| युगसम्बाद साप्ताहिक | ||||
|
उचित प्रबन्ध नगरिए २५ अर्बको लगानी जोखिममा Wednesday, 08.28.2013, 02:31pm (GMT5.5) काठमाडौं । पछिल्लो समय देशभर फैलिएको बर्डफ्लुका कारण मुलुकको अर्थतन्त्रलाई गम्भीर प्रभाव पार्ने आशंका बढ्न थालेको छ । बर्डफ्लुका कारण बैंक तथा वित्तीय संस्थाहरूको २५ अर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको व्यवसायीहरूले बताउन थालेका छन् । सरकारले बर्डफ्लु प्रभावितहरूको ऋणमा अनुदान दिने तथा व्याजमा सहुलियत दिने काम नगर्ने हो भने बैंकहरू पनि डुब्ने अवस्थाको सिर्जना हुने आँकलन गर्न थालिएको छ । पोल्ट्री व्यवसायमा ५० करोडदेखि २ अर्ब रुपैयाँसम्म लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजधानी लगायत चितवन तथा अन्य ठूला शहरहरूमा पछिल्लो समय कुखुरा पालनको बढ्दो आकर्षणसंगै सो क्षेत्र लगानीको प्रमुख क्षेत्रको रुपमा स्थापित हुँदै गएको छ । सहकारी, वित्तीय संस्थादेखि वाणिज्य बैंकहरूबाट सानोदेखि ठूलो परिणाममा लगनी भएको यो व्यवसाय यतिबेला धराशायीको अवस्थामा छ । कुखुराको मासुमा मुलुक आत्मनिर्भर बन्दै गएको अवस्थामा फैलिएको बर्डफ्लुको कारण पत्ता लगाउनेतिर भने कसैको ध्यान पुगेको छैन । व्यवसायीहरूले भारतबाट भित्रिएको प्रतिबन्धित भ्याक्सिन तथा भिटामिनका कारण संक्रमण फैलिएको प्रमाणसहित सम्बन्धित निकायमा जानकारी गराउँदा पनि स्पष्ट ऐन कानुनको अभावमा कार्वाही गर्न नकिएको उनीहरूको निरीहताले कतै नियोजित रुपमा नेपालको पोल्ट्री व्यवसाय धराशायी बनाउने षड्यन्त्र त चलिरहेको छैन भन्ने आशंका पनि उब्जिएको छ । कतै यो प्रकरण नियोजित रुपमा भैरहेको त छैन भन्ने गम्भीर सवाल पनि खडा भएको छ । अहिले देशभरका १९ जिल्लामा बर्डफ्लु देखिएको छ । २०६५ माघमा पहिलोचोटि देखिएको बर्डफ्लुको प्रकोप यो वर्ष ह्वात्तै बढ्दा कुखुरा व्यवसाय चौपट मात्र होइन सरकारी उदासिनता र उचित राहत तथा क्षतिपूर्तिको बन्दोबस्त नहुँदा कृषिमूलक व्यवसायमा आकर्षण नै घट्दै जाने खतरा पैदा भएको छ भने लगानी पनि जोखिममा पर्ने अवस्था सिर्जित छ । बर्डफ्लुका कारण बैंकहरूसंगै किसान र उपभोक्ता समेत मारमा परेका छन् । एकातिर किसानको धितो लिलामीका कारण उनीहरूको उठिबास हुने खतरा बढेको छ भने ऋण उठ्न नसक्दा बैंकहरू पनि अप्ठेरोमा परेका छन् । अहिलेको अवस्थामा कुखुरा पालकहरूलाई राज्यले राहत दिनेतिर पहल नगर्ने हो भने धेरै किसिमका समस्या उत्पन्न हुने विज्ञहरूले बताएका छन् । केही वर्ष यता मुलुकमा कुखुरा पालन व्यवसाय बढ्न थालेपछि ह्याचरी, दाना उद्योग तथा कोल्ड स्टोरहरूको व्यवसाय ह्वात्तै बढेको छ । यसले हराजौंले रोजगारी पाएका छन् भने कुखुराको मासु आयातमा पनि निकै कमी भएको छ । मासुका लागि विदेशिने अर्बौं रुपैयाँ जोगिएको छ । यस्तो सन्दर्भमा बर्डफ्लुका कारण लगानी जोखिममा पर्नु र व्यवसाय धराशायी हुनु मुलुकको आर्थिक विकासका लागि ठूलो चुनौति मानिएको छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो पाँच वर्षयता कृषि क्षेत्र अन्तर्गत कुखुरापालन र दाना उद्योगमा लगानी बढाएका हुन् । छोटो समयमा ऋण असुली हुने व्यवसाय भएका कारण हायर पर्चेजपछि लगानीको दोस्रो आकर्षणको क्षेत्रमा कुखुरा पालन परेको छ । पछिल्लो समय राजधानी उपत्यका लगायत मकवानपुर र चितवनमा बैंक तथा वित्तीय संस्थाहरूले बढी ऋण लगानी गरेका छन् र यिनै क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएका कारण सरकारले अहिले यिनै क्षेत्रका कुखुरा भटाभट मारिरहेको छ । भक्तपुरबाट सुरु भएको बर्डफ्लु संक्रमणका कारण ठूलो लगानी गरी कुखुरा पालन गर्ने किसानहरू उठ्नै नसक्ने गरी भास्सिएका छन् । सरकारले कुखुरा मारे वापत दिने न्यून क्षतिपूर्तिले उनीहरूलाई राहत दिनसक्ने अवस्था पटक्कै छैन । अहिलेकै अवस्था कायम रहेमा मुलुक आत्मनिर्भर हुँदै गरेको एउटा क्षेत्रबाट पनि विमुख हुनुपर्ने खतरा पैदा भएको छ । कृषिप्रधान मुलुक भए पनि खाद्यान्न आयात गर्नुपर्ने बाध्यताका बीच कुखुराको मासुमा आत्भनिर्भर हुँदै गरेको सन्दर्भमा यसलाई जोगाउन सरकारी तत्काल आवश्यक पहल नगरे कृषकका साथै वाणिज्य बैंकहरू पनि आर्थिक संकटमा पर्ने निश्चित जस्तै छ । कृषि पेशा अन्तर्गत नै पर्ने भए पनि कुखुरा पालनको कर्जा सुरक्षणको व्यवस्था नहुने हुँदा कृषकले विमा वापत क्षतिपूर्ति पाउने सम्भावना छैन । पशुपालन अन्तर्गत नै पर्ने गाई–भैंसी तथा बाख्रा, बंगुरको विमा हुने भए पनि कुखुराको विमा नभएकाले राहतका लागि सरकारले नै पहल लिनु अति आवश्यक छ । यतिबेला एउटै कृषकले १० करोड रुपैयाँसम्म गुमाउनुपरेको छ । दस करोडको कुखुरा नष्ट हुँदा सरकारले राहतस्वरुप साढे दुई करोड रुपैयाँसम्म उपलब्ध गराउँछ । बाँकी रकम कृषककै डुब्छ । बैंकबाट लिएको ऋण डुबेका कारण कृषकले तत्काल किस्ता र ब्याज बुझाउन सक्ने अवस्था छैन । यस्तो स्थितिमा लगानी गर्ने बैंकहरूले पनि किसानलाई सुविधा दिनेतिर कदम चाल्नु आवश्यक छ । पुनःकर्जाको व्यवस्था गरेर, व्याज घटाएर र किस्ता तिर्ने अवधि बढाएर पनि कृषकको उद्धार गर्नु अहिलेको एक मात्र आवश्यकता हो । यसका लागि सरकारी तवरबाटै नीति निर्माण हुनु अति आवश्यक छ । त्यसो त केही बैंक तथा वित्तीय संस्था आफैंले राहत स्वरुप ब्याज घटाउन थालेको समाचार पनि सार्वजनिक भएको छ । सिभिल बैंकले १४ प्रतिशतसम्म उठाउँदै आएको ब्याज आगामी ६ महिनाका लागि १०.७५ प्रतिशतमा झारेको छ । कृषि विकास बैंकले पनि ब्याज दरमा सहयोग गर्ने नीति लिएको छ । क्षमताले भ्याएसम्म कुखुरा पालनमा दिएको ऋणको ब्याज अझ घटाउने बैंकहरूले जनाएका छन् । नेपालमा मासुको खपत र उत्पादन एकदम निकट छ । अर्थात् खपत कूल मासुमध्ये १४ हजार टन मात्र बाहिरबाट ल्याउनुपर्छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित तेस्रो पशु विकास आयोजना अन्तर्गत राष्ट्रिय रूपमा गरिएको मासु सम्बन्धी एक अध्ययन अनुसार, वार्षिक खपत हुने १ लाख ८९ हजार ७ सय टन मासुमध्ये आन्तरिक रूपमा १ लाख ७४ हजार ४ सय टन आपूर्ति हुन्छ । आन्तरिक रूपमा आपूर्ति हुने मासुको ठूलो हिस्सा कुखुराले ओगटेको छ । माग र आपूर्तिको सन्तुलन कायम हुने बेलामा बर्डफ्लुको महामारीले समग्र कुखुरा व्यवसाय धराशायीको अवस्थामा पुग्दा मुलुक आर्थिक रुपमा अरु कमजोर हुने देखिएको छ । यसतर्फ समयमै एचित कदम चाल्नु अहिलेको अनिवार्य शर्त हो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||