- यादब देवकोटा
कुनै पनि मुलुकको उन्नतिका लागि त्यस देशका युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ । जुनन देशमा युवाशक्ति परिचालन गर्ने नीति, योजना र कार्यक्रम बन्छ त्यही देशले मात्रै उन्नति गर्छ । यो साश्वत सत्य हो । आज नेपालको जुन अवस्था छ यसको एउटै कारण भनेको आधाभन्दा बढी युवा विदेशिनु हो । स्वदेशमा श्रमगर्ने जनशक्ति छैन, दैनिक १५ सयका दरले युवा विदेशिएका छन् ।
यस्तो किन ? दोष विदेशिने युवाको कि युवालाई परिचालन गर्न नचाहने नेतृत्वको ? दोष दुबैको छ । नेपाली युवाहरुको वर्तमान वास्तविकता भनेको अवसरको अभाव, आपसमा विभाजन, भ्रम र हिनभावनाको विकास हो । यी चार पक्षले युवाहरुलाई उनीहरुको क्षमता प्रदर्शनमा रोक लगाइरहेको छ । यिनै कारणले एकथरि विदेशमा पसिना चुहाइरहेका छन्, एकथरि राजनीतिक दलका नेताको भरिया बनेर अवसरको खोजी गरिरहेका छन्, अर्काथरि यता न उताका र एकथरि दुव्र्यशनको दलदलमा फसेका छन् ।
यहाँ सबभन्दा महत्वपूर्ण कुरा यो देशको अर्थतन्त्र कंगाल हुनबाट बचाउने ४० लाख युवाहरुको हो । मुलुकभित्र उचित अवसर प्राप्त नहुँदा नचाहँदा नचाहँदै विदेश जानुपर्ने वाध्यता छ । मुलुकमा औद्योगिक वातावरण छैन, रोजगारीको सिर्जना छैन । कृषिप्रधान भनिए पनि पढेलेखेका युवाहरूलाई रुपमा कृषिमा संलग्न गराउने नीति छैन । तर नारा, जुलुश र भद्रगोलमा भने युवाहरुको भरमार प्रयोग हुन्छ । नेपालको राजनीतिमा युवाहरु केवल नेतालाई शिखर चढाउने भरिया मात्र बनाइएका छन् । यी युवालाई देश विकासको अभियानमा सरिक गराउने नारा मात्रै घन्कन्छ, योजना बन्दैछ ।
अहिलेको उर्जाशील पुस्ता यसरी विदेश पलायन हुँदै गए भने राष्ट्रलाई दुर्गतीको यो खाडलबाट कसले उतार्ला भन्ने प्रश्न ज्यादै गम्भीर छ । अवसरको अभावले जकडिएका युवाशक्तिको एकमात्र आधार भनेको विदेश पलायन हुनु नै हो । अहिले हरेकको सपना विदेश जाने हुन्छ । उनीहरूको एउटै भनाइ छ– के गर्ने यहाँ बसेर खान नपाइने अवस्था भइसक्यो । न्यूनतम जीवन बाँच्ने आधारसम्म अहिले खडा हुन सकेको छैन । देश दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ ।
नेपालमा दक्षता हाँसिल गरेका र नेपालकै लागि केही गर्नुपर्छ भन्नेहरूले कहिल्यै अवसर पाएनन् । त्यसकै कारण हो विदेश पलायन । हाम्रा योजनाकारहरूले कहिल्यै यतापट्टि ध्यान दिएनन् । केवल चटके भाषा बोलेर आश्वासनका पोकाहरू मात्र बाँड्ने काम गरे जो यद्यपि छँदैछ । युवा वर्गमा बढ्दै गएको नैराश्यताले हिंसाको विकास गरिरहेको छ । राष्ट्रमा भएको ज्ञान र सीपको उपयोग नगर्ने, राष्ट्रवासीले दिएका सल्लाह नमान्ने, अनि विदेशीले भनेका हरेक कुरा शिरोधार्य गर्ने प्रवृत्ति पनि युवाशक्ति पलायन हुनुको अर्को कारण मान्न सकिन्छ । राजनीतिमा मात्र हैन, मुलुकका तमाम समस्याहरूको समाधानको एकमात्र सशक्त उपाय भनेको युवावर्गको परिचालन नै हो । यसतर्फ जिम्मेवार निकायले ध्यान दिनैपर्छ । मुलुकमा युवावर्गलाई शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा परिचालित गर्नुपर्छ ।
कसरी परिचालन गर्ने ?
देश विकासमा युवाहरुलाई अग्रसर गराउन केही सामान्य काम गरिदिए पुग्छ । तर, त्यो राजनीतिक स्वार्थबाट प्रेरित हुनुहुन्न । युवाहरूको समूहिक नेतृत्वमा विकास निर्माणको टोली बनाउन सकिन्छ । उनीहरूको सवल नेतृत्वमा विकास, समृद्धि, चेतनाको लहर गाउँ–गाउँसम्म पु¥याउन सकिन्छ । बाटो बिराएकाहरूलाई सही मार्गमा ल्याउन सकिन्छ । तर, त्यसको लागि प्रतिबद्धता चाहिन्छ । हामीले हाम्रो समाजलाई गतिशील बनाउन, देशलाई आत्मनिर्भर बनाउन र विद्यमान अनेक खालका समस्याहरू समाधान गर्न राजनीतिक विचारधाराभन्दा धेरै माथि उठेर देशभक्तिपूर्ण सोंचले अगाडि बढ्नुपर्छ । आफूमा भएको साधन स्रोतको अधिकतम उपयोग गरेर आफ्नो माटो सुहाउँदो कार्यक्रमहरू ल्याउनुपर्छ ।
युवा वर्गमा रहेको ज्ञान र सीपको सदुपयोग गर्न नसक्नु र उनीहरूमा भएको शक्तिको अन्दाज हुन नसक्नु नै देशको तमाम समस्याहरूको कारक हो । समाजका हरेक तह र तप्काका युवावर्गलाई उचित अवसर र कार्य दिलाउन प्रयास गर्ने हो भने हाम्रो धेरै किसिमका समस्याहरू स्वतः हटेर जानेछन् र राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्नेदेखि लिएर सामाजिक अपराधहरूमा समेत कमी आउने पक्का छ । तर, यसको लागि दृढ इच्छाशक्ति र राष्ट्रिय भावनाको विकास हुनैपर्छ । राष्ट्रको लागि केही गर्नुपर्छ, मेरो जिम्मेवारी र दायित्व यो हो भन्ने बुझ्ने क्षमता नेतृत्व तहमा पुगेकाहरूमा हुनैपर्छ । विशेष गरी युवावर्गलाई उपयोग गर्ने कार्यकुशलताको विकास हुनैपर्छ । यति काम गर्न सकियो भने हाम्रो अवस्थालाई सुधार्न धेरै लामो समय लाग्ने छैन । विदेश जान अत्यधिक उत्साहित हुने समूह पनि स्वदेशमै आफूलाई खुसी तुल्याउन सक्छ ।
केही सामान्य काम गर्ने हो भने नेपाली युवाका लागि अमेरिका वा बेलायत सपनाको देश नहुनसक्छ । उनीहरुको सपना नेपाल नै हुनेछ । तर, गर्ने कसले ? सबै भाषणवीर मात्र ठहरिएका छन् । युवाहरूको उपयोग राजनीतिक स्वार्थका लागि खुबै भयो । हरेक परिवर्तनका लागि युवाहरू नै निर्णायक भूमिकामा रहे । तर अवसर भने बुढाले नै पाए । ६० वर्ष नाघेकाहरूले अवकाश लिनुपर्नेमा लाजै नमानी सत्ताको खेलमा लागिरहे । राष्ट्रसेवा सुरक्षा तथा निजामती कर्मचारीहरूलाई ५८ वर्षमा काम गर्न असमर्थ हुन्छ भनेर अवकाश दिने तर नेताहरू चार बीस नाघिसक्दा पनि योग्य नै ठहरिने १ भेन्टिलेटरमा रहँदा पनि नेतृत्व छाड्न नचाहने । यसले मुलुकको राजनीतिमा सक्रिय अहिलेका युवाहरूले आफ्नो क्षमता राष्ट्रको हितमा उपयोग नै गर्न नपाई पलायन हुनुपर्ने नियति कायमै छ ।
नेपालका युवाहरुमा आफ्नो भूमिका स्थापित गर्न सामूहिक रुपमा अग्रसर हुने प्रवृत्तिको विकास हुन सकेको छैन । नेतृत्व नै गलत भएपछि उनीहरुको सिको गर्नेले यस्तो गरेनन् भनेर भन्नुको खासै खर्थ पनि रहँदैन । यद्यपि सचेत, शिक्षित पंक्तिले राजनीतिक दलहरूको भातृ, भगिनी संगठनमा आवद्ध भएर पार्टीका नेताहरूलाई सत्तामा पु¥याउने भूमिकामा मात्र सीमित नहुनुपर्ने हो तर, नेपालको यो पुस्ताका युवा यसैमा बढी केन्द्रित छ । सत्ता र प्रतिपक्षमा आबद्ध भएर उनीहरु सामाजिक संजाल अनि संचार माध्यममा एकले अर्कोको तल्लोस्तरबाट आलोचना गर्न व्यस्त छ । यही हो सबभन्दा ठूलो समस्या । युवाहरु कसरी विभाजित छन्, कसरी भ्रमित छन् भन्ने प्रमाण यो नै काफी छ ।
हरेक निर्णायक आन्दोलनमा युवा पुस्ताको माग र नाराहरूलाई दलका नेताहरूले आगामी दिनमा सम्बोधन गर्ने भनेर प्रतिवद्धता व्यक्त गर्दछन्, तर उनीहरूको सत्ता आरोहणसंगै त्यो नारा ओझेलमा पर्दछ । यसमा गल्ती कसको ? युवाहरूको कि युवालाई परिचालन गर्ने नेतृत्वको ? यो अहम् सवालमा निकै छलफल चलेका छन्, विचार प्रवाह भएका छन् र विश्लेषण तथा टिप्पणीहरू पनि थुप्रै आएका छन् । तर परिस्थितिमा कुनै सुधार छैन ।
राजनीतिक लाभहानीको खेलमा मात्र युवावर्गको परिचालन गर्न पल्केका नेताहरू आफ्नो वर्चश्वका लागि भने युवा शक्तिको दुहाई दिइरहेका छन् । यो उनीहरूको फट्याइ मात्र हो । युवाहरूलाई आफ्नो स्वार्थमा उपयोग गर्नका लागि विभाजनको रेखा कोरिदिएर त्यसैमा खेल खेल्ने नेताहरूले युवावर्गलाई दिग्भ्रमित पारिदिएका छन् । यही विभाजन र दिग्भ्रमले मुलुकमा अशान्ति मच्चिएको छ । अपराधले संरक्षण पाएको छ र यसैको जाँतोमा मुलुकको भविष्य पिसिइरहेको छ ।
विभाजित र दिग्भ्रमित युवा शक्तिलाई सही बाटोमा ल्याउने र उनीहरूको जिम्मेवारी महसुस गराएर राष्ट्र निर्माणमा केन्द्रित गराउने पहल युवा नेताहरूको काँधमा आएको छ । युवाको दुहाई दिने, युवाको सामथ्र्य र क्षमताको गुणगान गाउनेहरू युवाशक्तिलाई नै विभाजित गरिरहेका छन् । सिद्धान्तका नाममा, आस्थाका नाममा, क्षेत्रका नाममा, जातिका नाममा, सम्प्रदायका नाममा र नेता विशेषका नाममा समेत युवाहरू विभाजित छन् ।
यसरी विभाजित युवाहरुलाई स्वार्थी समूहले आफ्नो मात्र हितमा उपयोग गरिरहेको युवा स्वयंले नबुझ्दासम्म र यस्तै भ्रममा परिरहँदासम्म देश विकास सम्भव छैन ।