युगसम्बाद साप्ताहिक

देश उकासिने हैन झन्झन् भास्सिने छ- यादब देवकोटा
Wednesday, 10.02.2019, 05:15pm (GMT5.5)

यदि सहिष्णुुताा कायम गर्न सकिएन भने समाज विभाजित मात्र हैन द्वन्द्वतर्फ उन्मुख हुन्छ । अहिले राजनीति यस्तै दिशातर्फ उन्मुख छ । यस्तै प्रवृत्तिले देश दिन प्रतिदिन कमजोर बन्दैछ, समाज भत्कँदैछ । राम्रो कामको चाहना राख्नेहरुको दोहोलो काढिन्छ अनि जिम्मेवारीमा बसेकाहरु आफ्नो शक्ति आर्जन र आफ्ना पक्षको वकालत गरेरै समय कटाइरहन्छन् भने देशको स्थिति यहाँभन्दा फरक हुने हुने कुरै भएन ।
युवा नजागे देश ढल्छ । यसै गरी पक्ष–विपक्षमा कुर्लेर सत्ता र शक्तिको माद प्रदर्शन गरिरहने हो भने हाम्रो दुर्गति निश्चित छ । देशमा केही भएन भनेर पटकपटक प्रयोग भयो, सक्रिय राजतन्त्रले देश खग्रास पा¥यो भनियो, प्रजातन्त्र आयो, त्यसले पनि सकेन भनियो गणतन्त्र आयो । गणतन्त्रको औपचारिक घोषणा भएको १२ वर्ष नाघेको छ । यसले संस्थागत रुप लिएको पाँच वर्ष लागेको छ असोज ३ गतेदेखि । तर योबीचमा देशको स्थिति कस्तो छ भनेर सूक्ष्म विश्लेषण गर्नेहरुको व्यापक अभाव छ । देशलाई सही मार्गचित्रमा हिंडाउने नेतृत्वको चरम अभाव छ ।
जनताको मतबाट सत्तामा पुगेकाहरु मात्तिने र जनताको कम मतबाट विपक्षीमा रहनेहरु आत्तिने चरित्रले अहिले मुलुकको राजनीति पूर्णतः ध्रुवीकृत भएको छ । दुई तिहाईको सरकार र यसका पक्षधरहरु अरुले गरेको सानोभन्दा सानो बिरोधमा पनि आक्रामक प्रतिकार गर्न अघि बढ्छन् । सरकारलाई मार्गदर्शन गर्न र सत्तालाई सचेत पार्न चाहँदैनन् । जसकाृ परिणाम मुलुक ‘मास फ्रस्टेसन’को शिकार हुँदैछ । तर यो कुरा सत्ता र सत्ताका अनुयायीहरुले बुझ्नै चाहेका छैनन् । 
देशको अवस्थाले कसको कति चित्त बुझ्छ यो आआफ्नै विश्लेषणको विषय हो । सत्तामा रहेका र उसको अनुयायीहरु देश विकासको गतिमा अघि बढेको देख्छन् । विपक्षी देश सखाप पा¥र्यो भन्छन् । यी दुबै चरित्र केवल राजनीतिक लाभका लागि मात्रै हो । तसर्थ नागरिकस्तरबाट देशको स्थितिबाट सन्तुष्टहरुले मुख खोलेर राम्रो भएन भनेर भन्ने गरे व्यवस्था बिरोधी भन्दै सत्तापक्षका कार्यकर्ता उफ्रन्छन् । वास्तवमा त्यसरी उफ्रनुको साटो के सही, के गलत भनेर छुट्याउने प्रयास गरेको भए सत्ता देश र जनताप्रति जिम्मेवार हुन बाध्य हुने थिए । तर विडम्बना के भने यहाँ त आफ्नाा पक्षका नेताले जे भने, जे गरे पनि सही र अरुले जे गरे पनि गलत भन्ने प्रवृत्ति छ । जुन देशको सबभन्दा ठूलो अभिषाप हो ।
सत्तापक्षका हुन् वा विपक्षका अनि सानोभन्दा सानो दलका नेता–कार्यकर्तामा यस्तै रोग छ । यो रोगको संक्रमण निर्मूलन गर्न सकिएन भने देश उँभो लाग्दैन । अनि जबसम्म हामीले नेताको मलद्वारलाई हरिद्वार मानेर बस्ने प्रवृत्ति रहन्छ तबसम्म यहाँभन्दा फरक केही हुँदैन । अहिलेको समस्या के हो भने जबसम्म हामीले नेतासमक्ष समस्याको प्रश्न गर्न सक्दैनौं तबसम्म परिवर्तन वा रुपान्तरणा सम्भव नै छैन । नेताहरुले तयार गरिदिएको बनिबनाउ उत्तरको भारी बोकेर देश कहाँ पुग्ला ? 
यो वास्तविकता हो र यसलाई पार्टीमै लागेर नेताहरुको स्तुति गरेर पेट भर्नेहरुलाई चित्त नबुझ्ला पनि । तर नेताको चित्त बुझाइरहँदा आफ्नो चेतना कति जागृत छ र कति शिथिल छ भन्ने हेक्का पनि राख्नुपर्ला । सबैले भन्छन् देश बनाउन सरकार, देश बनाउन पार्टी र देश बनाउन हाम्रो पार्टीका नेता । तर दशकौंदेखि तिनै पार्टी, तिनै नेता शक्तिमा छन् देश कति बन्यो, कति बिग्रियो ? युवा पुस्ताले हेक्का राख्ने कि नराख्ने ? अब रुपान्तरण हामीले नै गर्ने हो भने राम्रो कामको प्रचार र खराब कामको आलोचना गर्दै जनतालाई सचेत पार्ने अनि नेतालाई खबरदारी गर्ने प्रथाको विकास गरौं । दलहरुमा सक्रिय विभिन्न नामका युवा संगठनका साथीहरुले कम्तिमा अब अति राजनीतिकरण नगरौं भन्ने आवाज आआफ्ना पार्टीमा उठाउनुप¥यो ।
दुई तिहाई बहुमतको सरकारले सोचेजस्तो काम गर्न सकेन । विकास निर्माणको ठेक्का लिनेहरुले समयमै काम नगरेर स्रोतको दोहन मात्र गरिरहेका छन् । प्रधानमन्त्री स्वयं भन्नुहुन्छ कर्मचारीले साथ दिएनन्, काम नगर्ने ठेकेदारलाई राजनीतिक संरक्षण भयो ! के यो लाजमर्दो कुरा हैन । यस्तो समस्या समाधान गर्न नसकिने त हैन नि ? एउटा कार्यालयमा आधादर्जन ट्रेड यूनियनको बोर्ड झुण्डिएको हुन्छ अनि कहाँबाट हुन्छ काम !?
युवापुस्ताले भन्न सक्नुप¥यो अब कर्मचारी, प्राध्यापक, शिक्षक, वकिल, चिकित्सक, लगायत विविध पेशा–व्यवसायीहरुको राजनीतिकरण बन्द गरौं, सबैको पेशागत हकहितका लागि एउटै संगठनमा आबद्ध गरौं, दलपिच्छेका संगठन खोल्न नदिउँ । यति गर्ने हो भने न कर्मचारीले काम गरेनन् भन्नुपर्छ न ठेकेदारलाई राजनीतिक संरक्षण भयो भन्नुपर्छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com