| युगसम्बाद साप्ताहिक | ||||
|
औद्योगिक क्षेत्र राजनीतिको शिकार बन्दै Wednesday, 06.12.2013, 12:22pm (GMT5.5) मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसक्दा आर्थिक गतिविविधहरू लगभग ठप्पको अवस्थामा पुगेको भए पनि यसतर्फ कसैको पनि चासो गएको छैन । राजनीतिक दलहरूले चन्दा असुल्ने औद्योगिक–व्यवसायीहरूबाटै र तिनै पार्टीका मजदूर संगठनले अनेक माग राख्दै बन्द हड्ताल गर्ने पनि औद्योगिक क्षेत्र नै भएपछि मुलुकको आर्थिक अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । यतिबेला मुलुकभरका औद्योगिक प्रतिष्ठानहरू बन्द छन् । कुनै न कुनै बहानामा कलकारखाना सञ्चालनमा अवरोध गर्दै आएका मजदुर समूहले बिहीबारदेखि पुनः देशव्यापी उद्योग बन्द आन्दोलन छेडेका हुन् । नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले हालै बढेको न्यूनतम ज्याला कम भएको भन्दै यसको दोब्बर वृद्धिको मागसहित देशव्यापी आन्दोलन गरेको हो । पूर्व समझदारी अनुसार केही दिनअघि मात्र सरकार, उद्योगी र विभिन्न ट्रेड युनियनबीच न्यूनतम ज्याला १ हजार ८ सयले बढाएर ८ हजार पु¥याउने सहमति भएको थियो तर अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले ज्याला वृद्धि कम भएको भन्दै दोब्बर बढाउनुपर्ने भन्दै आन्दोलन गरेको हो । यो मागको औचित्य कति छ र उद्योगीहरूले उनीहरूको माग कति हदसम्म पूरा गर्न सक्छन् भन्ने विश्लेषणको विषय छ । मुलुकमा रोजगारीको सिर्जना छैन । भएका उद्योग–कलकारखानामा पनि यसरी आन्दोलन चल्दा नयाँ लगानीको सम्भावना झन कमजोर बन्दै गएको छ । एक दशक यता नेपालको आर्थिक अवस्था दिन प्रतिदिन खस्कदो छ । मुलुकले तोकिएको रकम समेत खर्च गर्न नसकिरहेको अवस्थामा सीमित रोजगारी दिएको र निर्यातमा केही टेवा पु¥याइरहेका उद्योगहरूमा यसरी बन्दको मार गर्दा मुलुकको अर्थतन्त्र अरु चौपट हुने पक्कै छ । नेपालमा सबैभन्दा बढी बन्द–हड्ताल हुने क्षेत्र भनेको औद्योगिक र शैक्षिक हो । राजनीतिक दलका भातृ संगठनहरूको शक्तिआर्जन गर्ने पहिलो थलो नै यी निकाय बनिरहेका छन् । यस्तोमा अब उद्योग–व्यवसाय चलाउने कि नचलाउने भन्ने बहस समेत नेपाल उद्योग वाणिज्य महासंघले थालिसकेको छ । नेपालका उद्योगी–व्यवसायीहरूको छाता संगठन महासंघले उद्योगहरू बन्द भएपछि यस्तै अवस्था रहने हो भने अब सबै उद्योग बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ । आफू बसेको हाँगो आफैं काट्ने काम मजदुरहरूले गरिरहेको आरोप कतिपय उद्योगीको छ । आन्दोलनरत मजदुर समूहले बन्दका नाममा उद्योगहरूमा तोडफोड समेत गरेका छन् । नेउवा महासंघ उपाध्यक्ष प्रदीपजंग पाण्डेको लगानी रहेको लोमस हर्बल रिसर्च सेन्टरमा सेन्टर र जिल्लाका केही उद्योगमा समेत तोडफोड भएको छ । मजदुरले विराटनगर, वीरगन्ज र हेटौंडा लागायत सम्पूर्ण औद्योगिक क्षेत्रका उद्योग बन्द गराएका थिए । केही दिनअघि मात्र बन्द हडताल मुक्त घोषणा गरिएको वीरगन्ज औद्योगिक कोरिडोरमा मजदुरले जबरजस्ती उद्योग बन्द गराएका थिए । मजदूरहरूले पारिश्रमिक कम भएको बताए पनि नेपालको न्यूनतम पारिश्रमिक दक्षिण एसियाकै सबैभन्दा धेरै हुन पुगेको महासंघको दावी छ । महासंघले हालको परिस्थितिमा उद्योग–व्यवसायले धान्न सक्नेभन्दा बढी न्यूनतम पारिश्रमिक सिफारिस भएको जनाउँदै यस विरुद्ध दोब्बरभन्दा बढी वृद्धि गर्ने भनेर उद्योग–प्रतिष्ठान बन्द गर्दै हिंड्नु असान्दर्भिक मात्र नभई मुलुकको सम्पूर्ण उद्योग–व्यवसायको अवस्था नबुझेको वा उद्योग चल्नै नदिने नियतले गरिएको दावी गरेको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||