| युगसम्बाद साप्ताहिक | ||||
|
आर्थिक वृद्धिदरको लाजमर्दो अवस्था Tuesday, 04.09.2013, 07:25am (GMT5.5) मुलुकको राजनीतिक अस्थिरताको चरम नमूना यस वर्ष निर्धारण गरिएको आर्थिक वृद्धिदरको लक्ष्य र यथार्थताबाटै छर्लङ्ग भएको छ । जताततै राजनीतिकरण भएको र आर्थिक उत्पादकत्वतिर कसैको पनि ध्यान नगएका कारण मुलुकको आर्थिक क्षेत्र अस्तव्यस्त हुन पुगेको छ । मुलुकको व्यापार घाटा ५ खर्बको हाराहारीमा पुग्ने अनुमान छ भने चालु आर्थिक वर्ष २०६९।०७० को लक्षित आर्थिक वृद्धिदर ३ दशमलव ५६ प्रतिशतमा खुम्चिने केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो वर्ष आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरेको थियो । आर्थिक विकास, सुशासन, पारदर्शिता, मितव्ययी प्रशासनको नारा घन्काएको डा बाबुराम भट्टराई नेतृत्वको सरकारले मुलुकको अर्थव्यवस्था मजबुत बनाएको र आर्थिक विकासको ढोका खोलेको दावी गरेको भए पनि यस वर्ष अघिल्लो आर्थिक वर्षको हाराहारीमा पनि आर्थिक वृदि नहुने भएको छ । अघिल्लो वर्ष ४ दशमलव ४८ प्रतिशतले आर्थिक वृद्धि भएको थियो । मुलुकको आर्थिक वृद्धिदर एक दशकको अवधिमा २०६४।०६५ मा मात्र ५ दशमलव ८० प्रतिशत पुगेको थियो । मुलुकको बजेटमाथि राजनीति हुँदा पनि आर्थिक वृद्धिदर खुम्चन पुगेको हो । पूर्ण बजेटको अभावमा विकास निर्माणदेखि पूर्वाधार विकासमा समेत बजेटको अभावका साथै अस्थिरताका कारण विनियोजित बजेट संचालनमा आएको समस्याले गर्दा पनि आर्थिक समस्या उत्पन्न भएको विज्ञहरू बताउँछन् । औद्योगिक क्षेत्र मजदूर समस्या र ऊर्जा संकटका कारण धराशायी बन्दै गैरहेको छ । उर्जा, उद्योग, निर्माण क्षेत्र, कृषि लगायतका क्षेत्रमा उत्साहजनक वृद्धि हुन नसक्दा कूल गार्हस्थ उत्पादन खुम्चिएको छ । आशा गर्ने कुनै पक्ष नहुँदा वैदेशिक रोजगारीले मुलुकको आयात धानिरहेको छ । वार्षिक खर्बौं रुपैयाँ भित्रिए पनि त्यसको उत्पादनमूलक कार्यमा लगानी गर्ने नीति बन्न सकेको छैन । मुलुकभित्रै रोजगारी सिर्जना गर्ने गरी कुनै कदम चालिएको छैन । दुई तिहाईभन्दा बढी जनता कृषि पेशामा लागेका भए पनि कृषिको अवस्था नाजुक नै छ । कृषिप्रधान मुलुकले आधा वर्षमा ५ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ भने फलफूल तथा तरकारी पनि सोही अनुपातमा आयात भएको छ । मौसममा भरपर्नेकृषिको अवस्था नाजुक छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य)को कुल गार्हस्थ उत्पादन १ दशमलव २६ प्रतिशतले मात्र बृद्धि हुने देखिएको छ । गत आवमा कृषि क्षेत्रको दशमलव ९८ प्रतिशत वृद्धि भएको थियो । यो वर्ष गैरकृषि क्षेत्रको कुल गार्हस्थ उत्पादन ४ दशमलव ९८ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । केही वस्तुको उत्पादन बढ्ने संकेत गरिए पनि समग्र कृषि क्षेत्र खुम्चिदै गएको छ । गत आवको तुलनामा चालु आवमा खाद्यान्न बालीको उत्पादनमा ४ दशमलव २९ प्रतिशतले ह्रास आउने विभागको तथ्यांकमा उल्लेख छ । यसमा पनि धानको उत्पादनमा ११ दशमलव १९ प्रतिशत तथा मकैमा ८ दशमलव २७ प्रतिशतले ह्रास आउने अनुमान गरिएको छ । फलफुल, मासु तथा दुधजन्य उत्पादनहरूमा भने यस वर्ष बृद्धि हुने भएको छ । मत्स्य पालन क्षेत्रमा गत आवको तुलनामा यस वर्ष ४ दशमलव ४ प्रतिशतले बृद्धि हुने देखिएको छ भने खानी तथा उत्खनन क्षेत्रमा गत आवको तुलनामा यस वर्ष ५ दशमलव ४५ प्रतिशतले वृद्धि हुने भएको छ । त्यसै गरी उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १ दशमलव ८५ प्रतिशत र विद्युत, ग्यास तथामा शून्य दशमलव २० प्रतिशतले वृद्धि हुने अनुमान छ । यो वर्ष खुद व्यापार घाटा ४ खर्ब ८४ अर्ब ५ करोड रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । नेपालको व्यापार घाटाको स्थिति दिन प्रतिदिन बढ्दै गएको छ । निर्यात व्यापार चौपट छ । भारत र चीनसंगको व्यापार घाटा अतुलनीय रुपमा बढिरहेको छ । केही समय यता चीन निर्यात हुने वस्तुको परिणाम बढेको भए पनि संगसंगै आयात पनि उत्तिकै बढिरहेको छ । भारतसंगको आयात–निर्यात तुलनै गर्न नसकिने गरी बढिरहेको छ । नेपालले गर्ने कूल निर्यातले पेट्रोलियम पदार्थ पनि किन्न नपुग्ने अवस्था छ । यस्तोमा वैदेशिक रोजगारीले मुलुकको आयात धानिरहेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रकम उत्पादनमूलक क्षेत्रमा लगाउने योजना नै बन्न सकेको छैन । राष्ट्रिय पूँजी पनि उपभोग्य सामग्रीमै खर्च हुने गरेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको ९० दशमलव ६६ प्रतिशत रकम उपभोगमा खर्च हुने अनुमान छ । विभागको तथ्यांक अनुसार यस वर्ष १५ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ कुल उपभोगमा खर्च हुने भएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||