युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 05:18am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा
Thursday, 04.25.2019, 02:23pm (GMT+5.5)

नेपाल अपूर्व धार्मिक सहिष्णुता भएको मुलुक हो । यहाँ धर्म र जातका नाममा कहिल्यै कुनै द्वन्द्व भएन तर डेढ दशकयता नेपालको यो राष्ट्रिय गौरबको चिनारी मेटिंदै गएको छ । यहाँको धर्म, संस्कृति र परम्परा मास्दै पश्चिमा शक्तिको बलमा विद्वेष फैलाउने काम भैरहेको छ । नेपालमा जस्तो धार्मिक सहिष्णुता कतै छैन भन्ने उदाहरण हजारौं छन् । यहाँका मूल धर्मावलम्बी हिन्दु, बौद्ध र किराँतहरु एउटै थलोमा आआफ्नै किसिमले आस्था प्रकट गर्दछन् । यस्तै एउटा त्रिधार्मिक थलो हो हलेसीधाम । हुन त नेपालका प्रायजसोः धार्मिक क्षेत्र चाहे मन्दिर होस् वा गुम्बा त्यहाँ हिन्दु र बौद्ध दुबै धर्मका देवी देवताका मूर्ति राखिएका हुन्छन् । यो नेपालको मौलिक विशेषता र धार्मिक सहिष्णुताको उच्च रुप हो । हलेसीधाम धार्मिक हिसाबले मात्र हैन प्राकृतिक रुपबाट पनि निकै मनमोहक छ । 
खोटाङ जिल्लामा अवस्थित हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । धार्मिक स्थलका रुपमा मात्र हैन हलेसी गुफाको प्राकृतिक भूबनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले झकिझकाउ हलेसी धाममा विशेषत महादेव, बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् ।
हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल हलेसीधामका विषयमा तीनै धार्मिक सम्प्रदायको आआफ्नै कथन छ । हिन्दू धार्मिक किंम्वदन्ती अनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ ।
त्यस्तै, बौद्ध धर्मानुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दछन् । किराँतका अनुसार ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यहाँ बर्सेनी किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । त्यसैले पनि यहाँ बर्सेनी किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् ।
हलेसी धाम गुफैगुफाको संगम हो । बाक्लो जंगलले ढाकिएको थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ ।
त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंम्वदन्ती छ ।
यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् । यहाँ एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा अवस्थित छ । यस थुम्कोलाई कैलाशपर्वत भन्ने गरिन्छ ।
यो थुम्कोको परिधी झन्डै एक किलोमीटर जति छ र उचाई २०० फिट जति छ । यो थुम्कोमा अर्को एउटा ठूलो गुफा छ । यसलाई बसाहाथान भनेर चिनिन्छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा आज पनि एउटा अजङ्गको चट्टान छ र यसैलाई बसाहा भनी पूज्ने गरिन्छ । बसाहाथानको गुफा कैलाशपर्वत भनिने थुम्कोको फेदतिरबाट तेर्सो छेडिएर जाँदै झण्डै १५० फिटमा पुगेपछि अङ्ग्रेजी अक्षरको एल जस्तो ९० डिग्रीको कोणमा ठाडै उठेर छिचोल्दै आकाशमा निस्किएको छ । यसको तेर्सो लम्बाई २२० र ठाडो मुख करिब ९० फिट जति अग्लो छ । यो गुफाको मुखबाट एकै चोटी १० जनासम्म सजिलै पस्न सकिन्छ । यसको गर्भ झण्डै ४५ फिट चौडा छ । आकाशतिरको मुख धेरै चौडा छ । यस्को कुना काप्चाबाट पानी रसाएका छन् ।
एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्तै चुनढुङ्गाका पग्लँदै गरेका जस्ता चुच्चा आकृतिहरू देखिन्छन् । त्यसबाट चुनमिश्रित चौलेनी रंगको पानी टप्कने गर्दछ । भक्तजनहरू त्याहाँ दुध देउमाई भन्दै दुध थाप्दछन् ।
भनाइ छ भाग्यमानीको हातमा दूध चुहिन्छ । नभन्दै केहीका हातमा चौलेनी जस्तो चुनपानी हातमा खस्ने पनि गर्दछ । धर्मभीरू भक्तजन यसलाई कामधेनुको दुध भन्छन् भने भौतिकवादीहरू उता महादेवथानमा महादेवलाई चढाएको दुध रसाएर यता चुहिएको हो भनी अड्कल काट्दछन् ।
महादेवथानको गुफा बसाहाथानको गुफाको आकाश पट्टिको मुख नजिकै नै उत्तरपट्टी खाल्डे आकारमा अवस्थित छ । यसको ७०, ८० फीट तल सतहमा मैदान परेको भाग छ । त्यहाँ नै बीचमा प्राकृतिक चोसे आकृतिमा हलेसी महादेवलाई देख्न सकिन्छ । जसलाई युगौंदेखि भगवान महादेव भनी पूज्ने गरिएको छ । यसको ठीक माथि गुफाको सिलिङ्गमा चुनढुंगा पग्लिंदै गरेको जस्तो घोप्टे चुच्चाहरू छन् जसबाट निरन्तर चौलेनी रङ्गको पानी तप्किरहेको हुन्छ । माथिका चुच्चाहरू कामधेनुको थुन र पानीलाई उनैका दुध महादेवलाई स्नान गराउन खसेको हो भन्ने किमवदन्ती र जनविश्वास छ । मूर्ति वरीपरीका भाग मैदान परेको छ । यसलाई पहिले बाहिरबाट माटो ल्याई पुरेर बनाइएको हुनसक्छ । यस मैदानी मागमा एकै चोटी बीसौं रुद्रीहरू गर्न सकिन्छ । गुफाको सतहसम्म ओर्लनको लागि कृतिम १०२ वटा खुड्किलाहरू बनाइएका छन् जो भर्याग जत्तिकै ठाडो कोणमा छ । गुफाका शिलिङ र भित्ताहमा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरू छन् । कहीं मूर्तिहरू जस्ता बनेका छन् । कहीं माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरू बनेका छन् । ती मूर्तिहरू जस्ता आकृतिहरूलाई महादेवका परिवार सप्तर्षी नन्दी भृंगी र तेत्तिसकोटी देउताहरू भनेर पूज्ने गरिन्छ भने दुलाहरूलाई पापद्वार धर्मद्वार जन्मद्वार घोप्टेद्वार आदि भनेर पूज्ने र छिर्ने गरिन्छ ।
धार्मिक सहिष्णुताले भरिएको समाज भाड्नकै लागि धर्मनिरपेक्ष घोषणा गरियो र यसको परिणाम मुलुकमा इसाईकरणको आँधीबेरी नै चलिरहेको छ । नेपाललाई कहिल्यै कुनै शक्तिले उपनिवेशमा राख्न नसकेको इतिहासको गौरबलाई मेटाउँदै अब धार्मिक–सांस्कृतिक उपनिवेश बनाउने खेल चलिरहेको छ र यसमा हामी सबै सचेत हुनुको विकल्प छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)
नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा (08.28.2018)
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा (08.14.2018)
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा (07.25.2018)
सक्रिय मनसुन र विपत्तिको त्रास (07.10.2018)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (06.12.2018)
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा (05.30.2018)
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा (05.08.2018)



 
::| Latest News

 
[Page Top]