युगसम्बाद साप्ताहिक

सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा
Tuesday, 06.18.2019, 02:47pm (GMT5.5)

गुठी विधेयकको बिरोध गर्दै सडकमा दैनिक लाखौं जनता उत्रेका छन् । यसको बचाउ गर्नेहरु “गुठी सामन्ती प्रथा हो र यसको अन्त्यका लागि विधेयक ल्याएको र यसको बिरोध गर्नेहरु सामन्ती हुन्” भन्न थालेका छन् । हिजो जसको भोट क्रान्तिका लागि थियो आज तिनैको आवाज सामन्ती लागेको छ सरकारलाई । जनताको आवाज सम्बोधन गर्ने गरी साम्य पार्नेतिर लाग्नुको साटो सरकारका प्रवक्ता न गुठी विधेयकका बिरोध गर्नेहरु ‘सामन्ती’ हुन भन्दै आगोमा घीउ थप्ने काममा लाग्दा स्थिति अरु उत्तेजक बन्नु स्वाभाविक छ । यद्यपि विधेयकमा पुनरावलोकन हुनुका विकल्प छैन र प्रधानमन्त्री ओलीले नै यो कुरा स्वीकारिसक्नुभएको छ ।
सरकारको नियतमाथि शंका नगरी भन्ने हो भने विधेयकलाई सकारात्मक नै मानौं रे ! तर के कार्यान्वयन कानुनमा लेखेअनुसारको हुन्छ । बालुवाटार नबचेको दृष्टान्त त हामीसंगै ताजै छ । अर्को कुरा गुठीलाई जग्गासंग मात्र जोडेर हेर्नु महामूर्खतापूर्ण सोच हो । गुठी एउटा परम्परा हो र यो परम्परा वैदिककालदेखि जोडिएर आएको छ । यसमा काठमाडौं उपत्यका सबभन्दा महत्वपूर्ण छ । किनभने काठमाडौं उपत्यका मन्दिरै मन्दिरको शहर हो र यही मन्दिर संस्कृति मासिने त्रासमा जनता आन्दोलित छ । यो आन्दोलन कुनै शासन व्यवस्था ढाल्न नभएर धर्म–संस्कृति र परम्परा बचाउनका लागि हो । 
सर्वसाधारण जनता सडकमा उत्रेका छन्, बुद्धिजीवीहरु संचारबाट चिच्याइरहेका छन्, सांसदहरु सदनमा कुर्लिरहेका छन् विधेयकका बिरुद्धमा । यसले धर्म–संस्कृति परम्परा सबै मास्न खोजेको आरोप चौचर्फी छ । कुनै पनि मुलुकको अस्तित्व त्यहाँको धर्म, संस्कृति, सामाजिक रितीरिवाज र परम्परा हो । यसलाई चलाउन खोजियो भने यसले अकल्पनीय विनाश निम्त्याउँछ । धार्मिक र जातीय विषयमा राजनीति गर्नु भनेको देशलाई द्वन्द्वमा धकेल्नु हो । कतै नेपालमा विकासको नाममा त्यस्तै गर्न खोजिएको त हैन ? अहिले यस्तै प्रश्नहरु उठेका छन् । 
अर्को महत्वपूर्ण कुरा के हो भने नेपालमा विदेशी शक्तिको प्रभाव विस्तार भैरहेको र उनीहरुकै योजना अनुसार सबै काम भैरहेको आरोप लाग्ने गरेको छ । हुन पनि कुनै पनि देशलाई तहसनहस पार्नुप¥यो भने त्यहाँ धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाइदिए पुग्छ । गुठी विधेयक कतै त्यसैको उपज त हैन ? गम्भीर प्रश्न खडा छ ।
सरकार भन्छ गुठीलाई आधुनिक बनाउन विधेयक ल्याइयो । गुठीलाई आधुनिक भनेको मन्दिर भत्कार चर्च बनाउने अनि इन्द्रजात्रा, मच्छेन्द्रनाथको जात्रा, बिस्केटको जात्राको ठाउँमा क्रिसमस मनाउने पक्कै हैन होला ? अहिले राजधानीका गल्लीगल्लीमा यस्ता प्रश्न उठेका छन् । सरकारले जे काम गरेको छ यसले देशमा जातीय विद्वेषको भावना विकसित हुन थालेको छ । उपत्यकाका रैथाने नेवारहरु ‘बाहुनले हेप्यो’ भन्न थालेका छन् । यो मुलुकका लागि दर्भाग्यको सूचक हो । के सरकारले यस्तै चाहेको हो ? यदि हो भने यो नेपाल सिध्याउने खेल हो । 
धर्म–संस्कृति नै मानिसको प्राण हो । जब मानिसको धर्म–संस्कृति मासिन्छ तब ऊ जिउँदो लाश समान हुन्छ । नेपाल जस्तो पौराणिक मुलुकको धर्म–संस्कृतिलाई तहसनहस पार्ने गरी सरकार नै कानुन बनाउन थाल्छ भने त्यो सहन सकिने विषय हुनै सक्दैन । यो कुनै जात विशेषको मात्र चासो र सरोकार होइन, सिंगो देशको चासो हो । कुनै पनि जात, धर्म, सम्प्रदाय देशको सम्पत्ति र रक्षक हो । नेपालको मौलिक धर्म–संस्कृतिको इतिहास बुझ्ने प्रयास सबैले गर्दा हुन्छ ।
नेपालको उपस्थिति वैदिककालसम्म पुग्छ । काठमाडौं उपत्यकामा मानव बस्तीका सुरुवात भएकै ३० हजार वर्षभन्दा बढी भएकोा विभिन्न अनुसन्धानले पत्ता लागेको छ । त्यही बेलादेखिको परम्परा हो उपत्यकाको संस्कृति, जात्रा, पर्व, धार्मिक उत्सव र सामाजिक रीतिरिवाज ! यही हो यहाँको मौलिक संस्कृति, जसलाई विश्वले ताफि गर्छन । यहाँको कला, संस्कृति र रीतिरिजावकै कारण काठमाडौं विश्वका घुम्नैपर्ने वा जीवनमा एकपटक पुग्नैपर्ने शहरमा सूचीकृत छ । यसको एउटै कारण यहाँको मौलिक संस्कृति हो र मौलिक संस्कृतिको पछाडि दर्शनका सूत्रहरू गाँसिएका हुन्छन । अर्थात् कुन दर्शनको प्रभाव कुन कुन संस्कृतिमा परेको छ, त्यो स्पष्ट नै देखिन्छ । नेपालको मौलिक संस्कृति, वैदिक दर्शनबाट पृथक हुन सक्दैन । हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म मनाइने हरेक चाड–पर्वमा वैदिक सभ्यता र संस्कृतिको लेपन छ । इन्द्रजात्रा होस् वा कुमारीको पूजा, दशैं–तिहार हुन् वा छठ, साकेला, उद्योली–उभौली, गौरापर्व सबै–सबैमा वैदिक संस्कृतिको प्रभाव छ । प्रकृति र मानवबीचको साइनो प्रगाढ बनाउने सूत्र छ । नेपालको चेतन–अचेतन सबैमा यसको प्रभाव छ । व्यक्तिको नामदेखि डाँडाकाँडाको नाम होस् वा नदीनालाको वैदिक सभ्यताको प्रतीकका रुपमा रहेको छ । पर्यायवाचक परिचय हो ।
तर अहिले यही संस्कृति छिन्नभिन्न पार्ने होडवाजी नै चलेको छ । राजनीतिकरणको मार नेपालको परिचयबोधक चिन्हहरूले खेपिरहेका छन् । राष्ट्रका परम्परागत मूल्य र मान्यतामा झल्याकझुलुक गर्ने मौलिक सांस्कृतिक पक्षमै वादविवाद खडा गरिनु, दवाव दिनु त्यस्तो विवादलाई राजनीति गरेर दलीय स्वार्थ साधनामा रङ्गाउनु वा परचक्रीको सभ्यता र संस्कृतिको गुनगान गाएर आफ्नो सभ्यता र संस्कृतिविरुद्ध हुने गरी गतिविधि गर्नु राष्ट्रघाती काम हो । अहिलेको चिन्ता हाम्रो मौलिक संस्कृतिको कसरी जगेर्ना गर्ने भन्ने हो । त्यसैले उर्लेको हो जनसागर सडकमा । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com