| युगसम्बाद साप्ताहिक | ||||
|
चीनको उदारतापछि निर्यातमा उल्लेख्य प्रगति Monday, 01.28.2013, 04:07pm (GMT5.5) नेपालको असल छिमेकी मुलुक चीनसंगको व्यापार घाटा चुलिंदै गएका बखत पछिल्लो पाँच महिनामा नेपालबाट चीनतर्फको निर्यात व्यापार २५४ प्रतिशतले बढेको छ । यसको कारण भनेको चीन निर्यात हुने नेपाली वस्तुमा चीनले भन्साररहित सुविधा दिनु हो । चीनले गत वर्ष नेपालका सात हजार ७ सय ८७ वस्तुमा यो सुविधा दिएको थियो । मुलुकमा औद्योगिकरण नभैसकेको र निर्यातमूलक उद्योगहरू पनि संकटग्रस्त भैरहेका बेला चीनतर्फ निर्यातको यो आँकडाले नेपालको वैदेशिक व्यापारको सम्भावनालाई प्रष्ट इंगित गरेको छ । चीन निर्यात हुने नेपाली वस्तुमा औद्योगिक उत्पादनको तुलनामा कृषि उत्पादन बढी रहेका कारण नेपालले आर्थिक गतिशीलताका लागि प्राथमिकता दिनुपर्ने क्षेत्र पनि प्रष्टिएको छ । सार्वजनिक तथ्यांक अनुसार नेपालबाट गत वर्षको मंसिरसम्म ३४ करोड २४ लाख रुपैयाँ बराबरका सामान चीन निर्यात भएकोमा चालु आवको यही समयमा एक अर्ब २१ करोड रुपैयाँका सामान चीनमा पुगेको छ । निर्यात व्यापारमा भएको यो सुधारले नेपालले सामान निर्यात गर्ने सूचीमा चीन चौथो नम्बरमा उक्लेको छ । यति हुँदाहुँदै पनि व्यापार घाटाको असन्तुलन भने घटेको छैन । नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा ओगट्ने भारतसंगको व्यापार घाटा उच्च छ । नेपाल र भारतबीच व्यापार तथा पारवहन सन्धि भए पनि भारतले नेपाली वस्तु निर्यातमा अनेक बखेडा झिक्ने गरेको छ । भारतले पनि चीनले जस्तै नेपाललाई सहुलियत दिने हो भने नेपालको व्यापार घाटा निकै कम हुने आर्थिक टिप्पणीकारहरू बताउँछन् । नेपालको आयातमा सबैभन्दा ठूलो हिस्सा भारतको छ भने चीनसंग निर्यात बढेसंगै आयात पनि बढेको छ । विश्वका उदाउँदो अर्थतन्त्र भएका दुई मुलुक चीन र भारतको बीचमा रहेको नेपालले यी मुलुकको आर्थिक विकासबाट कुनै लाभ लिन सकेको छैन । दुबै मुलुकसंग छिमेकीका साथै कमजोर अर्थतन्त्र भएको मुलुकको नाताले सुविधा लिन राजनीतिक तथा कूटनीतिक पहल हुन सकेको छैन । चीनले दिएको सुविधा जस्तै भारतसंग पनि सो सुविधा लिन सकिने हो भने नेपालको व्यापार घाटा अवश्य कम हुनेछ । नेपाल भारत र चीनबीचको व्यापारिक सम्बन्धको ‘ट्रान्जिट प्वाइन्ट’ बन्नसक्ने प्रचूर सम्भावना छ । यसलाई नेपालले मात्र होइन चीन तथा भारतले पनि स्वीकार गरिसकेका छन् तर त्यसको कार्यान्वयनका लागि खासै पहल भने हुन सकेको छैन । नेपाल र चीनबीच सडक यातायात जोड्ने एक मात्र कोदारी राजमार्गको स्तरोन्नतिका लागि पनि पहल हुन सकेको छैन । केही समय पहिले मात्र तातोपानीमा चीनले सुख्खा बन्दरगाह निर्माणको सुरुवात गरेपछि चीन र नेपाल तथा दक्षिण एसिया र चीनबीचको व्यापारमा केही टेवा पुग्ने विश्वास लिइएको छ । नेपालले आफ्नो भूमि प्रयोग गर्न दिए वापत मात्र पनि मनग्गे कमाउन सक्छ । नेपाल र चीनबीच द्विपक्षीय व्यापार हुने आधुनिक किसिमको एउटै मात्र नाका रहेको छ । जानकारहरू चीनको व्यापारिक नाकामा पूर्वाधार निर्माण गर्न सके चिनीया सीमा क्षेत्रका बजारमा अझै बढी सामान पठाउन सकिने बताउँछन् । विशेष गरी नेपालसंग जोडिएका चीनका कतिपय शहरमा चीनकै अन्य स्थानहरूबाटभन्दा नेपालबाट सामान लैजान सजिलो हुन्छ । यसअघि चीनमा जाने नेपाली वस्तुमा भन्सार दर उच्च भएपछि निर्यात फस्टाउन नसकेको भन्दै नेपालले द्विपक्षीय सम्बन्धका आधारमा केही वस्तुमा आफूलाई मात्र भन्सार छुट दिन माग गरेको थियो । चीनले दिएको यो सुविधापछि जडिबुटी र काँचो छालाको निर्यातमा सुधार आएको छ । चीनमा जाने नेपाली सामानमध्ये सबैभन्दा बढी (४४ प्रतिशत) हिस्सा जडिबुटीको छ । चालु आवको पहिलो ५ महिनामा यसको निर्यात ४ सय ७८ प्रतिशतले बढेको छ । यो अवधिमा ५३ करोड ७९ लाख रुपैयाँ बराबरका जडिबुटी निर्यात भएको छ । यस्तै अर्काे प्रमुख निर्यातजन्य वस्तु काँचो छालाको निर्यात पनि ३ सय ७६ प्रतिशतले बढेको छ । चालु आवको पहिलो पाँच महिनामा १७ करोड २७ लाख रुपैयाँको काँचो छाला चीन निकासी भएको छ । यसका अतिरिक्त मैदा, चामल, घिउ, फलामका मूर्तिजन्य सामान, कार्पेट तामा, भाँडाकुँडा लगायत वस्तुको निर्यात पनि यो अवधिमा उच्च दरले बढेको छ । नेपालबाट मध्यचीन, हङकङ र तिब्बतमा सामान निर्यात हुने गरेको छ । यसमा प्राथमिक कृषिजन्य वस्तु, पशुजन्य उत्पादन, निर्माण सामग्री, उपभोग्य वस्तुलगायत छन् । हस्तकला सामग्री, कपडा, वनस्पति घिउ, आल्मुनियमका भाँडाकुँडा, बिस्कुट, अगरबत्ती, चाउचाउ, मैदाजस्ता वस्तु पनि परेका छन् । यी वस्तु तिब्बतमा बढी निर्यात हुन्छन् । चीन निर्यात हुने बस्तुमा कृषि र हस्तकलाका साग्रीहरू बढी रहेका कारण निर्वाहमुखी कृषिलाई बजारमुखी बनाउन सके चीनतर्फको निकासीले मात्रै पनि मुलुकको आयात धान्न सहयोग पुग्नेछ । यस्तोमा वैदेशिक रोजगारीबाट भित्रिएको रकमले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । यतिबेला वैदेशिक रोजगारीले नै आयात धानिरहेको छ । भारतसंगको व्यापार घाटाका कारण डलर बेचेर भारु किन्नुपर्ने अवस्था छ । भारत निर्यात वस्तुले त नेपालमा पेट्रोलियम पदार्थ आयात गर्न पनि पुग्दैन । चीन निर्यातमा उल्लेख्य सुधार आए पनि आयातको तुलनामा यो न्यून नै छ । यस अवधिमा चीनबाट ३० अर्बको आयात भएको छ भने निर्यात १ अर्बको छ । यसबाट व्यापार घाटाको कहालिलाग्दो स्थिति स्वतः आँकलन गर्न सकिन्छ तर पनि निर्यातमा भएको सुधारले केही सकारात्मक सन्देश भने दिएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||