युगसम्बाद साप्ताहिक

झोलामा खोला हाल्नेलाई तनाव
Wednesday, 07.24.2013, 12:45pm (GMT5.5)

काठमाडौं । नेपालको जलस्रोतमा आँखा गाड्नेहरूको कमी छैन तर जलविद्युत उत्पादनको अवस्था भने नाजुक छ । सयौं आयोजना निर्माणको अनुमति लिएर पनि काम सुरु गर्नु त कता कता अनुमतिपत्र समेत नवीकरण नगर्ने र आवश्यक दस्तुर नतिर्ने प्रवृत्तिकै बढोत्तरी भैरहेको छ । यस्तोमा सरकारले अनुमति नवीकरण समेत नगरी आयोजना मात्र ओगटेर बस्ने विभिन्न आयोजनाहरूको अनुमतिपत्र खारेज गरेको छ । 

प्राप्त समाचार अनुसार सर्भे लाइसेन्स लिएका तर कुनै पनि आयोजनामा सर्भेको प्रक्रिया समेत अगाडि नबढाएका आयोजनालाई क्रमशः खारेज गर्दै जाने नीतिअनुरूप त्यस्ता आयोजनाहरू खारेज गरिएको हो । पछिल्लो समय विद्युत विकास विभागले फूलकोट कर्णाली, हुम्ला कर्णाली र मुगु कर्णाली लगायतका केही ठूला आयोजनाको अनुमतिपत्र समेत खारेज गरिदिएको छ । खारेजीमा परेका फूलकोट कर्णाली, हुम्ला कर्णाली र मुगु कर्णालीको क्षमता क्रमशः २१० मेगावाट, २७४ मेगावाट र १९४ मेगावाट रहेका छन् । 

विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार गत आर्थिक वर्षको अन्तसम्म साना तथा ठूला गरी करिब ६०० वटा आयोजनाको विभिन्न शीर्षकमा दिइएको अनुमतिपत्र खोरज गरिएको छ । ती आयोजनाका प्रर्वद्धकमा भारतीय कम्पनीहरू रहेका छन् । फूलकोट कर्णाली इपिएस इनजी भारतले २०६६ साल जेठ १३ गते लिएको सर्भे लाइसेन्सको म्याद गत जेठ १२ गते सकिएको थियो । 

पटक पटक नवीकरण गर्न अनुरोध गरिए पनि नवीकरणमा नआएको कारण सो आयोजनाको सर्भे अनुमतिपत्र खारेज भएको हो । यस्तै हुम्ला कर्णाली र मुगु कर्णालीको अनुमतिपत्र भिल्वाडा इनर्र्जीले लिएको थियो । वि.सं. २०६७ जेठ २४ गते सर्भे लाइसेन्स लिएको भिल्वाडाको म्याद गत जेठ २३ गते नै सकिएपनि विभागले नवीकरणका लागि आग्रह गरेको थियो । 

नवीकरण गर्न र प्रगति प्रतिवेदन पेश गर्न पटक पटक सार्वजनिक सूचना निकालिए पनि सम्बन्धित पक्षले कुनै सम्पर्क नगरेपछि विभागले त्यस्ता आयोजनाका प्रर्वद्धकहरूले लिएको अनुमतिपत्र खारेज गरेको बताइएको छ ।

यसबीचमा सर्भे लाइसेन्स लिएका कूल १०१ वटा आयोजनाको सबै लाइसेन्स खारेज गरिएको छ । खारेजीमा परेका ती आयोजनाहरूको कूल क्षमता दुई हजार ३४८ मेगावाट रहेको छ । खारेज भएका आयोजनामध्ये केहीको पुनः अनुमतिपत्रका लागि सार्वजनिक आह्वान गरिने र ठूला आयोजनाको हकमा भने सरकारले नै प्रक्रिया अगाडि बढाउने तयारी गरिएको बुझिएको छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com