युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 03:27am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी
Tuesday, 06.12.2018, 03:22pm (GMT+5.5)

प्रकृति जीवन हो समृद्धि यसैमा छ भन्ने ज्ञात हुँदाहुँदै यसको विनाशमा हामी उद्यत छौं । एउटा रुख मास्दा एकजनालाई क्षणिक आर्थिक लाभ होेला तर त्यो रुख जोगाउँदा सयौंलाई लाभ पुग्छ भन्ने खै बुझेको ? देशलाई समृद्धिको बाटोमा लैजाने र नेपाली जनतालाई खुसी र सुखी बनाउने हो भने पहिला स्वच्छ हावा–पानी, स्वस्थ वातावरण हुनुपर्छ, यसका लागि वातावरण संरक्षण पहिलो शर्त हो ।
त्यसैले औपचारिकताका लागि हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । यो क्रम विगत ४६ वर्षदेखि जारी छ । संयुक्त राष्ट्रसंघले सन् १९७२ देखि यो दिवस मनाउँदैछ र हरेक वर्ष नयाँ नयाँ नारा दिएर एकदिन भए पनि वातावरणमा चिन्ता व्यक्त गरिन्छ, चिन्तन–मनन् गरिन्छ अनि योजना बनाइन्छ । 
नेपालमा पनि यो दिवस धुमधामसंग मनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा विरुवा रोपेर फलफूलमय देश बनाउने आव्हानका साथ हरेलाई एउटा बिरुवा रोप्न आव्हान गर्नुभयो । यो एउटा सुखद सन्देश हो, तर दिवसपछिको अवस्था के ? वन मास्ने रोक्न कस्तो कदम चालिन्छ ? यो अर्को महत्वपूर्ण सवाल छ । नेपाललाई प्रकृतिले समृद्धिका लागि दिनपर्ने सबैथोक दिएको छ । हामीले त्यसको प्रयोग गर्न जानेनौं र अहिले वातावरणमै विकास घुसाएर यसलाई नष्ट गर्दैछौ । प्रकृति र मानव तथा जीवको सम्बन्ध अन्योन्याश्रित नै छ । 
नेपाली (वैदिक) संस्कृतिमा पानी, वनस्पति, जीवजन्तु, सरिसृप, चराचुरुंगीलाई समेत भगवानको प्रतीक वा वाहन मानेर पूजा गर्ने चलन बसालियो । यसो गर्दासम्म यी सम्पदाहरुको संरक्षण भएको थियो, हामीले यसबाट लाभ लिइरहेका थियौं । वन मास्नुको साटो वनदेवीको पूजा गरेर जोगायौं, जसले मानिसलाई मंगल नै ग¥यो उतिबेला भनिन्थ्यो ‘जहाँ जंगल छ त्यहाँ मंगल हुन्छ’ । अहिले प्रकृतिले दिएको यो अपार स्रोतको संरक्षण पनि छैन र सही सदुपयोग हुन सकेन । विश्व जलवायु परिवर्तनले गर्दा नेपालको प्राकृतिक स्रोत साधन नष्ट हुने खतरा बढिरहेको छ । 
अहिले नेपालमा दुई तिहाईको सरकार छ र यो सरकारले “समृद्ध नेपाल सुखी नेपाली”को नारा घन्काएर पाँच वर्षमा स्पष्ट आर्थिक उन्नतिको बाटो तय गर्ने दावी गरेको छ । यसका लागि हाम्रा आधारहरु के के हुने ? हामीले कसरी समृद्धि प्राप्त गर्न सक्छौं भन्नेतिर खै ध्यान दिएको ? खासमा नेपालको समृद्धि प्राकृतिक स्रोतसाधनमै छ र यसको समुचित र अनुशासित दोहन आवश्यक छ । 
नेपालको समृद्धिको आधार जल, जंगल र जडिबुटी हुनेमा कसैको पनि विमति छैन तर यही तीन अमूल्य सम्पदा सर्वाधिक चलखेलको शिकार भैरहेको छ । जलस्रोतको विकासको नाममा आयोजना ओगट्न दिने बाहेक केही भएको छैन भने जंगल फडानीले मुलुक उजाड हुँदै गएको चिन्ताजनक अवस्था छ । जडिबुटीको त झन कुरै नगरौं– मुलुकमा एउटा प्रशोधन केन्द्र पनि छैन । करोडमा जवडिबुटी निर्यात गरेर त्यसबाट बनेको सामग्री अर्बौंको आयात हुने गरेको छ । आफ्नो घर आँगनमा पाइने वस्तुको समेत सदुपयोग हुन नसकेको अवस्थामा आर्थिक विकासका गगनभेदी नाराले के सार्थक रुप लेला ?
मुलुकको समग्र विकासका लागि दृढ इच्छाशक्ति र प्रतिवद्धताको आवश्यकता पर्दछ । दह्रो प्रतिवद्धताविना गरिएका कार्यहरू सफल नहुने मात्र होइन, त्यसले उल्टो परिणाम ल्याउन सक्छ । मुलुकको आर्थिक रुपान्तरण नै गर्ने हो भने प्रकृतिले हामीलाई दिएको हिमाल, पहाड र तराईको उपयोग गर्नुपर्छ । भूगोल सुहाउँदो कर्म गर्नुपर्छ– अर्थात् कृषि । कृषिको अर्थ खाद्यान्न उत्पादन मात्र होइन– खाद्यान्नसंगै जडिबुटी, फलफूल, पशुपालन जस्ता विषयहरूलाई पनि एकसाथ समेटेर बहुकृषि प्रणाली अहिलेको आवश्यकता हो । यसका लागि कृषियोग्य जमिनको संरक्षण गरेर वैज्ञानिक कृषि प्रणालीसंगै भूमिहीनहरूको जीवनस्तर उकास्न भूमिमाथि हदबन्दी कायम गरिनु पर्दछ । 
त्यस्तै बढ्दो शहरीकरणसंगै वातावरणीय क्षय र उर्वर भूमिमाथि महल खडा गर्ने परिपाटीको अन्त्य हुनु पनि त्यत्तिकै जरुरी छ । नदीनाला र वनजंगलको संरक्षणसंगै आधुनिक कृषि प्रणाली र जमिनको समानुपातिक विभाजनले मात्र नेपालको कृषितन्त्रले फस्टाउने मौका पाउनेछ । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात गर्नसक्ने अवस्था आउनेछ । 
त्यस्तै जल, जंगल र जडिबुटी नेपालको समृद्धिको पहिलो आधार हो । जलसंग जीवन गाँसिएको हुँदा कृषिको विकासका लागि, औद्योगिक प्रतिष्ठान स्थापनाका लागि र जंगल जोगाउन पनि जलको उपयोग आवश्यक छ । जबसम्म जलविद्युत पर्याप्त मात्रामा उत्पादन हुँदैन तवसम्म उद्योग–धन्दा खुल्ने र इन्धनका रुपमा जंगल मास्ने कार्यमा कमी आउँदैन । हरियो वन नेपालको धन भनेजस्तै जैविक विविधताले भरिपूर्ण नेपालमा औषधिजन्यदेखि लिएर विभिन्न सुगन्धित जडिबुटीको अथाह भण्डार रहेको छ । त्यसको सदुपयोगबाटै नेपाली जनता समृद्धिको उचाइमा पुग्न सक्नेमा दुईमत छैन । 
राष्ट्रिय अर्थतन्त्रको एउटा मजबुत र दीर्घकालीन आधारको रुपमा रहेका जटिबुटीजन्य वस्तुहरूको उपयोगिताका लागि अहिलेसम्म नीति बनेको छैन । व्यक्तिगत रुपमा केही संस्थाहरूले यसको निकासी र प्रशोधन कार्य गर्ने गरेका भए पनि त्यो पर्याप्त छैन । जडिबुटीको निकासीभन्दा यसको प्रशोधन र अन्य वस्तुहरू उत्पादन गरेर निर्यात गर्ने परिपाटीको विकास अहिलेको आवश्यकता हो । 
जडिबुटीको पहिचान, खोजी र यसको संरक्षण अहिलेको प्रमुख आवश्यकताभित्र पर्दछ । उच्च हिमाली भेगदेखि लिएर पहाडी क्षेत्रमा जडिबुटीको अथाह भण्डार छ । सामान्य रुपमा हेर्दा तितेपातीदेखि यार्सागुम्बा र पाँचऔंलेको उपयोग विश्वव्यापी रुपमा भैरहेका छन् । ग्रामीण क्षेत्रमा त्यसै मिल्कइरहेको तितेपातीको बहुउपयोगी गुणलाई मात्र हामीले उपयोग गर्न सक्यौं भने त्यसबाट लिन सकिने लाभ अनगिन्ती छ । 
कृषिप्रधान मुलुक नेपालमा विदेशमा डलर तिरेर कीटनाशक औषधि भित्र्याउनुको साटो यसैको उपयोगितातिर ध्यान केन्द्रित गर्ने हो भने उत्पादित खाद्य पदार्थमा प्राकृतिक गुण प्राप्त हुनेछ भने आयात खर्च पूरै रोकिने मात्र होइन, स्वदेशभित्रै थुप्रैले रोजगारी पनि प्राप्त गर्नेछन् । त्यस्तै हेर्दा सामान्य लाग्ने यस्तो औषधीय वनस्पतिहरू कति छन्, त्यसको लेखाजोखा नै छैन । समृद्ध नेपाल र सुखी नेपाली यसरी बन्नेछन् ।
जल, जंगल र जडिबुटीको साइनो एक अर्कासंग गाँसिएको छ । यो मानव जीवनदेखि प्राकृतिक सन्तुलनमा समेत प्रभाव पार्ने विषय भएकाले यसको संरक्षण, उपयोग र व्यापार अन्धाधुन्द नभएर नियोजित रुपमा गर्नुपर्छ । प्राकृतिक स्रोत मास्नेतिर नलागी व्यावसायिक खेतीतिर जोड दिनु आवश्यक छ । जलविद्युत, सिंचाई, खानेपानीमा जलसम्पदाको उपयोग गर्नु जति आवश्यक छ यसको संरक्षणका लागि जंगलको संरक्षण उति नै आवश्यक छ । 
‘जंगल नै मंगल’ मान्ने संस्कृतिका धनी हामी नेपालीहरू यतिबेला जंगल मास्न उद्यत भैरहेको अवस्थालाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ । केही व्यक्तिको लाभका लागि वातावरणीय क्षयको वेवास्ता गरी प्राकृतिक सम्पदाको उत्खनन् तथा व्यवसाय गर्न दिने प्रथा रोकिनुपर्छ । जलविनाको संसार कल्पना गर्न नसकिएकाले यसको आधारका रुपमा रहेको जंगलविना पनि जीवनको कल्पना गर्न सकिन्न । त्यसैले अहिले बढ्दो प्रदूषणका कारण बढ्दै गएको जलवायु परिवर्तन र त्यसले निम्त्याउँदै गएको समस्यासंग जुध्ने उपायहरूको खोजी पनि नितान्त आवश्यक भैसकेको छ ।
वातावरण मानवका लागि मात्र नभएर सृष्टि संरचनाको अस्तित्व नै चुनौतिपूर्ण बन्दैगएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ (04.12.2018)
सानो कुरामा खुसीले उफ्रने हामी (04.03.2018)
इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’ (03.27.2018)
विमानको इतिहास, उडान र दुर्घटना (03.20.2018)
स्रोत नभएर हैन सोच नभएर गरीब (03.06.2018)
सरकारलाई धुर्मुस–सुन्तलीको चुनैति (02.20.2018)
सुन्दा राम्रो, गर्न सकस पार्ने निर्णय (01.30.2018)
स्वच्छ वातावरण र यज्ञको सम्बन्ध (01.25.2018)
बल्ल खुल्यो बुद्धिको बिर्को (01.09.2018)
धुलो हटाउन पानी, चिप्लिएर दुर्घटना (01.02.2018)
कहिले छोड्ने बाटो बूढाहरुले ? (12.26.2017)
अबको लफडा प्रदेशको राजधानी ! (12.19.2017)
निर्वाचनको साथर्कता तब हुन्छ... (12.12.2017)
मत तान्ने नै भए पनि सही निर्णय (12.05.2017)
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ (11.28.2017)
जो घरभित्रै असुरक्षित छन्... (11.24.2017)
यति धेरै खर्च सबै अनुत्पादक (11.15.2017)



 
::| Latest News

 
[Page Top]