| युगसम्बाद साप्ताहिक | ||||
|
उच्च मूल्यवृद्धि : गरीबको जीवन कष्टकर Tuesday, 05.21.2013, 07:59am (GMT5.5) मुलुकको कूल जनसंख्याको ८० प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित भए पनि नेपालमा खाद्यान्न संकट चर्को छ । अर्कोतिर मूल्यवृद्धि पनि सर्वसाधारणले धान्नै नसक्ने गरी बढेको छ । जतिसुकै नारा घन्काए पनि दिगो कृषि विकासको रणनीति र योजना नहुँदा कृषि उपज समेत भारतबाट आयात गर्नुपर्ने अवस्था छ । कृषि प्रधान मुलुकमा तरकारी तथा फलफूल मात्र १० अर्ब रुपैयाँभन्दा बढीको आयात हुन्छ । यो एउटा समस्या छ भने अर्कोतिर नेपालमै उत्पादित तरकारी, फलफूल तथा खाद्यान्नको वितरण प्रणाली प्रभावकारी नहुँदा कतै अभाव त कतै त्यसै सडेर जाने गरेको छ । मुलुकभित्र आर्थिक उपार्जन गर्ने अवसर छैन । दुर्गम ग्रामीण क्षेत्रका युवाहरू रोजगारीका लागि विदेशिन वाध्य छन् । कृषि उत्पादन उत्साहजनक छैन । यस्तो अवस्था कायम रहँदासम्म गरीब नेपालीले छाक टार्न धौधौ पर्ने दिन कायमै रहन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले पनि यसै भन्छ । यस वर्ष मुलुकभित्र खाद्य वस्तुको मूल्य अत्यधिक बृद्धि भएको छ । न्यूनतम आधारभुत आवश्यकताका बस्तुहरूमा उच्च मूल्य बृद्धि भएपछि सामान्य आय भएका नेपालीहरू नराम्रोसंग प्रभावित भएका छन् । चालु आर्थिक वर्षको चैत महिनामा खाद्य तथा पेय पदार्थको मूल्य बृद्धिदर १० दशमलव ३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको चैत महिनामा यस्तो वृद्धि ४ दशमलव ६ प्रतिशत मात्र रहेको थियो । आम जनताको आधारभूत आवश्यकतामा पर्ने खाद्यान्न र दलहन समूहको मूल्यवृद्धि चैत महिनामा क्रमशः १३ दशमलव ५ प्रतिशत र ११ दशमलव ८ प्रतिशतले बढेको छ । जबकि अघिल्लो चैतमा खाद्यान्न र दलहनको मूल्य बृद्धिदरमा ३ प्रतिशत र १ प्रतिशतले ह्रास आएको थियो । त्यस्तै चैत महिनामा खाद्य तथा पेय पदार्थमा पर्ने वस्तुहरूमध्ये माछा मासुको मूल्यबृद्धि सबैभन्दा बढी रहेको छ । माछा मासुको मूल्य बृद्धिदर १६ दशमलव २ प्रतिशत रहेको छ । अघिल्लो चैतमा माछा मासुको मूल्य बृद्धिदर जम्मा ८ प्रतिशतमात्र थियो । उता सूर्तिजन्य पदार्थको र रेष्टुरेन्ट तथा होटल उपसमूहको मूल्य सूचकांक चैत महिनामा क्रमशः ११ दशमलव ४ प्रतिशत र ११ प्रतिशतले बृद्धि भएको छ । समीक्षा अवधिमा गैर खाद्य तथा सेवा समूहको मूल्य बृद्धि ८ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो चैतमा यस्तो बृद्धि जम्मा १० दशमलव १ प्रतिशतले बृद्धि भएको छ । चैत महिनामा शिक्षा उपसमूहको मूल्य सूचाकांक १२ दशमलव ५ प्रतिशतले बृद्धि भएको छ भने संचार उपसमूहको मूल्य सूचकांकमा शुन्य दशमलव ८ प्रतिशतले ह्रास भएको छ । समीक्षा अवधिमा फर्निसिंग तथा घरायसी उपकरण र लत्ता कपडा तथा जुत्ता चप्पलको मूल्य घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । महंगीले सबैभन्दा बढी राजधानीबासीलाई पिरोलेको छ । यस अवधिमा राजधानीमा १० दशमलव ३ प्रतिशतले मूल्य वृद्धि भएको छ भने तराईमा ९ दशमलव ३ प्रतिशतले र पहाडमा ८ दशमलव ८ प्रतिशतले मूल्यबृद्धि भएको छ । अघिल्लो चैतमा यस्तो बृद्धि क्रमशः ६ दशमलव ४ प्रतिशत, ७ दशमलव ८ प्रतिशत र ८ दशमलव ४ प्रतिशत रहेको थियो । मूल्यवृद्धि मात्र होइन, मुलुकको आर्थिक अवस्थालाई सन्तुलित बनाउनका लागि आवश्यक पर्ने कुनै पनि कार्य हुन सकेको छैन । पूँजीगत खर्च हुन नसकेर बेलाबेलामा बजारमा तरलताको अभाव देखिने गरेको छ । व्यापार घाटाले सीमा नाघेको छ । यसले गर्दा समग्र सोधनान्तर बचत घटेको छ । अघिल्लो वर्षको चैत महिनामा ९२ अर्ब ५५ करोड रुपैयाँ शोधनान्तर बचत रहेकोमा चालू आर्थिक वर्षको ९ महिनामा ३० अर्ब ७७ करोड रुपैयाँमा सीमित हुन पुगेको छ । त्यस्तै समीक्षा अवधिमा चालू खाता २२ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । चैत महिनासम्म अमेरिकी डलरमा चालू खाता बचत २५ करोड ३९ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता ५२ करोड ४३ लाख डलरले वचतमा रहेको थियो । समीक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चिती गत असार मसान्तको ४ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँको तुलनामा ७ दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ७४ अर्ब १६ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०६९ असार मसान्तको ३ खर्ब ७५ अर्ब ५२ करोड रुपैयाँको तुलनामा २०६९ चैत मसान्तमा ३ दशमलव २ प्रतिशतले बृद्धि भई ३ खर्ब ८७ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । अमेरिकी डलरमा भने बैंकिङ क्षेत्रको कुल सञ्चिती २०६९ असारदेखि २०६९ चैत मसान्तसम्ममा १० दशमलव १ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिती २२ दशमलव ८ प्रतिशतले बढेको थियो । यसै गरी समीक्षा अवधिमा अपरिवत्र्य भारतीय मुद्रा सञ्चिती ६ दशमलव ८ प्रतिशतले बृद्धि भई भारु ६४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०६९।७० को ९ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तर १० दशमलव ६ महिनाको वस्तु आयात र ९ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्राको सञ्चिती नेपालको निर्यात व्यापारबाट नभै वैदेशिक रोजगारीबाट प्राप्त रकमबाट भएको हो । नेपालको निर्यात व्यापारले त पेट्रोलियम पदार्थ समेत किन्न पुग्दैन । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||