युगसम्बाद साप्ताहिक

माल भएर चाल नपाएको अवस्था - यादब देवकाटा
Tuesday, 09.10.2019, 08:21am (GMT5.5)

नेपाली समाजमा एउटा उखान छ ‘माल पाएर चाल नपाउने’ हो यस्तै अवस्था सिंगो देशको छ । यहाँ भएका स्रोत–साधनको सदुपयोग गर्नेतिर कसैको ध्यान छैन ध्यान छ त केवल बाहिरी ऋण र अनुदान माग्नमै । देशभित्रै उद्यमशीलताको विकास गर्ने, आयआर्जनका यावत पाटाहरुलाई दुरुस्त राख्ने चाहना नै कसैमा छैन । यसैले त विश्वकै अनुपम नमूनाका रुपमा रहेको नेपाल संसारका १३१ शहरहरुमा बस्न लायकको सूचीमै परेन । यसको एउटै कारण छ– मानव बस्नलायक हुनुपर्ने कुनै पनि पूर्वाधार नेपालका शहरहरुमा छैन । 
हुन पनि प्रकृतिले दिएर मात्र हुँदैन त्यसको संरक्षण र सम्बद्र्धन गर्न जानिएन भने त्यसको कुनै मूल्य हुँदैन । यस्तै दृष्टान्त नेपालका शहरहरुमा लागू भयो । कला, संस्कृति, धर्म, प्राकृतिक विविधताले भरिपूर्ण नेपालका कुनै पनि शहर विश्वव्यापी सर्वेक्षणमा बस्नलायक नपर्नु दुःखको कुरा हो र यो एउटा ठूलो पाठ पनि हो ।
“दी इकोनोमिस्ट इन्टेलिजेन्स युनिट” (ईआईयू)ले सार्वजनिक गरेको विश्वका बस्नलायक सुन्दर शहरहरुमा सम्पदा, संस्कृति र प्राकृतिक विविधताले भरिपूर्ण नेपालको कुनै पनि शहर नपर्नुको कारण यहाँको अव्यवस्था नै हो । अव्यवस्थापन, फोहरमैला, सडकका दूरावस्था अनि खानेपानी, सरसफाई तथा सार्वजनिक यातायातको बेहालकै कारण नेपालका शहरहरु बस्नलायकमा गनिएनन् ।
हुन त सरकारले गाउँबासीलाई नगरबासी बनाउने भनेर भटाभट नगरपालिका घोषणा गरेर संघीयता कार्यान्वयन अन्तर्गत स्थानीय निकाय कार्यसम्पादनमा छ । तर जनताको जीवनस्तर र शहरीशैलीको भने अभाव छ । फरक कर–दस्तुरमा मात्र परेको छ– जीवनशैलीमा छैन । बस्नलायक शहरहरुको सूची तयार गर्दा सर्वेक्षणको आधार स्वच्छ पर्यावरण र अपराधलाई आधार बनाइएको थियो ।
अब कुरा गरौं स्वच्छ पर्यावरणको–
यदि वातावरणा स्वच्छ भएन भने त्यसले नगरको सुन्दरता विगार्ने मात्र हैन मानिसमा असुरक्षा बढाउँछ, रोगव्याबी फैलिन्छ । अहिले राजधानी लगायत देशका ४४ भन्दा बढी जिल्लामा महामारीको रुप लिइरहेको डुंगु यसैको उपज हो । उपत्यका नदीहरु ढलमी बनिरहेका छन् । सरसफाईको नाममा मुख्य सडकहरुमा ब्रुमर चलाउने गरिएको छ । यति कार्यले प्रदूषण कम हुँदैन । चौतर्फी प्रदूषणले अनेकथरि रोगव्याधी देखापरेका छन् । शुद्ध र स्वच्छ हुनुपर्ने हिमाल र सागर समेत प्रदूषित भएर त्यहाँका बहुमूल्य जडिबुटी र जलचरहरू लोप हुन थालेका छन् । प्राकृतिक सन्तुलनका लागि अत्यावश्यक पक्षहरू लोप हुँदैजादा मानव जीवन अत्यन्त कष्टकर बन्नसक्छ । अहिले नेपालको जल, थल र वायुमा फैलिएको प्रदूषणले अनेक समस्याहरू उत्पन्न गरिरहेका छन् । राजधानी काठमाडौंको हालतको के बयान गर्नु ? वातावरण शुद्ध राख्ने परम्परागत पद्धति र पिता पुर्खाले उत्तराधिकारमा छाडेर गएका विधिहरूको हामीले अनुसरण नगर्दा नै हाम्रो वातावरण हाम्रै लागि अनुपयुक्त बन्दैछ । पानीका स्रोत सुक्दैछन्, नदी प्रदूषित बन्दैछ । हिमालमाथि बढी व्यापारीकरण गरिंदा हिमालमै टनका टन फोहरको थुप्रो लागेको छ । हरेक वर्ष सगरमाथाबाट ओसारिने फोहरको राशीले पनि यो कुराको पुष्टि गर्दछ । स्वच्छ हुनुपर्ने हिमाल यसरी प्रदूषित हुनु दुर्भाग्यको सूचक हो । 
नेपालको मौलिक पहिचान भनेको यहाँको शुद्ध वातावरण नै हो । स्वच्छ जल, शुद्ध वायु, लहलह अन्न फल्ने तराईका समथर मैदान, हरियाली डाँडापाखा र सेताम्य मनोरम हिमाल नै नेपालको सम्पत्ति हो । धार्मिक–सांस्कृतिक मान्यताले पनि यी वस्तुहरूको संरक्षण गर्नुपर्ने शिक्षा प्रदान गरेका छन् । वातावरण दूषित पार्नु हुँदैन यसले मानवलाई नै हानी पु¥याउँछ भनेर अनेक वैदिक मन्त्रहरूको रचना गरियो । बम र गोला बारुदको साटो स्वस्ती वाचन र शंख तथा घण्टका मधुर ध्वनीले वातावरणलाई शुद्ध पार्नुपर्छ भन्ने मान्यता अघि सारियो । राँको र टायरको साटो सुगन्धित चरु उत्सर्जन गर्ने विधि बसाइयो । खै यसको पालना । पश्चिमा मुलुकहरु यसैको सिको गर्दैछन् । हामी भने उनीहरुको दास बनिरहेका छौं । आफ्नैं घरमा आफैं पराई हुनुको दृष्टान्त अहिले छ ।
कुनै समय राजधानी काठमाडौंलाई ‘मन्दिरै मन्दिरको शहर’ भनिन्थ्यो । आज मन्दिरका साटो फोहरको थुप्रो देखिन्छ । पुरातात्विक सम्पदाका स्मारकहरु ओझेलमा परेका छन् । अव्यवस्थित बस्तीका कारण राजधानीमा खानेपानीको ठूलो संकट छ । अव्यवस्थित शहरीकरणको मार काठमाडौं उपत्यकामा मात्र होइन देशैभरि छ । हरेक जिल्लाका मुख्य नदीहरू प्रदूषित नै भएका छन् । नदीको वहावमा नै अवरोध ल्याउने गरी अतिक्रमण गरिएका छन् । पैसा कमाउने धुनमा नदीको सतहमा नै गडबडी आउने गरी बालुवा चोरी भैरहेका छन् । जसका कारण सानोतिनो वर्षाले बस्तीका बस्ती डुबाउँछ ।
कलाकौशल र संस्कृतिका हिसावले राजधानी उपत्यका विश्वकै अग्रणी शहर हो तर यही शहर बस्नलायकको सूचीमा किन परेन ? किनभने अव्यवस्थित र देखावटी शहरीकरणको मार खेपेको छ उपत्यकाले । भवन निर्माणदेखि सडकलाई पक्की र कालोपत्रे गर्नेसम्मका कार्यमा वातावरणीय पक्षलाई ध्यान नदिंदा नै यस्तो संकट उत्पन्न भएको हो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com