युगसम्बाद साप्ताहिक

सक्रिय मनसुन र विपत्तिको त्रास
Tuesday, 07.10.2018, 02:39pm (GMT5.5)

– यादब देवकोटा
वर्षायाम सुरु भयो अर्थात मनसुन आयो, किसानहरु खेतमा मानो खाएर मुरी उमार्ने जमर्कोमा छन्, तर कतिपय स्थानमा खेत बाँझै छ अनि कतिपय स्थानमा डुबानमा परेको छ । मनसुन खासमा समृद्धि भित्र्याउने याम हो, तर अहिले मनसुन विपत्ति बोकेर आइरहेको छ । अघिल्लो हप्ता तीन दिन लगातार वर्षा हुँदा देशका अधिकांश भाग डुबानमा प¥यो, पहिरो झ¥यो, राजमार्ग अबरुद्ध भयो । यो दोष मनसुनको हो कि मनुवाको ? बुझ्नुपर्ने यथार्थ यही हो ।
बाढी, पहिरो जस्ता विपत्तिलाई उतिबेला दैवी विपत्ति भनिन्थ्यो, अहिले प्राकृतिक विपत्ति भनिन्छ । तर, यथार्थमा त्यो दुबै हैन र यो मानिसकै कुकर्मले निम्त्याएको, मानिसकै कुबुद्धि र सोचविहीन प्रवृत्तिले निम्त्याएको हो । प्राकृतिक स्रोत साधनमाथिको क्रुर दोहन यसको कारण हो । यो नेपालको मात्र हैन संसारभरकै समस्या हो । अहिले मानिसमा उत्पन्न अहंकार र शक्तिको उन्मादले प्रकृतिमाथि विजयी पाएको दम्भ प्रदर्शन गर्दा मानव समाज अनेक समस्यामा परिरहेको छ । 
सामुद्रिक आँधी, बाढी, पहिरो लगायतबाट भएको मानव तथा भौतिक क्षतिमा मान्छे नै जिम्मेवार र कारक हो । मानवले प्रकृतिलाई आफ्नो अवस्थामा रहन नदिएको र यसको अत्यधिक दोहन नगरेको भए न पहिरोको समस्या, न बाढी वा डुबानकै । सामुद्रिक आँधी पनि त्यस्तै हो । पछिल्लो एक दशकयता नेपाल डुबान, बाढी र पहिरोको चपेटामा बढी नै पर्दैआएको छ ।
मनसुस सुरु भएको छ । हरेक वर्ष जस्तै यो वर्षको तीन महिनायता नेपाल प्राकृतिक विपत्तिमा पर्नेछ भन्ने आँकलन सुरुवातले नै देखाइसकेको छ । एक हप्ता सक्रिय भएको मनसुनले दुई दर्जन बढीको ज्यान लियो । मनसुनको सुरुवाती अवस्थामै यो हालत छ भने यो शक्तिशाली हुँदै गएपछि के होला ? यदि मानिसले सचेत भएर प्रकृतिलाई चुनौति नदिएको र आफ्नो सुरक्षा आफैं गर्नुपर्छ भन्ने जागरुकता देखाएको भए घटना वा दुर्घटनाबाट यति धेरै क्षति हुने थिएन । 
प्रकृति जस्तो स्वरुप र अवस्थामा रहनुपर्ने हो त्यस्तो अवस्था अहिले छैन । ऋतु परिवर्तनको सिद्धान्त नै गडबडिएको छ । बुढापाकाले देखेको समय र अहिले धेरै अन्तर छ । यसको मार धनी र विकसित राष्ट्रको तुलनामा गरिब र विकासशील राष्ट्रहरूले भोगिरहेका छन् । हावा–पानी परिवर्तनका लागि जुन राष्ट्रको कुनै योगदान नै छैन तिनै राष्ट्रहरू बढी पीडित हुनु भनेको एउटा अनौठो पक्ष हो । नेपालले अहिले भोगेको समस्या यही हो । धनी र औद्योगिक राष्ट्रहरूले गरेको कुकर्मको परिणाम गरिब मुलुकका गरिब जनताले भोग्नु परिरहेको छ । विशेष गरेर हिमालय र समुद्र किनारका मुलुकहरूको भविष्य हावा–पानी परिवर्तनकै कारण जोखिममा पुग्न थालेको छ । नेपाल जस्ता हिमाली राष्ट्रहरूमा हावा–पानी परिवर्तनको प्रत्यक्ष मारमा परिसकेका छन् । यहाँका पानीका स्रोत सुक्दैछन् भने प्राकृतिक स्रोत साधनहरू पनि लोप हुने अवस्थामा छ । कतिपय जडिबुटीहरू हराइसकेका छन् भने मौसम अनुसारका अन्नबाली तथा फलफूल पनि फल्न–पाक्न छोडेका छन् । राजधानीभित्रै पनि हावा–पानी परिवर्तनको पर्याप्त संकेतहरू देखिएका छन् । खेती गर्नुपर्ने समयमा पानी नपर्ने र खेती भित्र्याउने समयमा घनघोर वर्षा हुने गरेको छ । यसले खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने स्पष्ट नै छ । धान उत्पादन हरेक वर्ष घट्दै गएको संकेत यसैको हो ।
मानिसले जतिसुकै उन्नति गरेको र जतिसुकै प्रविधिको विकास गरेको भने पनि प्रकृतिलाई चुनौति सक्दैन, प्रकृतिको नियम बदल्न सक्दैन । अहिले हिमाली क्षेत्रमा लामखुट्टे देखापर्न थालेको छ । तराईमा भन्दा हिमालमा तापक्रम बढ्दैछ । यसले नयाँ नयाँ विपत्तिको सिर्जना गरिरहेको छ । अनि एकथरिलाई यही विपत्ति कमाउने धन्दा बन्नेगरेको छ । राहत, उद्धार सामग्रीमा भ्रष्टाचार गर्नेहरूको लर्को लाग्दछ । विपत्ति प¥यो भने त्यो एकथरिका लागि दशैं सावित हुने गरेको छ । त्यसैले त आमजनताले भन्ने गरेका छन्– नेपाल विग्रेको भ्रष्टाचारले हो । यहाँ कुनै निकायका कसैमाथि पनि विश्वास गर्न नसकिने स्थिति छ । 
विपत्ति रोक्न सकिन्न तर विपत्तिको सामना गर्न र त्यसबाट हुने क्षति कम गर्न सकिन्छ । स्मरणीय कुरा के हुन्छ भने विपत्तिपछि सही समयमा सही व्यवस्थापन हुन सकेन भने त्यसले अर्को विपत्ति सिर्जना गर्दछ । जुन, नितान्त मानव सिर्जित हुन्छ । भूकम्प, बाढी, पहिरोको बेलैमा व्यवस्थापन नहुँदा महामारी फैलिएको र त्यसले विपत्तिलेभन्दा बढी क्षति गरेको दृष्टान्त विश्वका कतिवय मुलुकको छ । त्यसैले विपत्ति प्राकृतिक वा दैवी हैन मानवीय हो भन्ने तथ्य मनन् गरेर अघि बढ्नु पर्दछ । सोही अनुसारको योजना, नीति, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्दछ ।
नेपालमा विपत्तिमाा जोखिम न्यूनिकरण गर्ने क्षमता छैन र उद्धार तथा राहत वितरण पनि प्रभावकारी हुन सक्दैन भन्ने पटकपटक देखिएको छ । पहिरो रोक्न सकिन्न, बाढी छेक्न सकिन्न तर, यसको क्षति कम गर्न सकिन्छ, भौतिक सम्पत्ति जोगाउन सकिन्छ । यसका लागि स्पष्ट नीति निर्माण हुनुपर्दछ । अनि  प्राकृतिक स्रोत साधनको प्रयोग र विकास आयोजना संचालन गर्दा व्यक्तिको स्वार्थ हैन कि राष्ट्रिय स्वार्थ हेर्नुपर्दछ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com