| युगसम्बाद साप्ताहिक | ||||
|
आयआर्जनको भरपर्दो स्रोत बन्दै ट्राउट माछा - श्याम शुन्दर पुडासैनी Wednesday, 10.02.2013, 01:20pm (GMT5.5) नुवाकोट । नुवाकोटको ककनीस्थित खेरगइरहेको भिरालो, सेपिला पाखाहरू यतिबेला त्यहाँका जनतालाई स्वारोजगारको गतिलो स्रोत बनेका छन्– ट्राउट माछा पालनबाट । हाल आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने स्थानमा ट्राउट माछा पालनको क्रम बढेपछि यसले सो क्षेत्रका बासिन्दाको आर्थिक स्थिति मजबुत बन्दै गएको छ । नुवाकोट र राजधानी कठमाडौं जोड्ने पासाड ल्हामु राजमार्गमा पर्ने भिरालो पाखामा ट्राउट माछाका पारखीहरूको सधै देखिने गरेको छ । निरन्तर बगिरहने चिसो पानीमा पालिएका ताजा माछाको स्वाद चाख्न देशैभरिबाट बाहै्र महिना आन्तरिक पर्यटकहरू नुवाकोट आइपुग्ने गरेका छन् । नुवाकोट जिल्लाको ओखरपौवा, ककनी, जुरेथुम, मदानपुर लगायतका गाबिसहरूमामा महंगो र अत्यन्तै राम्रो अनुकूल मौसममा उत्पादन हुने भनिएको हिमाली जापानीज रेम्बो ट्राउट माछा पालन गरिएको छ । काठमाण्डौ त्रिशुली सडक खण्डमा पर्ने यस स्थानमा ट्राउट माछा पालन गरिएकोले सोा क्षेत्र ट्राउट हाईवेले परिचित छ । नुवाकोट जिल्लामा ४० जना कृषकहरूले कुल ५ हजार १ सय वर्गमिटर क्षेत्रफलमा ३ सय वटा पोखरी निर्माण गरी वार्षिक ८५ मेकिट्र टन माछा उत्पादन गरिरहेको एक गाउँ एक उत्पादन कार्यक्रमका संयोजक एवं उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । मत्स्य अनुसन्धान केन्द्र नुवाकोटका अनुसार हाल मुलुकभर नुवाकोट सहित अन्य १६ जिल्लामा ट्राउट माछा व्यावसायीक रुपमा पालन गरिए पनि आम्दानीको दृष्टिकोणले नुवाकोट जिल्ला अघिरहेका छ । यहाँका कृषकहरूले व्यक्तिगत वार्षिक ६० लाख रुपैयाँसम्म आम्दानी गरेर जीवनस्तरनै परिवर्तन गरेका उदाहरण छन् । यत्तिका धेरै आम्दानी हुने ट्राउट माछा पालन गर्न शुरुमा ठूलै लगानी गर्नुपर्ला भन्ने धेरैको सोचाई हुनसक्छ तर यस जिल्लाका कृषकहरूले थोरै लगानीबाट धेरै आम्दानी हासिल गरिरहेका छन् । नेपालमै पहिलोपटक नुवाकोटमा पालिएको जापानी हिमालि रेम्वो ट्राउट माछाको स्वाद लिन र मनोरन्जन गर्नको लागि बिदाको दिनमा हजारौको भिड लाग्ने गर्छ । बाह्य पर्यटकका लागि दृश्यावलकेनको एउटा गन्तव्य बनिसकेको ककनी क्षेत्रमा आन्तरिक पर्यटकका लागि ट्राउट माछा आकर्षण बनेको छ । यस क्षेत्रका खुलेका रेष्टुरेन्टहरूमा माछाको परिकारको स्वाद लिन तथा सुन्दर पर्यटकीय क्षेत्रको अबलोकन गर्न अन्य दिनहरूमा पनि साँघुरो बाटोको प्रवाह नगरी जोखिम मोलेरै भए पनि हजारै पर्यटककहरूको आवागमन हुनेगर्छ । राजधानीबाट नजिकै भएकाले पनि ब्यापार ब्याबसाय तथा कामबाट केही घण्टा फुर्सत मिल्नासाथ खाजा खानैको लागि पनि नुवाकोट धाउनेहरूको संख्या पनि धेरै छ । ककनीको माछापालन गरिएको एक रेष्टुरेण्टमा माछाको परिकार खाँदै गरेका काठमाण्डौ जोरपाटीका कुमार लामाले बिदाको समय आउनासाथ साथीहरूसंग यहाँ आउने बताए । ओखरपौवा सिस्नेरीमा रहेको एक रेष्टुरेन्टमा माछाको स्वाद चाख्दै रमाइलो गरिहेका काठमाण्डौ माछापोखरीका युवाहरू सुशील भट्ट, परोपकार अधिकारी, माधव शर्मा, प्रिजरा थापा मगरले पनि आफूहरू कामबाट केही समय फुर्सत मिल्नासाथ माछा खान नुवाकोटतिरै हुइँकिने बताउँछन् । मदानपुरका माछापालक कृषक पदम रुम्वाका अनुसार उनका रेष्टुरेण्टमा उच्च घरानियाकादेखि सामान्य व्यक्तिहरूको समेत भिड लाग्ने गर्दछ । हाल राजमार्गको छेउछाउमा सधैजसो सवारी साधन र मान्छेहरूको झुण्ड देखिने गर्छ । कोही परिवारसंग गएका हुन्छन, कोही साथीभाइसंग गएका हुन्छन त कोही आफ्ना प्रेमी प्रेमिकाको साथमा गएका हुन्छन । बालकदेखि वृद्ध सबै उमरे समूहलाई आकर्षण गर्ने गरेको आउने गरेका सबै ग्राहकलाई सकेसम्मको सेवा दिएर प्रफुल्ल पार्ने गरेको ब्यबसायीहरू बताउँछन् । ककनी पुग्नेहरूलाई दिनभरि मनोरन्जन दिनेदेखि रातमा खान तथा सुरक्षित बस्नको समेत व्यवस्था मिलाइदिने गर्छन् ब्यबसायीहरूले । सो क्षत्रमा आकर्षक तथा स्तरिय पर्यटकीय, होटल एवं रेष्टुरेटहरू संचालनमा छन् । ती होटलहरूमा सरल एवं सुलभ शुल्कमा खान तथा आसासको ब्यबस्था रहेको व्यवसायीहरू बताउँछन् । माछाको मूल्य भने अलिक महंगो छ । व्यवसायीहरूले प्रति किलो एक हजार रुपैयादेखि, एक हजार पाँच सय रुपैयाँमा विक्री गर्ने गरेका छन् । आवासको लागि सात सयदेखि एक हजारसम्मको सुविधा सम्पन्न कोठाहरू रहेका छन् । प्राकृतिक सौन्दर्यको मनमोहक वातावरणमा ट्राउट माछाको परिकारमा रम्नकै लागि राजधानीका बासिन्दा तथा अन्य क्षेत्रका बासिन्दाहरू अहिले नुवाकोटको ओखरपौवा, ककनि तथा जुरेथुम, मदानपुर धाउने गरेका छन् । राजधानीको बालाजुदेखि करिब १५ किमिको यात्रा तय गर्नेबित्तिकै पुगिने नुवाकोटको ट्राउट हाइवे क्षेत्रमा दर्जनौं पर्यटकीय रिर्सोटहरू संचालित छन् । विषेश गरी आन्तरिक पर्यटन प्रबद्र्धनको लागि नुवाकोट उद्योग वाणिज्य संघले यस क्षेत्रलाई ट्राउट हाईवेको रुपमा प्रचार प्रसार गरेकोले हाल यहाँ आन्तरिक पर्यटकको आवागमनमा वृद्धि भएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजनलाल श्रेष्ठ बताउछन् । एक गाउँ एक उत्पादन कार्यक्रमको अवधारणा अनुरुप नुवाकोटमा सुरु गरिएको ट्राउट माछा पालन अहिले फस्टाउँदै व्यावसायीक रुप लिएको र नुवाकोटको समग्र आर्थिक विकास तथा पर्यटन विकासमा समेत टेवा पुगेको नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शरण उत्सुक सापकोटाको भनाई छ । नेपाल सरकारले आर्थिक वर्ष २०६३।०६४ को बजेट मार्फत एक गाउँ एक उत्पादन कार्यक्रम संचालनमा ल्याएपछि यस क्षेत्रमा निजी सार्वजानिक साझेदारीको अवधारणा अनुरुप व्यवसायीहरूले रेम्बो ट्राउट माछा पाल्न शुरु गरेका हुन् । माछापालन व्यावसायबाट अहिले यहाँका माछा उत्पादक कृषकहरूले बार्षिक करिब ७ करोड रुपैयाँ आर्जन गरिरहेका छन् । सो आम्दानीको अनुपात अझै बढ्ने क्रममा रहेको व्यवसायीहरूले बताएका छन् । खेर गइरहेको भिराले पाखो बारिबाट कृषकहरूले सोचेभन्दा बढी लाभ लिन पाउँदा आफूहरू दंग रहेको माछापालक कृषकहरू बताउछन् । आर्थिक वर्ष २०६३÷०६४ देखि सरकारले मुलुकमै पहिलो पटक ल्याएको निजी सार्वजानिक अवधारण अन्तर्गत यहाँका कृषकहरूले १० चैत्र २०६३ सालदेखि ब्यावसायिक रुपमा ट्राउट माछा पालन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालय नुवाकोटको केही प्राविधिक सहयोगमा रु. ३ लाखको लगानीबाट माछापालन व्यावसाय सुरु गरेका ककनी ४ निगालेका कृषक लालबहादुर लामाले हाल बिदाको दिन शनिबार मात्रै माछाको परिकार विक्रीबाट एकै दिन डेढ लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको बताउँछन् । मत्स्य अनुसन्धान केन्द्र त्रिशुली नुवाकोटका अनुसार देशभरका नुवाकोट लगायत १६ जिल्लाहरूमा व्यावसायिक रुपमा माछा पालन गरिए पनि कारोबारको हिसाबले नुवाकोट जिल्ला नै अगाडि रहेको बताइएको छ । माछापालक कृषकहरूले आफूले गरेका आम्दानीबाट प्रप्त रकमबाट गाउँमै खोलिएको दोभान रेम्वो ट्राउट मत्यपालक सहकारीमा वचत गर्ने गरेको व्यवसायीहरू बताउँछन् । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||