| युगसम्बाद साप्ताहिक | ||||
|
बजेट ४ खर्ब २४ अर्ब, व्यापार घाटा ५ खर्ब १८ अर्ब Wednesday, 08.21.2013, 01:46pm (GMT5.5) काठमाडौं । मुलुकको कुल बजेट ४ खर्ब १४ अर्बको हुँदा व्यापार घाटा ५ खर्ब १८ अर्ब पुग्यो भने त्यो मुलुकको अर्थतन्त्र कुन दिशातिर गैरहेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । मुलुकभित्र आर्थिक वृद्धिको योजना कहिल्यै पूरा नहुने रोग लागेको छ । वस्तु निर्यात दिन प्रतिदिन घटिरहेको छ भने लगानी मैत्री वातावरण नहुँदा भएका उद्योगधन्दा पनि बन्द हुने अवस्थामा छन् । स्वदेशी पूँजी परिचालनको दीर्घकालीन रणनीति नहुँदा मुलुकमा भित्रिएको स्रोत विलासी वस्तुको खरीदमै सकिने गरेको छ । नेपालमा भित्रिने रेमिट्यान्स विदेशबाट आयातित वस्तु खरीद गरी विदेशमै जाने गरेको छ । मुलुकको आर्थिक–सामाजिक विकासमा दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा लगानी गर्ने नीति–रणनीति नहुँदा व्यापार घाटाको कहालिलाग्दो स्थिति देखिएको हो । आर्थिक वर्ष २०६९।०७० मा व्यापार घाटा ५ खर्ब १८ अर्ब रुपैयाँ भएको छ । यो गत वर्षको चालू बजेटभन्दा १ खर्ब १४ अर्बले बढी हो । गत आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ४ अर्ब बजेट विनियोजन गरेको थियो । व्यापार घाटाको यो चित्रले मुलुक आर्थिक रुपमा ओरालो लाग्दै गरेको स्पष्ट हुन्छ । राजनीतिक स्थायित्व, शान्ति सुरक्षाको अभाव, लगानी मैत्री वातारण नहुँदा मुलुकमा आर्थिक विकासका गतिविधिहरू हुन सकिरहेका छैनन् । यसले मुलुकको उत्पादकत्व बढ्नुको साटो दिन प्रतिदिन घट्दै गएको छ । आयात धान्ने काम केवल वैदेशिक रोजगारीबाट भित्रिएको रकमले मात्र गरिरहेको छ । व्यापार घाटा अन्य मुलुकको वृद्धिसंगै भारतसंगको पनि चुलिंदै गएको छ । त्यसो त नेपालबाट जेजति निर्यात भएको छ त्यसमा भारत निर्यात सबभन्दा बढी छ भने आयात पनि भारतबाटै सबभन्दा बढी छ । तथ्यांक गत वर्ष भारतमा करिब ५१ अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको छ भने ३ खर्ब ९६ अर्ब २६ करोडका सामान नेपाल आएको छ । यो अघिल्लो वर्षको भन्दा २३.३ प्रतिशतले बढी हो । सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातमा १ खर्ब ९ अर्ब ७९ करोड रुपैयाँ खर्च भएको छ । मुलुकभित्र उत्पादनमूलक क्षेत्रको वृद्धिमा कमी, वस्तुगत आयात वृद्धिका अतिरिक्त धेरै खपत हुने दैनिक उपभोग्य कृषिजन्य वस्तुको उत्पादन कम भएकाले व्यापार घाटा यसरी चुलिएको हो । अर्कोतिर कृषिजन्य उत्पादनमा भैरहेको कमीले गर्दा पनि व्यापार घाटाको मात्रा बढ्दो छ । कृषिलाई आधुनिकीकरण गर्ने, निजी क्षेत्रबाट लगानी प्रोत्साहित गरेर कृषिजन्य उद्योगको स्थापना गर्न सके पनि व्यापार घाटाको मात्रा तत्कालै घटाउन सकिन्छ । आन्तरिक खपतका कतिपय वस्तुहरू उत्पादनमा जोड दिने हो भने भने निर्यात कम हुन्छ । विशेष गरी कृषिमा मात्रै आत्मनिर्भर हुने हो भने तत्काल व्यापार घाटा कम गर्न सकिन्छ । गत आर्थिक वर्षमा पौने खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएबाटै पनि स्पष्ट हुन्छ कि नेपालको आर्थिक अवस्था कस्तो छ भनेर । वैदेशिक रोजगारीले धानिरहेको अर्थतन्त्रलाई बेलैमा सुधार्दै नजाने हो भने मुलुक टाट पल्टिने अवस्था आउने निश्चित जस्तै छ । हरेक वर्ष व्यापार घाटाको आँकडा बढ्दै गए पनि यसलाई आयात प्रतिस्थापन गर्ने रणनीति नै बन्न सकेको छैन । निर्यातको प्रवल सम्भावना भएका वस्तुहरूको पनि वेवास्ता भैरहेको छ । कृषि उत्पादनको वृद्धिसंगै फलफूल तथा जडिबुटी प्रशोधनले तत्काल व्यापार घाटा कम गराउन भूमिका निर्वाह गर्छ । तर निकासी बढाउने र आयात प्रतिस्थापन गर्ने सरकारी नीति र लक्ष्य पूरा हुन सकेको छैन । माछामासुको आयात पनि उत्तिकै छ । मुलुक अण्डा र कुखुराको मासुमा भने आत्मनिर्भरको बाटोतिर उन्मुख छ तर खसी र माछामा भने भारतकै भर पर्नुपर्छ । त्यसो त व्यापार घाटा बजेटभन्दा बढी भए पनि निर्यातमा झिनो सुधार भने भएको छ । व्यापार प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारत र तेस्रो मुलुक गरी समग्र निर्यात ४.१ प्रतिशतले बढेको छ तर यही अवधिमा आयात भने १९.६ प्रतिशतले बढेको छ । निर्यातको तुलनामा आयात जसरी बढेको छ त्यसले निर्यातको आँकडामा सुधार देखिए पनि सन्तोष गर्ने अवस्था छैन । अर्थविद्हरू कूल व्यापार १९.६ प्रतिशतले बढ्दा मुलुकको निर्यात ४ प्रतिशतले मात्र बढनु राम्रो संकेत नभएको बताउँछन् । धान्नै नसक्ने गरी व्यापार घाटा बढेपछि निर्यात बढाउने उद्देश्यले तीन वर्षअघि नेपाल एकीकृत व्यापार रणनीति सार्वजनिक गरेको थियो । यसअनुसार निर्यात बढाउन सरकारले केही पहल गरे पनि प्रभाव देखिएको छैन । सरकारले १९ वस्तु तथा सेवालाई निर्यातको प्रमुख सूचीमा राख्दै प्राथमिकता दिएको थियो तर, यही सूचीमै रहेका कतिपय वस्तुको निर्यात बढनुको साटो घटिरहेको छ । मुलुकका प्रमुख निर्यातजन्य वस्तु ऊनी गलैंचा र तयारी पोशाकको निकासी पनि बढ्न सकेको छैन । यस्तै पोलिस्टर तथा अन्य धागो निर्यातमा पनि कमी आएको छ । सरकारले निर्यात बढाउन सकिने सम्भावना रहेको भनी पहिचान गरेका मह, जडीबुटी लगायतको निकासी पनि बढ्न सकेको छैन । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||