| युगसम्बाद साप्ताहिक | ||||
|
व्यापार घाटाको कहालीलाग्दो अवस्था Monday, 03.18.2013, 05:30pm (GMT5.5) आर्थिक क्रान्तिको जतिसुकै गगनभेदी नारा लगाए पनि अहिलेसम्मका कुनै पनि सरकारले समग्रमा मुलुकको आर्थिक विकास गर्ने नीति निर्माण नै गर्न सकेका छैनन् । आर्थिक क्रान्ति केवल भाषण गर्ने मेसो मात्र बनिरहेको छ । मुलुकमा उत्पादनशीलताको प्रचूर अभाव छ । उद्योग धन्दाहरूको अवस्था चौपट छ । भएका लगानीहरू अनुत्पादक क्षेत्रमा बढी हुनाले बैंक तथा वित्तीय क्षेत्रहरू विस्तारै संकटमा पर्न थालेका छन् । यस्तोमा नेपालको अर्थतन्त्रमा एकैपटक दुई फरकखाले सूचना बाहिर आएका छन् । पछिल्लो विवरण अनुसार मुलुकले एक महिनामा ४४ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ भने यसै बीचमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा तथा लगानी ११.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ६.५ प्रतिशत अर्थात् ५५ अर्ब २५ करोड रुपैयाँले बढेको ऋण लगानी यसपालि १०८ अर्ब १७ करोड रुपैयाँले बढेको छ । यति ठूलो परिणाममा बढेको लगानीको प्रतिफल भने व्यापार घाटा नै हो त भन्नुपर्ने स्थिति आएको छ । बैंक तथा वित्तीय संस्थाले त्यत्रो रकम कहाँ लगानी गरे भन्ने प्रश्न पनि उठेको छ । चालु आर्थिक वर्ष पहिलो ६ महिनासम्म २ खर्ब ५१ अर्ब ६६ करोड रुपैयाँ व्यापार घाटा पुगेकोमा माघमा मात्र ४४ अर्ब रुपैयाँ बढेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्ष माघसम्म व्यापार घाटा २ खर्ब ९५ अर्ब ९६ करोड पुगेको छ । यो गत वर्षको सात महिनाको तुलनामा साढे २८ प्रतिशतले बढी हो । उता पुस महिनाभित्र बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा १२.३ प्रतिशत बढीले कर्जा लगानी गरेका छन् । एक वर्षमा यो क्षेत्रमा ९५ अर्ब ७८ करोडले लगानी बढेको छ । अघिल्लो वर्ष जम्मा ३१ अर्ब ९४ करोड रुपैयाँमात्र लगानी वृद्धि भएको थियो । निर्यात व्यापार माघ महिनामा ६ अर्बले मात्र बढेको छ । आयात यसको ठीक विपरीत देखिन्छ । केन्द्रका अनुसार माघमा मात्र आयात ५१ अर्बले बढेको छ । चालु आर्थिक वर्ष माघसम्म मुलुकको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको दाँजोमा २१.८ प्रतिशतले बढेर ३ खर्ब ८४ अर्ब ३६ करोड पुगेको छ । कूल व्यापारमा आयात हिस्सा ८८.५ प्रतिशत पुगेको छ । निकासी हिस्सा क्रमशः घटदै ११.५ प्रतिशतमा आएको छ । यो अवधिमा कूल निकासी ३.७ प्रतिशतले बढेर ४४ अर्ब २० करोड पुगेको छ भने आयात २४.७ प्रतिशतले बढेर २ खर्ब ९५ अर्ब ९६ करोड पुगेको छ । केन्द्रका अनुसार नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोसाक, मुसुरो दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकला सामान, चाँदीका गरगहना, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडिबुटी लगायत प्रमुख छन् । मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन र निकासी प्रबद्र्धन गर्ने भन्दै सरकारले तीन वर्षअघि नेपाल एकीकृत व्यापार रणनीति सार्वजनिक गरी निर्यातको उच्च सम्भावना देखिएका १९ सेवा र वस्तु पहिचान गरिएको थियो तर तीन वर्षदेखि नै मुलुकको व्यापार घाटा अर्थतन्त्रमा मन्द विष हुने गरी खुम्चिरहेको छ । मुलुकबाट आर्थिक वर्ष २०६७।६८ को पहिलो सात महिनामा ३८ अर्ब ८१ करोड रुपैयाँका सामान निर्यात भएका थिए । यो कूल व्यापारमा १५.१ प्रतिशतको अंश हो । तर, २०६८।६९ को सात महिनामा यो अंश १३.५ प्रतिशतमा खुम्चिएको छ । यो अवधिमा निर्यात केही बढे पनि कूल व्यापारमा यसको हिस्सा घटेको हो । यस्तै अवस्था चालु आर्थिक वर्षमा पनि दोहोरिएको छ । चालु वर्ष सात महिनामा ४४ अर्ब २० करोड रुपैयाँका सामान निर्यात भएका छन् । तर, कूल व्यापारमा यसको अंश ११.५ प्रतिशतमात्र छ । प्रत्येक वर्ष निर्यात अंश घट्दै गएकाले अर्थतन्त्रमा नकारात्मक असर पर्दै गएको छ । मुलुकमा लगानीको वातावरण पटक्कै छैन । श्रम गर्नुपर्ने युवा शक्तिको रोजगारी प्राप्तिको आधार वैदेशिक रोजगारी मात्र भएको छ । त्यही वैदेशिक रोजगारीबाट प्राप्त रकमले आयात धानिरहेको छ । राजनीतिक अस्थिरतासंगै ऊर्जा संकटले भएका उद्योग धन्दा पनि पूर्ण रुपमा चल्नसक्ने अवस्थामा छैनन् । कृषिको अवस्था त्यस्तै छ । कृषि उत्पादनको निर्यात उल्लेख्य रुपमा हुने भए पनि कृषिमा सरकारी दृष्टिकोण अस्पष्ट छ । बाली लगाउने बेलामा मल बीउको अभाव, सिंचाईको त के कुरा गर्नु, आकाशे भरमा नेपाली कृषि चलेको छ । देशको ८० प्रतिशतभन्दा बढी जनताको आश्रय बनेको कृषि निर्वाहमुखी पनि हुन सकेको छैन । केही समय अघि मात्र प्रकाशित तथ्यांक अनुसार वितेको ६ महिनामा चार अर्ब रुपैयाँ बराबरको चामल तथा २ अर्ब रुपैयाँ बराबरको तरकारी र फलफूल आयात भएको छ । यस्तो अवस्थामा मुलुकको निर्यात बढ्ने र व्यापार घाटा कम गर्ने उपयुक्त योजना छैन । राजनीतिक वितण्डा मच्चाएर अर्थतन्त्रलाई तहसनहस पार्ने काममा राजनीतिक शक्तिहरू नै लागिपरेको परिणाम अर्थतन्त्रको नाजुक अवस्था हो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||