गरीब देशका धनी प्रधानमन्त्री–मन्त्री ! सुन्दै आश्चर्य लाग्छ । ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा अधिकांश करोडपति देखिए । सम्पत्ति हुनु अपराध हैन, तर त्यो सम्पत्ति राजनीति गरेरै आर्जन गरिएको हो वा कुनै पेशा–व्यवसाय वा पैतृक ? यो भने खुल्दुलीको विषय हो ।
सम्पत्तिका सवालमा कोहीभन्दा कोही कम रहेनछन् । अरू त अरू चुनावमा एक एक रूपैयाँ चन्दा लिएको सवर्ग प्रचार गर्ने लालबाबु पण्डित समेत झण्डै झण्डै करोडपति रहेछन् । उनको सम्पत्ति विवरण हेर्दा चकित पार्नेखालको छ । एउटा थोत्रो साइकल अनि ५५ लाख रूपैयाँ बैंक मौज्दात । प्रधानमन्त्री केपी ओली पनि करोडपति हुनुहुँदो रहेछ । करोडपति प्रधानमन्त्रीका मन्त्रीहरू पनि करोडपति नै छानिएछन् । यसलाई सकारात्मक पाटोबाट हेर्ने हो भने आफैंमा सम्पन्न मन्त्रीहरूले पक्कै पनि भ्रष्टाचार नगरी देश र जनताकै काम गर्लान् !
भिखारी बन्न राजनीतिमा आएको हैन भन्नेहरूलाई यो मन्त्रिमण्डलका कतिपय सदस्यले सेठ भएरै राजनीतिमा आएको हुँ भन्ने देखाइदिएका छन् भने राजनीति गरेर सेठ भएकाहरू पनि होलान् ? यतातिर पटक्कै नजाऔं । एउटा कुरा के हो भने आफ्नो गरिखानसक्ने हैसियत भएकाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो । कम्तिमा तिनले भ्रष्टाचार कम गर्लान् भन्ने अपेक्षा हो । विश्वमा यस्तो देखिएको पनि छ । तर उदेकलाग्दो कुरा के हो भने मन्त्रिहरूले आर्जन गरेको सम्पत्तिको स्रोत खुलेको छैन । उनीहरू लामो समयदेखि राजनीतिमा नै सक्रिय थिए ।
अर्को विडम्बनापूर्ण कुरा अधिकांश मन्त्रीहरूले आफ्नो सम्पत्ति श्रीमतीको नाममा राखेका छन् । अनि त्यो सम्पत्ति दाइजो, पेवाका रूपमा पाएको बताएका छन् । केही मन्त्रीहरू पैतृक सम्पत्तिकै कारण धनी भएका छन् । मन्त्रीहरूले आफ्नो धनको स्रोतमा स्वआर्जन, ऋण, श्रीमती तथा बुहारीको दाइजो, पेवा र आफ्नो पारिश्रमिकलाई देखाएका छन् तर मन्त्री नभएका बेला उनीहरूले पारिश्रमिक पाउने कुन काम गरे होलान, पार्टीले पचासौं लाख रूपैयाँ बैंक मौज्दात हुने गरी पारिश्रमिक कसरी दिन सक्यो होला ? उनीहरू कुनै विषयको ज्ञाता पनि होइनन्, वैदेशिक रोजगारीमा पनि गएका छैनन्, कुनै उद्योग पनि खोलेका छैनन् ? फेरि कहाँबाट आयो त्यत्रो धन ? के श्रीमतीको दाइजो वा पेवा, बुहारीसंग आएको दाइजोले करोडौंको जोहो हुन सक्छ ?
लौ सक्छ रे, त्यसो भए सामाजिक विभेद र समतामूलक समाजको निर्माण गर्ने भन्दै नारा लगाउने नेताहरूले बुहारीको दाइजो, पेवा वापत पनि थुप्रो सम्पत्ति लिएको सम्पत्तिको स्रोतमा खुलाउनु नैतिकताले दिन्छ ? त्यो साँचो हो भने नेपाली समाजमा कलंककै रूपमा विकसित हुँदैगएको दाइजोप्रथा निमिट्यान्न पार्नुपर्नेमा समाजका अगुवाहरू नै दाइजो लिन अग्रसर ??
सबैलाई प्रश्न उठाउन सकिंदैन र धनी मन्त्रीहरूको धनमाथि पनि आक्षेप लगाउन मिल्दैन । उदार अर्थनीति अपनाएको मुलुकमा व्यक्तिको धनमाथि प्रश्न उठाउन पाइँदैन तर कुनै पेशा व्यवसाय नगरी दुई छाक जनताको घरमा खाने नेताहरू करोडको मालिक कसरी भए भन्ने प्रश्न चाहिं उठिरहन्छ । मन्त्रीहरूले सम्पत्तिको स्रोत पनि खुलस्त पारिदिए जनता ढुक्का हुने थिए । कम्तिमा हाम्रा धनी मन्त्रीहरूले अब हामीलाई पनि धनी बनाउने काम गर्ने भए भनेर ।
हरेक वर्ष ट्रान्सपेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने प्रतिवेदनमा नेपालमा राजनीतिक दल र तिनका नेता सबैभन्दा भ्रष्ट रहेको भन्छ । यो एउटा पाटो हो अनि अर्को पाटो के पनि हो भने धन भएका सबै मन्त्रीहरूले भ्रष्टाचार गरेका छन् भन्न कदापि सकिन्न ।अझ यसपटकक धेरै मन्त्री नयाँ छन् । उनीहरू यसअघि त्यस्तो लाभको पदमा पुगेका थिएनन् ।
अब जिज्ञासा के उठेको छ भने– धनी मन्त्रीहरूले गरीबको पीडा बुझेर काम गर्लान् ? अनि गरीब हुँदै धनी बनेका, जो हिजो स्वयं पनि गरीब थिए उनीहरूले पनि धनको लोभ नगरी गरीब नेपालीको जीवनस्तर उठाउने प्रयास गर्लान् ? या धनमाथि धन थुपार्ने मेसोमा लाग्लान् ? चासोको विषय छ ।
हुन त प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचारा नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रतिबद्धता जनाइरहनुभएको छ । यसो भन्नुको कारण उहाँ स्वयं धनी र अधिकांश धनीलाई मन्त्री बनाउनु भएर रहेछ । सर्वहारावर्गको नेतृत्व गर्ने, गरीब, निमुखा, मजदुर, किसानको पार्टीका नेताहरू करोडौंको मालिक रहेको पाउनु खुसीकै कुरा हो । आम जनतालाई पनि त्यस्तै बनाउन उनीहरूले त्यस्तै काम गरे कति जाति ।
त्यसमा पनि अहिले धनी बनेका मन्त्रीहरू भूमिगत कालमा गरीबकै जीवन बिताएका थिए, गरीबको झुपडीमा बास बसेका थिए, उनीहरूसंग मलको डोका बोकेका थिए, हलो जोतेका थिए र मकै, पीठो खाएर प्राण धानेका थिए, राजनीतिलाई अघि बढाएका थिए, निष्ठा र संघर्षको नमूना देखाएका थिए तर अहिले परिस्थिति बदलिएछ । हिजो गरीबको घरमा बास बस्नेहरू आज धनी भएछन् । अब धनी मन्त्रीले गरीब जनताका लागि केही गर्लान् कि ?
के यी सबै प्रपच्ज्ञ आफ्नो धन जोगाउने मेसो मात्र होइन भन्न सकिएला ? धनी हुनु अपराध होइन, धन आर्जन गर्नु पनि अपराध होइन तर फरक के मात्र हो भने त्यो धन कसरी आर्जन गरिएको छ ? यसैमा सबैको ध्यान आकृष्ट हुन्छ । र आशा पनि हुन्छ कि तीन पुस्तालाई पुग्ने सम्पत्ति भएकाहरूले पक्कै पनि जनताका लागि केही गर्लान् ।