युगसम्बाद साप्ताहिक

भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा
Wednesday, 10.10.2018, 02:03pm (GMT5.5)

सरकारले बेरोजगार युवालाई भत्ता दिने भनेको छ । के भत्ता दिएर मुलुकको आर्थिक अवस्था सुधारिन्छ । “समृद्ध नेपाल सुखी नेपाली” भत्ताले बन्छ कि उद्यमशीलताले भन्ने चिन्ता यहाँ अति आवश्यक छ । नेपालमा काम नपाएर हैन काम गर्ने सोच र काम गराउने प्रवृत्ति नभएर बेरोजगारी बढेको हो । देशभित्र श्रमिक अभाव छ तर दैनिक हजारभन्दाबढी युवा विदेशिन्छन् । अनि कहाँबाट आउँछ समृद्धि ? नेपालमा रोजगारी छैन त्यसैले विदेशिनुको विकल्प छैन भनिन्छ, तर यही देशको तराईदेखि पहाडसम्म भारतीय कामदार छ्याप्छ्याप्ती छन्– कारण नेपाली युवाहरु उनीहरुले गर्ने काम गर्नै चाहँदैनन् । सरकार पनि युवाहरुलाई काम दिनुको साटो निर्यात गर्नै रुची राख्छ बढी मात्रामा । 
भारतीयले यहाँ साइकलमा तरकारी फलफूल डुबाएर वार्षिक लाखौं कमाउँछन्, हामी विदेशबाट आएको पैसाले उनीहरुको घर चलाइदिइरहेका छौं । हामीलाई साइकलमा तरकारी बेच्न लाज लाग्छ ! आफ्नो घरमा रायोको साग नरोप्ने अनि भारतीयले साइकलमा बेच्न ल्याएको साग किनेर खाने बानी लागेको छ । विदेशबाट आएको पैसाले उद्यम गरौं भन्ने भावना नै छैन । खेतबारी बाँझो राखेर छोरा–श्रीमान वा श्रीमतीले विदेशबाट पठाएको पैसाले खान पल्केपछि यस्तै हुन्छ । कुनैदिन वैदेशिक रोजगारीमा अबरोध आयो भने के होला ? 
आर्थिक, सामाजिक, राजनीतिक रुपमा भारतको छायाँमा परेको नेपालबाट भारतले खर्बौं रुपैयाँ आफ्नो मुलुक भित्र्याउने गरेको र नेपाल बेरोजगारी समस्याले विकराल रुप लिइरहेको भए पनि नीति निर्माताहरुमा त्यसको कुनै चिन्ता र चासो देखिंदैन । नेपालको आर्थिक दुरावस्था कायम हुनुमा भारतीयहरुको डरलाग्दो उपस्थिति पनि एक हो । यसको कारण यहाँ साइकलमा तरकारी बेच्न नेपाली युवाहरुको कथित ‘सान’ले दिंदैन । फोहरबाट मोहर संकलन गर्न उनीहरुको इज्जतले दिंदैन अनि सामान्य कृषि मजदुरदेखि सिकर्मी, डकर्मी, प्लम्बर, अटोमेकानिक्समा पनि उनीहरुको आँखा जाँदैन तर विदेश गएर त्योभन्दा निकृष्ट काम गर्न तयार हुन्छन् ।
यसको एउटै कारण श्रमगर्ने वातावरण नहुनु हो । सरकाले समृद्ध नेपाल बनाउने नै हो भने मुलुकको श्रमशक्ति विदेशिने र विदेशीले यहाँ श्रम गरेर अथाह कमाउने विडम्वनापूर्ण स्थितिको अन्त्य गर्नैपर्छ । फेरि जोड दिएर आग्रह गर्न चाहन्छु, काम पाइएन भनेर पिरोलिनुको साटो साइकलमा तरकारी बेच्दै घरघर डुले के विग्रन्छ । अनि लगानी गर्ने हैसियत नभएका तर काम गर्न चाहनेलाई स्थानीय तहले पनि सहयोग गर्ने नीति लिए कसो होला ?
यहाँ गरे नहुने केही छैन । यो नेपालीलेभन्दा बढी विदेशीले थाहा पाएका छन् । नेपाललाई माया गर्ने एक चिनीया विद्वानले भनेको कुरा यहाँ मर्मस्पर्शी लाग्दछ । उनले भनेको थिए– “नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेको छ” । नेपालको वास्तकिवता नै यही हो । त्यस्तै केही दशक अघि भारतका एकजना प्राविधिकले कालिमाटीस्थित विष्णुमतिको पुलमुनी मिल्काइएका “कथित फोहोर” देखेर भनेको थिए रे “नेपालमा सुनैसुन खोलामा फालिंदो रहेछ” !
यसको मतलब के हो भने नेपालमा पैसा कमाउन सकिने सबै बस्तु मिल्काइन्छ । कारण स्पष्ट छ– सानोतिनो काम गरे इज्जत जाने ? श्रमको मूल्य र महत्व बुझाउनै सकिएको छैन । यहाँ मेहेनत गर्नुको साटो छलछाम गरेर खाने बानी परेको छ । राज्यको उपल्लो तहदेखि नै यस्तै रोग लागेपछि युवाहरुले के गरुन् । विष्णुमतिको पुलमुनी फालिएका कथित फोहोर मानिएको बस्तु उपयोग गर्ने नीति न राज्यले बनायो, न प्रोत्साहित नै ग¥यो । 
यसको विपरीत लाखौं भारतीय काठमाडौं छिरेर तिनै फोहर बटुलेर कुस्त कमाउँछन् । यसै भएर त भारतले रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा नेपाल पनि पर्दछ । चार वर्षअघि एउटा भारतीय पत्रिकाको रिपोर्ट अनुसार नेपाल भारतमा रेमिट्यान्स भित्रिने १० मुलुकको सूचीभित्र पर्दछ । २०७१ तिरको त्यो रिपोर्ट अनुसार भारतले नेपालबाट वार्षिक ३ खर्ब रुपैयाँ रेमिट्यान्स लैजान्थ्यो । सम्भवतः यो अहिले बढेको छ । यसको विपरीत भारतबाट नेपालमा कति रेमिट्यान्स भित्रिन्छ भन्ने यक्किन छैन । किनभने भारतमा श्रम गर्न जानेको गणना नै सरकारले गर्ने गरेको छैन ।
नेपाल गरीब हैन, गरीब बनाइएको हो । संस्कार नै दरिद्र भएपछि कहाँबाट सम्पन्नता आउँछ । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा घन्काएको छ तर त्यो सम्पन्नता र सुख अहिलेकै अवस्थाले ल्याउन सक्छ ? विदेशीसंग हारगुहार गरेर कुनै मुलुक समृद्ध भएका छैनन् । 
प्राकृतिक, भौगोलिक र जैविक विविधताको धनी नेपालमा संसारका धेरै मुलुकको एकल प्रतिनिधिका रुपमा रहे पनि यहाँ खाद्यान्न, फलफूल नै आयात गर्नु परिरहेको छ । कृषिप्रधान मुलुक खाद्यान्नमै आत्मनिर्भर हुन नसकेपछि व्यापार घाटा भयो भनेर कराउनुको के अर्थ ? वार्षिक दुई खर्बभन्दा बढीको खाद्यान्न विदेशबाट आउँछ । 
नेपालको आयात वैदेशिक रोजगारीले धानेको छ । वार्षिक ७ खर्ब रुपैयाँभन्दा बढी आधा करोड नेपालीले विदेशमा श्रम गरेर पठाउँछन्, त्यही रकममा यहाँ दाइँ गरिन्छ । नेपालको अवस्था अहिले पनि युवा निर्यात गर्नेभन्दा अर्को छैन । वास्तु उत्पादन गर्ने त केवल नारामा मात्रै भएको छ । अर्कोतिर यहाँ भएका स्रोत साधनको उपयोग गर्ने र युवालाई यतै रोजगारी दिन सकिन्छ भन्ने सोच नीति निर्माता, कार्यान्वयनकर्ताहरुमा पटक्कै छैन । आफ्नो स्रोतको उपयोग गर्ने नीति पटक्कै छैन । त्यसै भएर हामी गरीब भएका हौं । 
जलविद्युत उत्पादन गरेर भारतलाई बेच्ने डंका पिटेको दशकौं भैसक्यो स्थिति जस्ताको तस्तै छ । नियमित रुपमा चलेको आयोजनाहरु समेत समयमै सम्पन्न हुन सकिरहेका छैनन् । एकैपटक ठूलो सपना देखाउने बानी सबैलाई परेको छ । पहिलो चरणमा खाद्यान्नमा आत्मनिर्भर हुने र युवाहरुलाई कृषि–पशुपालनमा आकर्षित गर्ने नीति ल्याउने अनि उनीहरुको उत्पादनको बजार सुनिश्चित गर्ने गरी योजना र कार्यक्रम बनाउने हो भने अहिलेजस्तो दैनिक हजारभन्दा बढी युवा खाडी जानै पर्दैन ।
अहिलेको अवस्था त कस्तो छ भने नेपालको आयातको तीन तिहाई भारत निर्भर छ । विदेशमा श्रम गरेर पठाएको रकमको आधा भारतमै जान्छ, भारतीय श्रमिकहरुमार्फत । भारतबाट वस्तु आयात गरेर बाहिरिने रकमको त लेखाजोखा नै छैन । किनभने नेपालमा घरेलु कामदेखि कृषि, औद्योगिक मजदुर, निर्माण मजदुर लगायत सानोतिनो व्यापार व्यवसाय लगायत ठूला औद्योगिक प्रतिष्ठानहरुसम्म भारतीयहरुको संलग्नता रहेको छ । यसै भएर नेपाल भारतको आर्थिक स्रोतको प्रमुख मुलुकको रुपमा स्थापित भएको हो । विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा उपस्थित हुँदै गएको भारतको रेमिट्यान्स भित्रिने प्रमुख १० राष्ट्रहरुमा नेपाल पनि रहनुको कारण र यसको नकारातमक प्रभाव नेपाली अर्थतन्त्रमा परिरहेको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com