| युगसम्बाद साप्ताहिक | ||||
|
नेपालीको आयआर्जनको क्षेत्र विदेश मात्रै Wednesday, 06.05.2013, 02:56pm (GMT5.5) नेपालीहरूको आय आर्जन गर्ने प्रमुख स्रोत विदेश नै हुने गरेको छ । व्यवसायीले विदेशबाटै वस्तु आयात गरेर कमिशनबाट पैसा कमाउँछन् । युवाहरू विदेशमा श्रम बेचेर पैसा कमाउँछन् । मुलुकको अर्थतन्त्रमा विदेशकै हालीमुहाली चलिरहेको छ । विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल जताततै विदेशी नै विदेशी सहयोगको ओइरो छ तर उपलब्धि भने त्यस अनुरुपको छैन । नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीले धानेको छ । मुलुकको आन्तरिक आयभन्दा पनि बढी रकम वैदेशिक रोजगारीबाट भित्रिन्छ । त्यही रकमले वस्तु आयात धानिरहेको छ । नेपालको निर्यातले त पेट्रोलियम पदार्थ किन्न पनि पुग्दैन । नेपालमा रुपैयाँको थुप्रो भित्रिने अर्को एउटा प्रमुख माध्यम शान्ति मिसन पनि हुने गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा योगदान दिने नेपाली सुरक्षा निकाय अग्रणी नै छ । हाल विश्वका विभिन्न मुलुकमा ९ हजारको हाराहारीमा नेपाली सुरक्षाकर्मी शान्ति स्थापनाको कार्यमा संलग्न छन् । ती सुरक्षाकर्मीले वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढी रकम नेपाल ल्याउँछन् । त्यो रकम मात्र जलविद्युतमा लगाउने हो भने केही वर्षभित्रै मुलुकको लोडसेडिङ अन्त्य हुने गरी आयोजनाहरू सम्पन्न हुन्छ । शान्ति स्थापनाको कार्यमा खटिने सेना, प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले जम्मा गरेको कल्याणकारी कोषमा अर्बौं रुपैयाँ छ । त्यो लगानी गर्ने मेसो समेत सरकारले बनाएको छैन । सम्बन्धितहरूले नै मुनाफा खाने गरी आयोजनाहरूमा लगानी गराउने वातावरण पनि छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरू शान्ति स्थापनार्थ विभिन्न देशमा खटिएका हुन् । द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि विश्वका ११ देशमा नेपाली सेनाका तीन हजार ६ सय ३४ जना सैनिक शान्ति स्थापनार्थ खटिएका छन् । एउटा टोली ६ महिनामा फर्कने भएकाले वर्षमा करिब सात हजार दुई सय सैनिक शान्ति मिसनमा विभिन्न देशमा जाने सेनाले जनाएको छ । जसमध्ये सैनिक अधिकारीको संख्या २१४ छ र उनीहरूको तलब मासिक ८ सय १ डलर हुन्छ । जसअनुसार एक वर्षमा सैनिक अधिकारीले मात्र शान्ति मिसनबाट तीन अर्ब तीन करोड रुपैयाँ देशमा भित्रिन्छ । त्यसै गरी चार देशमा सशस्त्र प्रहरी अधिकारीहरू कार्यरत छन् । नेपाल प्रहरीका चार सय ३९ जना पाँचवटा देशमा खटिएका छन् । जसमध्ये दुई सय ७७ जना फम्र्ड पुलिस युनिट (एफपियू)अन्तर्गत र अन्य सल्लाहकारका रूपमा अनपोल शान्ति मिसनमा कार्यरत छन् । एफपियू मिसनमा काम गर्ने प्रहरीले ६ महिनामा करिब पाँच लाख कमाउँछन् भने अनपोलमा काम गर्नेहरूको देश अनुसार तलब फरक हुन्छ । अनपोल मिसनमा खटिने नेपाली प्रहरीले दिनको एक सय ४० देखि एक सय ६० डलरसम्म कमाउँछन । नेपाल प्रहरीको अहिलेको तथ्यांक अनुसार एफपियू मिसनमा वार्षिक सात सय २० जना प्रहरी जान्छन् । ६ महिनाको पाँच लाखका दरले वर्षमा उनीहरूले ३६ करोड रुपैयाँ कमाउँछन् । अनपोल मिसनमा जाने प्रहरीहरूले वर्षमा करिब ५६ करोड रुपैयाँ कमाउने गरेको प्रहरी तथ्यांक छ । सशस्त्र प्रहरी बलबाट पनि शान्ति मिसनमा जानेको संख्या बढ्दै गएको छ । लाइबेरियामा सशस्त्रको तीनवटा एफपियू मिसन रहेको छ । एउटा एक सय ४० जनाको र अन्य दुई १२०।१२० जना गरी तीन सय ८० जना लाइबेरियाका एफपियू मिसनमा कार्यरत छन् । उनीहरूले वर्षमा ४५ करोड ६० लाख रुपैयाँ भित्र्याउँछनु । त्यस्तै अनपोल मिसनमा कार्यरत ७५ जनाले ३३ करोड कमाउने गर्छन् । सुडान, लाइबेरिया अनपोल मिसनमा सशस्त्रका ७५ जना अधिकारी कार्यरत छन् । एफपियू र अनपोल गरेर सशस्त्रका प्रहरी अधिकारीले शान्ति मिसनबाट वर्षमा करिब ८० करोड रुपैयाँ कमाउने गर्दछन् । यो रकम प्रत्येक वर्ष बढ्न पनि सक्छ । विश्वमा शान्ति स्थापनार्थ जाने नेपाली सुरक्षाकर्मीहरूले आफ्नो साथमा लिएर आउने त्यत्रो रकम कहाँ खर्च होला ? अनुमान सहजै लगाउन सकिन्छ– जताबाट आयो उतै जान्छ । शान्ति स्थापनार्थ जाने सुरक्षाकर्मी हुन् वा रोजगारीका लागि जाने श्रमिक उनीहरूले नेपालमा भित्र्याएको रकमबाट उनीहरूकै जहान छोराछोरीको आवश्यकता पूर्तिका लागि विदेशबाट ल्याइएको भोग विलासी बस्तु खरीद गर्दा नै सकिन्छ । वार्षिक ४ खर्बको हाराहारीमा भित्रिने रेमिट्यान्सको ८५ प्रतिशत रकम उपभोग्य वस्तुमा खर्च हुन्छ । त्यही रकमले आयात धानिरहेको छ । यसरी भित्रिएको रकम उत्पादनमूलक कार्यमा लगाउने सरकारी नीति छैन । कुनै पनि राजनीतिक दल आर्थिक विकासको एजेण्डालाई दह्रोसंग पक्डन सकेको छैन । यस्तो अवस्थामा सरकारले पनि वैदेशिक रोजगारीबाट प्राप्त रकमको उपयोग गरी मुलुकभित्र रोजगारी सिर्जना गर्ने नीति बनाउन सकेका छैनन् । वैदेशिक रोजगारीका कारण मुलुकको गरीबी घटेको तथ्यांक गर्वका साथ फलाक्नेहरूले वैदेशिक रोजगारीमा आउने सानो गडबडले कस्तो अवस्था सिर्जना गर्ला भन्ने चाहिं अहिलेसम्म मूल्यांकन नै गरेका छैनन् । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||