युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
एउटा पत्रकारप्रति यत्रो समर्थन ? - यादब देवकोटा
Tuesday, 08.20.2019, 01:28pm (GMT+5.5)

केही वर्षयता न्यूज २४ टेलिभिजनबाट सिधा कुरा जनतासंग कार्यक्रम मार्फत जनताका समस्या समाधानका लागि अनुसन्धानमा समेत सक्रिय पत्रकार रवी लामिछानेलाई सोही कार्यक्रमका पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा बिहिबार पक्राउ गरी शुक्रबार जिल्ला अदालत चितवनमा पेश गरिएपछि चितवनमा जनसागर उर्लियो । काठमाडौंमा पनि त्यस्तै भयो । त्यस्तै अपराध अनुसन्धानमा प्रभाव पार्न हुँदैन भन्दै अर्को समूह शालिकरामलाई न्याय दिनुपर्छ भन्दै सडकमा उत्रियो । शालिकराम पुडासैनीको मृत्यु आत्महत्याका कारण भएको र त्यसको कारक रवी लामिछाने लगायत अरु दुईजना हो भनिए पनि पछिल्लो समय सामाजिक संजाल र संचार माध्यमहरुमा आएका खबर र भिडियोहरुले यो घटनालाई अन्तै मोडेको छ । त्यसैले रवीलाई फसाउन खोजियो भन्दै जनता सडकमा उत्रे ।
रवीको पक्षमा उत्रेको जनता कसैको उक्साहटमा आएका थिएनन् । रवी लामिछानेको कामका कारण उनीहरु सडकमा उत्रिएका थिए । आजसम्म कुनै नेताको पक्षमा यति मानिस सडकमा उत्रेका थिएनन् । जनताको मन जिते समर्थनका लागि रक्सी र मासु भात खुवाउनु पर्दोरहेनछ भन्ने रवी लामिछाने प्रकरणले देखाइदिएको छ । यो सतहमा देखिएको सन्दर्भ हो । एउटा पत्रकारको पक्षमा यसरी जनता उत्रेको देख्दा आम पत्रकारहरुले कस्तो महसुस गरिरहेका होलान् ? 
सूचना विभागबाट प्रेसपास लिने बीसौं हजार पत्रकार छन् । पत्रकार महासंघका सदस्यहरु पनि त्यत्तिकै छन् । राजनीतिक दलका भातृ संगठनमा आबद्ध भएर आआफ्ना दल अनि नेताको स्वार्थ र पक्षमा मात्र कलम चलाएर पत्रकारिताको धर्म बिर्सिएका पत्रकारहरुको भीडमा रवी लामिछाने जसरी उदाए र जस्तो काम गरे त्यो नै उनको पक्षमा चितवन र काठमाडौंमा जनसागर उत्रिनुको कारण हो । 
रवी मात्र हैनन्, यो देशमा धुर्मुस सुन्तलीले एकीकृत बस्ती निर्माण थाले देश विदेशबाट सहयोग र स्वाबासी पाए । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि विद्युत माफियाको सातो खाए, लोडसेडिङ अन्त्य गराए । ३० अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको प्राधिकरणलाई वार्षिक ७ अर्ब रुपैयाँ नाफा दिलाए । उनका बिरुद्ध सानो आवाज निस्कियो भने सामान्य जनता सडकमा उत्रन्छन् ! किन ? बुझेका छन्  राजनीतिबाजहरुले यो कुरा ?
राजनीति नै सबथोक हो भन्ने भ्रम र उच्च वर्गका हुन् भन्ने दम्भ पालेर राजनीतिको आडमा तस्कर, माफिया र भ्रष्टहरुको संरक्षण गर्दै आफ्नो समृद्धिको सोपान ठड्याउनेका बिरुद्ध जनतालाई संगठित गर्ने कोही नभए पनि असल कर्मद्वारा राष्ट्रलाई जोड्ने काम गर्ने रवी, धुर्मुस–सुन्तली र कुलमान जस्ता सपुतहरुका पक्षमा जनता स्वाभाविक रुपमा सडकमा उत्रँदा रहेछन् । जनता कति सचेत रहेछन् भन्ने पनि देखिएको छ ।
भन्नेले भन्लान् यो सब नियोजित हो, प्रायोजित हो, अदालत र प्रहरीलाई प्रभावित पार्ने कसैको खेल हो ? हो रवीको पक्षमा उत्रिएको जनलहरले अनुसन्धान प्रभावित हुनु हुँदैन । अहिलेको प्रदर्शन निष्पक्ष अनुसन्धानका लागि हो । पत्रकार शालिकरामको मृत्युको वास्तविकता पत्ता लगाउनका लागि हो ।
देश र जनताका पक्षमा काम गर्नेको पक्षमा जनता सधैं सडकमा समर्थन जनाउँदै उठ्ने गरेका छन् । वर्तमान प्रधानमन्त्री केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा जनता उहाँको समर्थनमा सडकमा उत्रिएका थिए भारतीय नाकाबन्दी बिरुद्ध । एक छाक खान तयार छांै भारतसंग नझुक भन्दै हौसला दिने जनता संगठित थिएनन् । ती तत्कालीन एमालेका कार्यकर्ता थिएनन् । यस्तो किन भने अब जनताले दूध र पानी छुट्याउनसक्ने हैसियत बनाइसकेका छन् । सधैं भ्रम छरेर आफ्नो दूनो सोझ्याउने दिन गए ।
पत्रकार हुन् वा प्रशासक, प्रहरी हुन् वा नेता राम्रो काम गर्नेको सबैले समर्थन गर्छन् । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि जनताका हिरोमध्येकै एक हुन् । 
कतै शालिकराम प्रकरणलाई निर्मला पन्त बलात्कार र हत्या जस्तो बनाउने र अपराधी उम्काउने प्रयास त भएको हैन भन्ने आम चिन्ताको विषय छ । निर्मला पन्तको बलात्कार र हत्या एउटा मानसिक सन्तुलन गुमाएको युवाले गरे भनेर प्रहरीले सार्वजनिक गर्दा कञ्चनपुर आन्दोलित भयो । त्यति मात्र हैन उनी हत्यारा नभएको प्रमाणित भयो । अहिले मृत्यु भएका पत्रकारको विवादास्पद भिडियोलाई आधार बनाएर जे गरिंदैछ त्यो भने पटक्कै अनुसन्धानको सिद्धान्तभन्दा बाहिर छ । अझ शंकास्पद भिडियोहरु अरु बाहिरिएका छन् । घटना विवरणहरु सनसनीपूर्ण ढंगले आइरहेका छन् । ती सबै सत्य हुन् भन्ने आधार त छैन तर अनुसन्धानको एउटा पाटो पक्कै हो । एकातिर मात्र मुद्दा सोझ्याएर अनुसन्धान गर्दा गलत नतिजा आउनसक्छ भन्ने सन्देश निर्मला पन्त प्रकरणले दिइसकेको हुँदा प्रहरीले त्यस्तो गल्ती गर्दैन भन्ने आश गरौं ।
चितवनका सडकमा उत्रिएका जनताले भनिरहेको कुरा पनि त्यही हो कि हामी अर्का कञ्चनपुर बन्न दिंदैनौं । त्यसैले जनता सडकमा उत्रिएका हुन् । यहाँ बुझ्नुपर्ने कुरा के हो भने किन लामिछानेको पक्षमा इन्द्रजात्राको रथ तान्न जम्मा भएका जसरी मानिस सडकमा निस्किए । के उनी भगवान हुन् ? हैन उनी मान्छे नै हुन् ! रवी लामिछानेको अनुहारको भक्त कोही पनि बनेका हैनन् । आम मानिसले उनले गरेको कामको प्रशंसा गरेका हुन् । 
यो घटना नेताहरुका लागि ठूलो पाठ हो । राम्रो गरेमा जनताको समर्थन त्यत्तिकै पाइँदो रहेछ भन्ने सन्देश पनि हो । के रवीले गरेका काम एउटा नेताले गर्नु पर्दैन ? नेताले सिक्नु पर्दैन ? आखिर राम्रो काम गर्दा आम मानिसले भगवान् सरह इज्जत गर्दा रहेछन् भनेर जान्नु पर्दैन ? लामिछानेले चक्लेट बाडेर या मासु भात खुवाएर सर्वसाधारणलाई आफ्नो पक्षमा उभाएका होइनन् । जनताले उनले गरेको कामको प्रशंसा गरेका हुन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
हामीलाई इमरान जस्तै प्रधानमन्त्री चाहिएकै हो - यादब देवकोटा (07.30.2019)
कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा (07.22.2019)
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा (06.18.2019)
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा (06.05.2019)
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)
जेनेभामा उठेको ग्रेटर नेपालको आवाज - यादब देवकोटा (03.18.2019)
चाकरी–चाप्लुसी र भजनमण्डली - यादब देवकोटा (01.01.2019)
मानिसलाई पशु बनाउने खेल - यादब देवकोटा (12.11.2018)
नेपाली कांग्रेस अब कुन बाटो हिंड्ने - यादब देवकोटा (11.20.2018)
भत्ता हैन उद्यमशील बनाउने हो कि- यादब देवकोटा (10.10.2018)
रुख काट्नै नहुने हैन तर सफा नियतले- यादब देवकोटा (10.02.2018)
दुई तिहाईको सरकारका यो गति ?- यादब देवकोटा (09.25.2018)
काठमाडौंको कष्ट फोहर (09.11.2018)
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा (09.04.2018)



 
::| Latest News

 
[Page Top]