युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 06:23am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा
Tuesday, 04.16.2019, 01:34pm (GMT+5.5)

हरेक वैशाख १ गतेबाट नयाँ सम्वत्को शुभारम्भ हुन्छ । यतिबेला हामी विक्रम सम्वत् २०७६ सालको प्रारम्भमा छौं । हाम्रो प्रचलनमा रहेको विक्रम संवत् वैदिक सनातन संस्कृतिमा अनुप्राणितहरुको जीवनचर्याको उच्च वैज्ञानिक गणितीय पद्धति हो । विक्रम संवत अन्तर्गत ६० वटा सम्वतसर हुन्छन् । प्रत्येक ६० वर्षमा सम्वत दोहोरिन्छ । त्यसैले यसलाई षष्टि सम्वतसर भनिन्छ । 
सम्वतलाई केबल मिति वा दिनको गणनाका रुपमा मात्रै बुझ्यो भने यो पूर्णत अपुरो हुन्छ । सम्वत् सृष्टि संरचनाका यावत पक्षको स्रोत केन्द्रकै अर्को पर्याय हो । काल अर्थात् समय अनादि छ, अनन्त छ । कालको सबै पक्ष अर्थात् स्वरूप अखण्डनीय, अतुलनीय छ । नित्य शुद्ध परमेश्वर स्वरूप यस्तो समयलाई दिन, घडिपला, सप्ताह, पक्ष, महिना, ऋतु, अयन र वर्षमा खण्डखण्ड पार्दै व्यवहारिक दिनचर्या व्यवस्थित गरिएको सनातन परम्परामा संवत्सरको भूमिका विशेष रहेको छ । अर्को महत्वपूर्ण कुरा संवत् कोही न कोहीले चलाएका हुन्छन् । नेपालमा पनि त्यस्तो देखिन्छ । त्यस्तै विक्रम संवत कसरी चल्यो भन्नेबारेमा अनेक किम्पदन्ती छ । त्यसमध्येमा एकथरी संस्कृतिविद् काठमाडौँको हाँडीगाउँमा राजधानी बनाई राज्य गरेका राजा विक्रमादित्यले नै विसं चलाएको मत राख्छन् । ती विक्रमादित्यले साँखुको बज्रयोगिनीमा तपस्या गरेको इतिहासकार बताउँछन् । उनको टाउको अहिले पनि बज्रयोगिनीमा भएको विश्वास गरिन्छ ।
जसरी जसले चलाएको भए पनि नेपालको मौलिक सम्वत् विक्रम संवत हो र यसको आफ्नै विशेषता छ । विश्वका अन्य सम्वतसरभन्दा फरक छ । विश्वका हरेक मुलुकको सम्वतसर हुन्छ र उनीहरुको पञ्चांग हुन्छ । तर हाम्रो पञ्चागको हिसाब र अरुकोमा फरक छ । उनीहरुको पात्रोको कालगणना र हाम्रो फरक छ । काल गणना जीवन संचालनको एक सूत्र हो । गणना र व्यवहारतः प्रयोगमा पश्चिमी र पूर्वीयमा ठूलो अन्तर छ । पश्चिमाको दृष्टि सूक्ष्मतम् नभएर औसतखाले ढाँचाबाट हिसाब गर्ने गरेको पाइन्छ । उनीहरूले सौर्य मासलाई मात्र प्राधान्य मानेर हिसाव गर्छन् । त्यसमा सेकेण्ड, मिनट, घण्टा, महिना र वार प्रमुख हुन्छन् । तर पूर्वमा त्यति मात्र हुँदैनन्, अरु धेरै कुरा हुन्छन् । नक्षत्र, तिथि, वार, राशि, करण, योग आदि हुन्छन् । एकपटक परेला झिम्क्याउँन लाग्ने समयलाई एक निमेस भनिन्छ, १२ निमेषको १ पला, ६० पलाको १ घडी, ६० घडीको एक दिन रात हुन्छ । १२ राशिका आधारमा १२ सैर्यामास हुन्छन् । 
वैशाख महिनादेखि नयाँ सौर्य वर्षारम्भ हुन्छ । यो पृथ्वीले सूर्यलाई एकपटक परिक्रमा गरेको अवधिको आधारमा हुन्छ । त्यसै गरेर चन्द्रमाले पृथ्वीलाई एक परिक्रमा गरेको समयलाई एक चन्द्रमास भनिन्छ । एक चन्द्रमासमा दुई पक्ष (कृष्ण र शुक्ल) हुन्छन् । चन्द्रमासको कलाअनुसार प्रत्येक पक्षमा १५ तिथि हुन्छन् । बढ्दो चन्द्रकला शुक्ल (पक्ष) पूर्णिमा र घट्दो कृष्ण (पक्ष) अमावस्यका रुपमा गणना गरिन्छ । चन्द्रमा संगसंगै पृथ्वीले अण्डाकारमा सूर्यलाई परिक्रमा गर्दा १२ राशि र २७ नक्षत्रसंग पनि तादाम्य राख्दछ । त्यो सम्बन्ध ९ ग्रहहरूसंग पनि हुन्छ । यी सबै मिलेर सौर्यमण्डलीय पद्धति बन्दछ । सौर्यमण्डल जस्तै अरु कैयौं मण्डल छन् । एक मण्डलको अर्को मण्डलसंग पनि सम्बन्ध स्थापना हुनसक्छ । 
वैदिक जीवनशैलीमा गर्भाधानदेखिका सोह्र संस्कार सबै षष्टि संवत्सरसंग सम्बद्ध हुन्छन् । जन्मेको छैठौं दिनमा षष्ठीकर्म गरिन्छ । एघारौं दिनमा न्वारान अर्थात् नामाकरण हुन्छ । यसरी नै ६ महिनामा पास्नी हुन्छ र पाँच वर्ष पुगेपछि अक्षरारम्भ । सात वर्षमा ब्रतबन्ध गरेर किशोरवय पार गरेको पुत्रसंग मित्रवत व्यवहार गर्नेप्राच्यको जीवनशैली हो । यी सबै कर्म गर्दा तत्तत् समयभित्र षष्टि संवत्सरलाई स्मरण गरिन्छ । प्रत्येक व्यक्ति गर्भदेखि नै संवत्सरको प्रभावबाटै विकसित हुँदै युवावस्थामा पुगेर रचनात्मक सिर्जनशील कर्मद्वारा आफ्नो उपस्थितिको सशक्त बोध गराउँदै वृद्धावस्थामा पुग्दा  संवत्सरकै प्रभावले क्षीण हुँदै जान्छ । ६० वर्षको जीवन पूर्वाद्ध मानिन्छ । षष्टि संवत्सर पार गरेर जव उत्तराद्र्ध जीवन सुरू हुन्छ, त्यो वृद्धको शरीरका अंग–प्रत्यंग थकित, गलित र शिथिल हुन थाल्छन् । यो नै शाश्वत सृष्टि संरचनाको नियम हो । यो नियमको निर्मातालाई विधाता र विधिविधान अनुरूप सृष्टि संरचनालाई व्यवस्थित गर्न संवत्सर यथाक्रम प्रत्यावर्तन हुन्छन् । त्यस्ता षष्टि संवत्सरलाई प्रत्येकको एक एक नाम दिएर चैत्र शुक्ल प्रतिपदा तिथि नै संवत्सर पडेवाका रूपमा अनादिकालदेखि प्रचलनमा रहेको स्पष्ट छ ।
ईश्वरीय सृष्टि संरचना र प्रकृति एवं जीव–जगत तथा ग्रह, नक्षत्र, तिथि आदिमा यो केन्द्रित छ । खण्डे इतिहासको धारा होस् वा कुनै संविधान, नियम, कानुनभन्दा धेरै माथि शाश्वत सत्य रहेको हुन्छ । शाश्वत सत्य अर्थात् प्रकृतिका रीत एवं अनादिदेखिका परम्परालाई कुनै पनि वहानामा परिवर्तन या नियन्त्रण गर्ने प्रयास केही समयको लागि सम्भव होला तर त्यस्तो प्रयास उचित मानिंदैन । षष्टि संवत्सर पूर्वीयको शाश्वत संवत् हो । पूर्वीय जीवनशैली, सभ्यता, संस्कृति, प्रकृतिका विशेषता यसमा छन् । पूर्वीय जीवनशैलीको प्रकृतिसंग घनिष्ठता छ । यसमा विकृति आयो वा पर्यावरणमा कुनै प्रकारको अतिक्रमण भयो भने जीवनशैली अस्तव्यस्त हुन्छ, अनेक विस्मता पैदा हुन्छन् । चीरकालदेखि स्थापित मूल्य, मान्यता, परम्परा, मर्यादा र शास्त्रले निर्देश गरेका विविध व्यवहारमा आधारित जीवन जगतका सन्दर्भलाई अतिक्रमण गर्ने कुचेष्टा कसैले गर्नु हुँदैन । षष्टि संवत्सरमा पूर्वीय परम्पराको यही आदर्श छ । जगत र जीवनशैलीमा ओतप्रोत भएको यही शाश्वत सत्य हो । 
संवत्सरको विशेष महत्व छ र वैदिक पद्धतिको संवत्सर सृष्टि संरचनाका यावत पक्षहरुलाई समेटेर व्यवस्थित गरिएको हो । यसका मूल्य–मान्यताहरु अझै कायमै छन् । एक किसिमले भन्ने हो भने नयाँ संवतको आगमन वाा यसको स्वागत भनेको संकल्प गर्न हो । शास्त्रीय चर्चा र स्थापित मान्यताकै आधारमा जानेर वा नजानेर हरेकले हरेक वर्षको आगमनका दिन धेरै प्रतिबद्धता, बाचा, कबोल, अनि योजना बनाउँछन् । यसको आफ्नै कारण छ, आफ्नै मौलिक विशेषता छ । वितेका तीतापल बिर्सेर आउँदो समय मीठो बनाउने उद्देश्य सबैको हुन्छ । यही उद्देश्य प्राप्ति राष्ट्रको जीवनमा पनि होस् । नयाँ वर्षले हाम्रो आँगन र आङमा पाइला हालेको छ । सबैमा शुभकामना  !


Rating (Votes: )   
Share     Print


Other Articles:
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)
सस्तो बजारका सस्ता सामान र मन्त्री (04.24.2018)



 
::| Latest News

 
[Page Top]