा गर्नु सानोतिनो त्यागले पुग्दैन । ओली एक्लैको त्याग र सक्रियताले मात्रै पनि त्यो पूरा हुँदैन । ओलीको समृद्धिरुपी रथ हाँक्ने त्यस्तै सारथि चाहिन्छ । समृद्धि र विकास महाभारतको रणमैदान हो र यसमा युद्ध जित्ने सारथि श्रीकृष्णजस्तै हुनुपर्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)
निर्वाचनको महाकुम्भमा मुलुक (11.07.2017)
वाम एकताले ल्याएको तरंग (10.11.2017)
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)



 
::| Latest News

 
[Page Top]