| युगसम्बाद साप्ताहिक | ||||
|
अर्थतन्त्रमा राजनीतिक संक्रमणको धमिरा Monday, 03.04.2013, 04:30pm (GMT5.5) देशको अर्थतन्त्र उकालो लाग्नुको सट्टा ओरालो लाग्ने क्रम जारी छ । राष्ट्रिय अर्थतन्त्र उकासिन राष्ट्रिय उत्पादकत्व वृद्धि अनिवार्य छ । राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि राष्ट्रिय पुँजी र जनशक्तिको परिचालन, उपलब्ध वैदेशिक सहयोगको समुचित उपयोग, परम्परागत उत्पादन प्रणालीमा सुधार र उत्पादन वृद्धिका लागि नवीनतम प्रविधिको प्रयोग अनिवार्य छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमुखी उत्पादनले मात्र देशको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन सक्छ । तर दुर्भाग्यको कुरा नेपालको अस्थिर राजनीतिले नेपालको अर्थतन्त्रलाई नितन्तर ओरालोतिर घचेटिरहेको छ । नेपालको समग्र आर्थिक क्षेत्र राजनीतिक संक्रमणकालको ठूलो शिकार बनेको छ । राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि राष्ट्रिय पूँजी परिचालन हुने वाञ्छित वातावरणको अभाव एकातिर छ भने लगानी संरक्षण र प्रवद्र्धनको राष्ट्रिय सोच नै बनेको छैन । वैदेशिक सहयोग र ऋणको रकम पनि सदुपयोग हुन सकेको छैन । राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि उपयोग हुनुपर्ने युवाशक्ति आन्तरिक रोजगारीको अभावमा वैदेशिक रोजगारी तिर आकर्षित हुन बाध्य छ । उच्च प्रशिक्षित र दक्ष जनशक्ति मुलुकबाट बाहिरिने क्रम द्रुततर गतिमा अगाडि बढेको छ । पूँजी पलायनको क्रम पनि बढिरहेको जानकारहरू बताउँछन् । वैदेशिक रोजगारीबाट मुलुकमा वर्षेनी खरबौंको विप्रेषण भित्रिइरहेको र त्यसले देशको अर्थतन्त्रलाई धानिरहेको भनिए पनि राष्ट्रिय उत्पादकत्व वृद्धिमा त्यसको सकारात्मक असर छैन । ग्रामीण क्षेत्रमा युवा जनशक्तिको अभाव बढ्दै गएकाले कृषि उत्पादनमा त्यसको प्रतिकूल प्रभाव विस्तार हुँदैगएको छ । ग्रामीण क्षेत्रका खेत–बारीहहरू बाँझो पल्टिँदै गएका छन् । ग्रामीण क्षेत्रका लागि अत्यावश्यक खाद्यान्न समेत बाहिरबाट निर्यात हुने क्रम सुरु भएको छ । धान र मकै उत्पादनमा यस वर्ष दश प्रतिशतभन्दा पनि बढीको ह्रास आउनुको कारण मौसमी प्रतिकूलता मात्र नभै कृषि उत्पादनका लागि जनशक्तिको अभाव बढ्दैजानु पनि ठूलै कारण हो । स्वतःस्फूर्त रुपमा विविधिकृत कृषि उत्पादनतर्फ आकर्षित युवाहरूले लगानी आकर्षित र प्रवद्र्धित हुनसके नेपालको उत्पादकत्व वृद्धिले आशातीत गति लिनसक्ने सम्भावना देखाउन थालेका भए पनि उत्पादन वृद्धिको राष्ट्रिय नीति बनाएर युवा शक्तिलाई आकर्षित गर्ने कुनै नीति र कार्य योजना अहिलेसम्म बन्न सकेको छैन । वैदेशिक रोजगारीबाट मुलुकमा भित्रिएको ठूलो धनराशी वैदेशिक क्षेत्रबाटै खाद्यान्न, लत्ता कपडा र निर्माण सामग्री लगायत अनेकौं उपभोग्य वस्तुहरूको आयातमा नै खर्च हुनेगरेको छ । नेपाललाई चाहिने दैनिक उपभोग्य वस्तु र सेवाको आयातको ठूलो अंश झण्डै अशी प्रतिशत भारतले ओगटेको छ र त्यो बढ्दो आयात धान्न भारतीय मुद्राको अभाव टड्कारै रुपमा देखापरिरहेको छ । गत वर्षमात्र नेपालले भारतसंगको आयात धान्न दुई अर्ब पैँसठ्ठी करोड अमेरिकी डलर तिरेर भारतको केन्द्रीय बैंकसंग भारू खरीद गर्नु परेको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा एक अर्ब चालीस करोड डलरको भारू किनिसकेको छ । भारतबाट अमेरिकी डलरमा पनि कतिपय सामान खरीद गर्न पाइने भएकाले चालू आवको ६ महिनामा वस्तु आयातमा २० करोड डलरभन्दा बढी भुक्तानी भैसकेको छ । नेपालबाट निर्यात ज्यादै कम हुने र जो हुने गरेको निर्यात पनि बिभिन्न बहानामा निरुत्साहित हुने क्रम चलेकाले भारतबाट हुने आयातका लागि भारूको उपलब्धता सहज छैन भने भारूको कालो बजारीको क्रम पनि बढेको जगजाहेर भैरहेको छ । नेपालको संक्रमणकालीन अनिश्चितताको मार नेपालको अर्थतन्त्रले नराम्रोसंग भोगिरहेको छ भने भारतीय उत्पादनको बजार भने द्रुत गतिमा विस्तार भैरहेको छ । देशको अर्थतन्त्रलाई राजनीतिक संक्रमणको धमिराले खाइरहेको छ । नेपालको अर्थतन्त्र ओरालो लाग्नुका एक होइन अनेक कारण छन् । सत्तामुखी राजनीतिक नेतृत्वको पराश्रयी चरित्रले राष्ट्रिय चरित्रको अर्थव्यवस्था निर्माण गर्न नसक्ने भएकाले त्यसको प्रतिकूल प्रभाव अर्थतन्त्रमा परिरहेको हो । राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि उपलब्ध पूँजी, प्रविधि र जनशक्ति परिचालन गर्ने र लगानी संरक्षित एवं आकर्षित गर्दै सम्भावनाको नयाँ ढोका खोल्दै जाने अपरिहार्य सोचको अभाव निरन्तर खड्कदो छ । राजनीतिक प्रोत्साहनमा हुने मजदुर आन्दोलन, हडताल र चन्दा आतंकदेखि लिएर बिद्युत संकटसम्मका व्यवधानहरूले निरन्तरता पाइरहँदासम्म र देशको राजनीति बाह्य शक्तिको इशाराबाट चल्न छोडेर राष्ट्रिय चिन्तनधारमा प्रवाहित नहुँदासम्म देशको अर्थतन्त्रले सुधारको बाटो समात्नसक्ने कुनै सम्भावना छैन । यो नै अहिलेको निचोड हो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||