युगसम्बाद साप्ताहिक

स्वरोजगारका नाममा कार्यकर्ता पोसिएछ
Tuesday, 05.28.2013, 08:13am (GMT5.5)

राम्रो कामको सुरुवात गर्ने भन्दै पार्टीका कार्यकर्ता पोस्ने थलोको रुपमा स्थापित हुन पुगेको युवा स्वरोजगार कोषले वितरण गरेको रकम अपारदर्शी भएको ठहर सहित सरकारले कोषको रकम वितरण स्थगन गरेको छ । कोषबाट एमाओवादी, नेपाली कांग्रेस तथा नेकपा एमाले र मधेशवादी दल निकटलाई रकम वितरण हुँदैआएको आरोपलाई सरकारले नै पुष्टि गरेको छ । 

सरकारले कोषबाट रकम दुरुपयोग भएको ठहर सहित पारदर्शी र व्यवस्थित कार्यविधि तयार नहुन्जेल कोषको ऋण प्रवाह रोक्न अर्थ मन्त्रालयले बिहीबार निर्देशन दिएको हो । कोषले यसै साता दोस्रो किस्ता बापत ६० करोड रुपैयाँ विभिन्न सहकारीलाई दिने अन्तिम तयारी गरेको थियो । त्यस लगत्तै अर्थ मन्त्री शंकर कोइरालाले कोषको रकम व्यवस्थित र पारदर्शी हिसाबले लगानी हुने वातावरण नहुन्जेल कार्यक्रम स्थगन गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रीको निर्देशनपछि कोषले दिन ठिक्क पारेको दोस्रो किस्ताको रकम रोकेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको अध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ ।

सरकारले रकम वितरण स्थगन तत्कालका लागि मात्र गरेको र पारदर्शी रुपमा ऋण लगानी गर्ने कार्यविधि तयार भएपछि पुनः चालु गर्ने बताएको छ । अर्थ स्रोतले राम्रो उद्देश्यले कार्यक्रम आए पनि वास्तविक बेरोजगार लाभान्वित नभएकाले स्थगन गरिएको बताएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्य राखेर कार्यक्रम र बजेट तोकिएको भए पनि कोषबाट प्रवाह भएको रकम सम्बन्धित सहकारीले दुरुपयोग गरेको भेटिएपछि अख्तियारले पनि यस विषयमा चासो दिएको छ । कोषको रकम लिनकै लागि दल निकटका सहकारी संस्था खोल्ने र ती सहकारी संस्थालाई रकम दिएर कर्मचारी पोस्ने काम गरेको पाइएको अर्थका एक अधिकारीले बताएका छन् ।

पाँच वर्षअघि डा बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रमको रकम दुरुपयोग भएको भन्दै व्यापक आलोचना हुँदै आएको थियो । बेरोजगार युवालाई बिनाधितो ऋण दिएर स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम ल्याइए पनि यसबाट सत्ताधारी दलका कार्यकर्ता मात्र पोसिँदै आएका थिए । यसअघि पार्टी नेतृत्वको सरकार हुँदा जुन पार्टीले सरकार बनायो त्यसले आफ्ना निकट व्यक्तिले खोलेको सहकारीलाई प्राथमिकता दिंदैआएको थियो र पार्टीका युवा संगठनहरूको तारो पनि कोष नै बन्ने गरेको थियो । निवर्तमान सरकारका पालामा एमाले निकट युवा संघले कोषको काम कारवाही रोक्न आन्दोलन नै गरेको थियो । अर्थविद्हरूले पनि स्वरोजगार बनाउने रकम कार्यकर्ता पोस्न दिनुहुँदैन भन्दै विरोध गर्दैआएका थिए ।

कार्यक्रममा छनोट भएका स्थानीय सहकारीमार्फत कोषले ऋण लगानी गर्दै आएको छ । यो कार्यक्रमको रकम प्रयोग गर्न खुलाइएका सहकारीले कोषको पैसा चलाउँदै आएका थिए । त्यसो त कतिपय जिल्लामा राम्रा काम पनि भएका छन् । स्वरोजगार कार्यक्रममार्फत सीपमूलक तालिम दिएर ऋण दिने काम भएको र युवाहरू स्वरोजगारमा लागेका पनि छन् । तर अधिकांश रकम भागवण्डामा वितरण हुने गरेको र लक्षित क्षेत्रसम्म त्यो रकम पुग्ने नै गरेको छैन ।

राजनीतिक स्वार्थका लागि राष्ट्रिय ढुकुटीमा लुट मच्चाउने प्रवृत्तिले व्यापकता पाइरहेका बेला राजनीतिक दलहरूप्रति इमान्दार नहुनुपर्ने कर्मचारीतन्त्रको सरकारले यस्ता कार्यक्रमहरूको पुरानो प्रवृत्तिमा अंकुश लगाएर वास्तविक बेरोजगार युवाले ऋण लिएर उद्यम गर्ने वातावरण तयार पार्न सक्यो भने यसले छोटो समयमै सकारात्मक नतिजा दिने र मुलुकको बेरोजगारी समस्या हल गर्न ठूलो सघाय पुग्ने बताइन्छ ।

अबदेखि पहिलाको जस्तो पहुँचका आधारमा रकम पाउने प्रवृत्तिलाई पूरै निरुत्साहित गरिने अर्थ सूत्रले बताए पनि नयाँ अर्थमन्त्री कांग्रेस कोटाबाट उक्त पदमा पुगेकाले आगामी दिनमा कांग्रेस निकट सहकारीकर्मी हावी हुने अवस्था छ । कोषलाई पारदर्शी बनाउँदै वास्तविक बेरोजगारसम्म कार्यक्रम पु¥याउन नयाँ कार्यविधि तुरुन्तै बनाइने र कोषबाट ऋण लैजाने सहकारीका सदस्यहरूका तीनपुस्ते विवरण सार्वजनिक गर्दै रकम दिनुपर्ने, औचित्य खुलाउनुपर्ने व्यवस्था गरिनु जरुरी छ ।

कोषको रकम कति दुरुपयोग भएको छ भन्ने दृष्टान्त खोज्न धेरै घोत्लिनै पर्दैन । एमाओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमकट्टेलको शहीद स्मृति सहकारी तीनकुनले ५ करोड, वाइसिएल पूर्वअध्यक्ष चन्द्रबहादुर थापाको मधुवन सहकारी गुल्मीले ३ करोड र हिमशिखर बचत तथा ऋण सहकारी संस्था, पाटनले ५ करोड रुपैयाँ कोषबाट पाएका थिए । उनीहरूले त्यो रकम अहिलेसम्म पनि तिरेका छैनन् । जमकट्टेल र थापाले चलाएको सहकारीले कोषको रकम भुक्तानी गरेका छैनन् । यी सहकारीले एक वर्षयता ब्याज मात्र भुक्तानी गरेका छन् । जब कि ऋण लगेको ६ महिनापछि ब्याजसहित किस्ता भुक्तानी गर्नुपर्छ । किस्ता तिर्न पटकपटक ताकेता गर्दा पनि उनीहरूले नतिरेको कोष स्रोतले जानकारी दिएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com