युगसम्बाद साप्ताहिक

बैंकभित्र कालो काम
Wednesday, 07.24.2013, 12:51pm (GMT5.5)

काठमाडौं ।  नेपालका वाणिज्य बैंकहरूभित्रका काला कर्तुतहरू एकपछि अर्को गर्दै सार्वजनिक भैरहेका छन् । आर्थिक अपराध गर्नेमा त्यस्ता बैंकका संचालकहरू अब्बद ठहरिन थालेका छन् । पछिल्लो समय राजनीतिक अस्थिरता, जवाफदेहिताविहीन राज्य संचालन, अपराधलाई राजनीतिक संरक्षण लगायतका कमजोरीले गर्दा मुलुकमा आर्थिक अपराध गर्नेहरूको बढ्दो छ । भ्रष्टाचारजन्य क्रियाकलापमा राजनीतिक नेता र निजामती कर्मचारी मात्र पर्छन् भन्ने आम धारणा अब निजी क्षेत्रतिर पनि सरेको छ । सरकारी कर्मचारीले गर्ने लाख–करोडको भ्रष्टाचारको तुलनामा निजी क्षेत्र अर्बौं अर्ब रुपैयाँको अपचलन गर्ने गरेको धेरै पहिलेदेखि नै खुल्दै आएको छ । 

केही वर्ष पहिले मुलुकका प्रतिष्ठित उद्योगी तथा व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बील बनाई कर छली गरेको प्रमाण फेला परेर पनि त्यस्तामाथि अहिलेसम्म कार्वाही हुन सकेको छैन । त्यस्तै निजी क्षेत्रबाट खुलेको दर्जन हाराहारीका बैंक तथा वित्तीय संस्थाले अकल्पनीय रुपमा अपचलन गरेको मुद्दा विचाराधीन अवस्थामै छ ।

समाचार अनुसार पाटन पुनरावेदन अदालतको वाणिज्य इजलासमा कर्जा दुरुपयोग सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ । ११ विभिन्न बैंक तथा वित्तीय संस्थामा १० अर्ब ९१ करोड ६० लाख १२ हजार आठ सय ८५ रुपैयाँ ७६ पैसा कर्जा दुरुपयोग भएको सरकारले दावी गरेको छ । अदालतको अभिलेख अनुसार, ११ वटा बैंकमा भएका १ सय ५४ घोटाला मुद्दामा यो बिगो दावी गरिएको छ । यसमा १ हजार ८ सय ८३ जनाविरुद्ध मुद्दा चलाइएको छ । ५४ कर्जा घोटाला सम्बन्धी मुद्दामा सरकारले त्यस्तो दाबी गरेको हो । मुद्दा चलाइएका तीमध्ये १ सय ५२ जना थुनामा छन् भने सयौँ फरार छन् । केही मात्र अदालतमा हाजिर भई धरौटी वा साधारण तारेखमा छाडिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरी सरकारी वकिलमार्फत् यस्ता मुद्दा वाणिज्य इजलासमा आउने गरेको छ । अहिलेसम्म क्यापिटल मर्चेन्ट बैंकमा सबैभन्दा धेरै घोटाला भएको मुद्दा परेको छ । उक्त बैंकमा तीन अर्बभन्दा बढी घोटाला भएको सिआईबीले जानकारी दिएको छ ।

सीआईबीले किस्ट बैंकमा भएको अर्का त्यस्तै घोटालाको छानबिन गरिरहेको छ । त्यसमा १३ करोड साँवा र ३ करोड ब्याज गरी १६ करोडभन्दा माथिको बिगो कायम हुने प्रारम्भिक अनुसन्धानले देखाएको छ । किस्टको समेत अदालतमा आएपछि बैंकिङ घोटाला सम्बन्धी मुद्दाको बिगो ११ अर्ब नाघ्ने छ । 

केही समय अघिसम्म नेपालमा बैंक खोल्नेहरूको होडवाजी नै चल्ने गरेको थियो । मुलुकमा रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने किसिमका उद्योग–धन्दामा लगानी हुनै नसकिरहेका बेला पनि बैंक खुल्ने र उनीहरूको नाफाको आँकडा चुलिंदै जाने गरेको स्थितिमा एकाएक कर्जा प्रवाहमा भएको घोटालाले निजी क्षेत्रप्रतिको जनविश्वास डगमगाउन पुगेको छ । 

बैंकका लगानीकर्ताहरू जनताको निक्षेपमाथि रजाइँ गर्दै किर्ते गरेर आफ्नै परिवारभित्र कर्जा प्रवाह गर्ने गरेको पनि पाइएको छ । कमसल धितो वा नक्कली धितो खडा गरेर पनि कर्जा निकाल्ने गरिएको कतिपय घटनाहरू यसअघि पनि सार्वजनिक भएका छन् ।

नेपालमा स्थापित भएका दुई दर्जन बढी वाणिज्य बैंकहरुको लगानीको क्षेत्र भनेको घर¬जग्गा, मोटर¬ लगायत उपभोग्य वस्तु रहने गरेको । उत्पादनमूलक क्षेत्रमा उनीहरुको लगानी न्यून छ । हाउर पर्चेजमा बैंकहरुले सरल ढंगले ऋण दिने गरेका छन् भने उत्पादनमूलक कार्य गर्न चाहनेहरुका लागि ऋण लिन सजिलो छैन । त्यस्तै रोजगारी सिर्जना गर्ने र आर्थिक उत्पादकत्व बढाउने कार्यका लागि दिइने ऋणको व्याज हायर पर्चेज, अर्थात् अनुत्पादक क्षेत्रमा दिइने ऋणको व्याजभन्दा बढी छ । 

यस्तो स्थितिमा कतिपय बैंकहरुले घर जग्गामा गरेको लगानीको ठूलो अंश डुबेको छ भने व्यवसायीहरु पनि डुबेको अवस्था छ । अहिले ११ अर्ब रुपैयाँको हाराहारीमा चलिरहेको मुद्दामा घर जग्गाको कारोबारको हिस्सा अत्यधिक रहेको त छँदैछ त्यसमा पनि किर्ते गरेर ऋण लिइएको घटनाले निजी क्षेत्रका बैंकहरुको विश्वसनीयता नै कमजोर हुन पुगेको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com