युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 09:51am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
देशले खोजेको छ एक राजनेता - यादब देवकोटा
Tuesday, 12.17.2019, 01:05pm (GMT+5.5)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको एउटा गीत छ– “यो देशमा म एउटा मानिस खोजीरे’छु” । यो गीतको भाव हो देश बनाउने एउटा राजनेता चाहियो । हुन पनि राणाशासन ढलेयताको ७० वर्षमा देशमा प्राकृतिक रुपमा हुने विकास बाहेक योजनाबद्ध र स्पष्ट दष्टिकोणसहित विकासले गति लिनैसकेन । यसको एउटै कारण हो देशमा राजनेताको अभाव । 
यही अभाव पूर्ति गर्ने मेसोले हो वा अरु बढी चर्चामा आउने लोभले हो केही दिनअघि टेलिभिजन प्रस्तोता रवी लामिछानेले एउटा नयाँ ‘रियालिटी सो’ सुरुवातको घोषणा गरे– “राजनेताको खोजी” । यो कार्यक्रमको घोषणापछि राजनीतिक दलमा लागेका, बुद्धिजिवी भनिएकाहरुको पारो चढ्यो र उनीहरु यो कार्यक्रम अनि यसको घोषणामा उपस्थित भएकाहरुप्रति आक्रामक रुपमा प्रस्तुत भए ।
रियालिटी सोमार्फत देशका विभिन्न क्षेत्रबाट युवाहरुको ‘अडिसन’ पश्चात काठमाडौंमा अन्तिम प्रतिस्पर्धा गराइने र विजयीलाई नगद, बंगलासहितको पुरस्कार दिइने बताइएको छ । त्यसरी टेलिभिजन कार्यक्रममार्फत बन्ने राजनेताले कुन पार्टीबाट कस्तो राजनीति गर्ला भन्ने अहिले नै आँकलन गर्नुभन्दा पनि यो कार्यक्रमबाट देशमा राजनीति गरिरहेकाहरुलाई देश बनाउने मार्गनिर्देशन भने पक्कै प्राप्त हुनेछ– यदि उनीहरुमा इमान्दारीता रह्यो भने ।
अहिले देशमा राजनीति गर्नेहरुको खाँचो छैन । १०० भन्दा बढी त राजनीतिक दल नै छन् । संघीय संसद र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुको संख्या पनि उल्लेख्य छ भने ठूला पार्टीमा नेताहरुको कुनै कमी छैन । तर देश किन बनेन भन्ने प्रश्नको उत्तर यो कार्यक्रमले दिनेछ भन्ने आशा गरेर यसको प्रतिक्षा गर्नुको साटो घोषणाबाटै आलोचना गर्नु आहारिस गर्नुबाहेक केही हैन ।
देशमा असल राजनीतिक संस्कारको अभाव छ भन्ने कुरा सबै राजनीतिक दलका नेताले स्वीकारेका छन् । दलभित्र शुद्धिकरण र परिवर्तन आवश्यक छ भन्ने पनि सबैले स्वीकारेका छन् भने अब त्यो शुद्धिकरण र परिवर्तनका लागि ‘रियालिटी सो’ आधार बन्न सक्ला कि नसक्ला ? देशभरका युवाहरुमा रहेको राजनीतिक चेतना, उनीहरुको दृष्टिकोण, देश विकास गर्ने सपना, योजना अनि देशको राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, धार्मिक–सांस्कृतिक सहिष्णुता कायम गर्न उनीहरुसंग कस्तो सुझबुझ छ ? यो उजागर हुनेछ ।
चम्किलो हिरा कालो कोइलाको बीचमा हुन्छ भनेजस्तै प्रतिभा सुविधासम्पन्न विलासीहरुको भीडमा हैन दुर्गम ग्रामीण क्षेत्रमै हुन्छन् । आज देशको शासनमा रहनेहरुमध्ये कति गाउँबाट आएका हुन् र कति शहरी क्षेत्रका भन्ने हिसाब किताब लगायो भने यसको पुष्टि हुन्छ । एउटा गाउँबाट टेलिभिजन कार्यक्रममार्फत एउटा राजनेताको जन्म हुन्छ भने त्यसलाई हामी सबैले किन अस्वीकार गर्ने ? अनि त्यो कार्यक्रममा उपस्थित नेताहरुलाई आलोचना गर्ने र जममानत जफत भएकाहरुले गर्ने जजमेन्टबाट कस्ता नेता जन्मेलान् भनेर खिसी गर्नुको साटो उनीहरुको राजनीतिक सोच र उनीहरुले देखाएको भावी नेपालको चित्रलाई मनन् गरे हुन्थ्यो ।
अब राजनेता खोजी कार्यक्रमको घोषणामा उपस्थित नेताहरुका बारेमा चर्चा गरौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई कार्यक्रमको अतिथि बनाएको थियो र उहाँहरु तीनैजनाको एउटै स्वर के रह्यो भने देशले नेता पायो तर राजनेता पाएन । उहाँहरु कसैले पनि आफूलाई राजनेता भएको दावी गर्नुभएन र राजनेताको खोजीको प्रयास राम्रो भएको बताउनुभयो ।
आजभोलि नेता भोटले र त्यो भोट नोटले पाइने हुँदा जोकोही सजिलै नेता बन्ने भएकाले देशमा राजनेताको अभाव भएको हो । राजनेता हुन्थ्यो भने आज देशको अवस्था यस्तो हुन्थेन । अनि राजनेता बन्ने सम्भावना बोकेका युवा राजनीतिकर्मीहरु पनि तिनै नोटको बलले भोट पाएर नेता बनेकाहरुको दौराको फेर समातेर अवसरको खोजीमा लाग्दा देश हरक्षण उँधोगति लागिरहेको छ । 
हो यस्तै अवसरको खोजीमा रहेकाहरुको भाग खोसिने डरले कार्यक्रमको खिसी गर्न थालेका छन् । आज नेपालले खोजेको नेता कस्तो हो भन्ने सबैलाई थाहा छ । सत्ता चलाउने दलका नेता–कार्यकर्ता हुन् वा विपक्षी दलका सबैलाई थाहा छ देशले सही नेतृत्व पाएन र हाम्रा नेतृत्वमा त्यो क्षमता रहेन भन्ने । तर उनीहरु दलभित्र यस्ता कुरा राख्ने हैसियतमै छैनन् । अनि देशले खोजेको राजनेता दलहरुभित्रैबाट आउन नसकेपछि जनताको माझबाट खोज्नु कुन अपराध भयो र बिरोध गर्ने ?
अहिलेको पुस्ताले देशको राजनीतिक परिवर्तनका लागि जुन संघर्ष, बलिदानी दियो त्यो इतिहासमा स्वर्णिम अक्षरले लेखिइसकेको छ । तर देखिएको स्पष्ट चित्र के हो भने आन्दोलन वा संघर्षमा सफल नेताहरु शासनमा असफल हुँदा रहेछन् । भारतमा महात्मा गान्धीले अंग्रेज धपाएपछि किन शासक बन्नुभएन ? उहाँमा त्यो चेतना थियो म शासक बन्न योग्य छैन भन्ने । तर यहाँ सडकमा प्रहरीको लट्ठी खानु नै पद पाउन योग्य हुने प्रमाणपत्र बन्दछ भने यो देशले कसरी राजनेता पाउँछ ?
समय समयमा कुनै कुनै नेताले आफूलाई राजनेताका रुपमा प्रस्तुत गर्न नखोजेका हैनन् तर समयक्रममा उनीहरु पुरानै ढर्रामा ढल्किए । जनताको साथ–समर्थन हुँदा पनि उनीहरुले अपेक्षा अनुसारको काम गर्न सकेनन् । नेताहरुमा लोभ, मोह, स्वार्थ र इमानदारीताको अभावले गर्दा सबथोक भएर पनि विश्वका सबभन्दा गरीब मुलुकको दर्जामा उभिन बाध्य नेपालले अब टेलिभिजनबाट एउटा नेता पाउँछ भने त्यो किन र कसरी हाँसोमजाकमा उडाउने विषय बन्यो ? उनीहरुको नजरमा नेता जन्माउने दलले, आन्दोलनले र भीडले मात्रै हो अनि कार्यकर्ताको अन्ध समर्थनले मात्रै नेता बन्छ भन्ने मानसिकताकै कारण आज देश यो अवस्थामा पुगेको भन्ने सच्नै नसक्ने र आफू र आफ्ना बाहेक अरु पनि नेता हुन र हुनसक्छन् भन्ने मानसिकता राखेर कार्यक्रममार्फत देशका युवाहरुको दृष्टिकोण र सोच सार्वजनिक पनि हुनेछ यसले राजनीतिक नेतालाई नै फाइदा पुग्नेछ भन्ने किन नसोचेको ?
राजनीति गर्ने र राजनीति बुझ्नेमा धेरै अन्तर हुन्छ । राजनीति गर्नेहरु अरुको निर्देशनमा चल्छन् भने राजनीति बुझेकाहरु आफ्नै सोच, विवेक र दृष्टिकोण सार्वजनिक गर्छन् । अहिले देशले खोजेको त्यस्तै राजनीति बुझेका, लोभ, मोह, स्वार्थ नभएका, इमानदारीता, नैतिकता अनि क्षमता भएका नेता हो, जुन नेता राजनीतिक दलभित्रबाट पनि र बाहिरबाट पनि प्रकट हुनसक्छ । 
देशभरका युवाहरुबाट एउटा कर्मठ राजनेताको जन्म भयो भने र त्यसले साँच्चै देशका लागि केही गर्छु भनेर अड्डी कस्यो भने यो मुलुक रुपानतरण पनि हुनसक्छ । सानासाना काममा अपार साथ र समर्थन दिने सोझा र सहनसील नेपाली जनताले खोजेको नेता आफैंले मतपेटीकामा मत खसारेल हैन टेलिभिजन कार्यक्रममार्फत उनीहरुको प्रतिस्पर्धात्मक धारणा बुझेर भोट दिएर चयन गर्नेछन् । हो यो नै बिरोध गर्नेहरुले सहन नसकेको विषय हो कि ?


Rating (Votes: )   
Share     Print


Other Articles:
अरुको इशारामा त पशुले पनि नृत्य गर्छ - यादब देवकोटा (11.27.2019)
राष्ट्रिय एकता कायम रहोस्- यादब देवकोटा (11.14.2019)
यस्तो अपेक्षा थिएन एनआरएनहरुसंग - यादब देवकोटा (10.22.2019)
‘बसुधैव कुटुम्बकम्’को नारा प्रगति बिरोधी ! - यादब देवकोटा (10.15.2019)
देश उकासिने हैन झन्झन् भास्सिने छ- यादब देवकोटा (10.02.2019)
न वाइडबडी न एनलेस मात्र ज्ञानेन्द्र शाही - यादब देवकोटा (09.25.2019)
सरकारले जिम्मा लिउ बालबालिकाको ! - यादब देवकोटा (09.17.2019)
माल भएर चाल नपाएको अवस्था - यादब देवकाटा (09.10.2019)
एउटा पत्रकारप्रति यत्रो समर्थन ? - यादब देवकोटा (08.20.2019)
हामीलाई इमरान जस्तै प्रधानमन्त्री चाहिएकै हो - यादब देवकोटा (07.30.2019)
कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा (07.22.2019)
सडकमा उत्रेका लाखौंजन ‘सामन्ती’ हुन् ? - यादब देवकोटा (06.18.2019)
राजनीति विकास र समृद्धिका लागि - यादब देवकोटा (06.05.2019)
बुद्धिजीवी र थिङ्क ट्याङकको हैसियत - यादब देवकोटा (05.28.2019)
युक्रेनको चुनावी नतिजा नेपालले के सिक्ने ? - यादब देवकोटा (04.30.2019)
अपूर्व धार्मिक सहिष्णुताको नमूना : यादब देवकोटा (04.25.2019)
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा (04.16.2019)
सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा (04.10.2019)
जोखिममा पर्दैछ इन्टरनेट खेलले युवा पुस्ता - यादब देवकोटा (04.04.2019)
पैसामा रमाउँदा पतन हुँदैछ समाज - यादब देवकोटा (03.28.2019)



 
::| Latest News

 
[Page Top]