| युगसम्बाद साप्ताहिक | ||||
|
दुई महिनामा आधा खर्ब Tuesday, 10.08.2013, 11:16am (GMT5.5) काठमाडौं । मुलुकले निर्यात गर्ने भनेको श्रमिक मात्र रहेको छ । अनेक समस्या र राजनीतिक अस्थिरताका कारण लगानी मैत्री वतावरण बन्न नसकेको र मुलुकले रोजगारी सिर्जना गर्न नसकेको मात्र हैन पूरै आयातमै निर्भर बनिरहेको अवस्थामा आर्थिक वर्ष २०७०।०७१ को पहिलो दुई महिनामा ६३ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको समाचार छ । जलस्रोतमा धनी भए पनि यसमा लगानी शून्य जस्तै देखिएको र आयोजनाको नाममा लाइसेन्स लिएर नदी ओगट्ने प्रवृत्तिको मात्र विकास भैरहेको अवस्थामा पछिल्लोपटक त्यस्तो काम निरुत्साहित गर्न काम नगर्ने आयोजनाको लाइसेन्स खारेज हुन थालेपछि जलस्रोतमा लगानी गर्ने प्रतिबद्धता पनि एकाएक बढेको छ । अहिले दर्ता भएका उद्योगहरूमा ऊर्जामूलक उद्योगको संख्या नै उल्लेख्य छ । त्यसो त अन्य उद्योगको पनि लाइसेन्स लिने तर काम नगर्नेहरू बढ्न थालेपछि त्यस्ताको पनि लाइसेन्स खारेज हुन थालेपछि ती कम्पनी उद्योगमा दर्ता गरी काम गर्ने प्रक्रिया बढ्न थालेको छ । समाचार अनुसार उद्योग विभागमा दर्ता हुने मझौला तथा ठूला उद्योगहरूमा असार र साउन महिनामा मात्रै ६२ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको हो । विभागका अनुसार दुई महिनाको अवधिमा लगानीका लागि आएको उक्त प्रतिबद्धता रकम गत एक आर्थिक वर्षभरको जम्मा लगानीको ५२ प्रतिशत हो । आर्थिक वर्ष २०६९।७० मा १ खर्ब १९ अर्ब ५९ लाख रुपैयाँको लगानीको प्रस्ताव आएको थियो । उक्त वर्ष ४ सय ४५ वटा उद्योग दर्ता भएका थिए । चालू आर्थिक वर्षको दुई महिनामा भने ६३ वटा मात्रै उद्योग दर्ता भएका हुन् । साउनदेखि असोजसम्म जुन अनुपातमा लगानी प्रतिबद्धता आयो यो अहिलेसम्मकै ठूलो रकम भएको विभागको भनाइ छ । दुई महिनामा गत आर्थिक वर्षको ५२ प्रतिशत लगानीको प्रतिबद्धता देखिइसकेकाले चालू आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी लगानी भित्रने अनुमान विभागले गरेको छ । विभागका अनुसार असारमा मात्रै ३८ वटा उद्योग दर्ता भएका थिए । लगानी भने ५२ अर्ब १९ करोड रुपैयाँको प्रतिबद्धता थियो । साउनमा २५ वटा उद्योग थपिए । ती उद्योगमा १० अर्ब ४७ करोड रुपैयाँ लगानीको प्रस्ताव निजी क्षेत्रले गरेको छ । दुई महिनाको अवधिमा सबैभन्दा बढी १८ वटा उद्योग उत्पादनमूलक शीर्षकमा दर्ता भएका छन् । त्यसमा १ अर्ब ९५ करोड रुपैयाँ लगानीको प्रतिबद्धता छ । लगानी रकमको हिसाबले सबैभन्दा बढी प्रतिबद्धता ऊर्जामूलक उद्योगमै देखिएको छ । विभागको तथ्यांकअनुसार दुई महिनामा ७ वटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् । ती उद्योगमा ५९ अर्ब ७६ लाख रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ । दुई महिनामै धेरै लगानीको प्रतिबद्धता आउनु ऊर्जामूलक उद्योगकै योगदान रहेको छ । ऊर्जा मन्त्रालयले अनुमतिपत्र लिएर नदी ओगटेर बस्नेहरूलाई गत वर्षबाट कडाइ गर्न थालेपछि त्यस्ता आयोजनाहरूले अनिवार्य उद्योग दर्ता गर्न थाले । त्यस्तो उद्योगमा लगानी पनि ठूलो गर्नुपर्ने भएकाले सबैभन्दा बढी देखिएको हो । यस अवधिमा १४ कृषि तथा उत्पादनमूलक उद्योग, ११ सेवामूलक र १३ पर्यटन उद्योग दर्ता भएका छन् । उक्त उद्योगमा क्रमशः ३९ करोड ४० लाख, १९ करोड र ३५ करोड ८६ लाख लगानीको प्रतिबद्धता देखिएको छ । ती सबैमा ४ हजार ५ सय ६६ जनालाई रोजगारी दिने प्रतिबद्धतासहित निजी क्षेत्रले विभागमा उद्योग दर्ता गराएका हुन् । विभागका अनुसार गत आर्थिक वर्षमा पनि मझौला तथा ठूला उद्योग दर्तामा ६० प्रतिशतले वृद्धि भएको थियो । ०६९।७० मा ४ सय ४५ वटा उद्योग दर्ता भएका र ती उद्योगमा १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ लगानीको प्रतिबद्धता छ । प्रायः आर्थिक वर्षमा उद्योग दर्ता, लगानीको र रोगारीको प्रतिबद्धता सामान्य रूपमा मात्र तलमाथि हुने गरेकोमा सरकारले लगानीका लागि प्रोत्साहनका अन्य कार्यक्रम समेत सुरु गरेकाले वैदेशिक लगानी पनि बढ्न थालेको बताइन्छ । मुलुकमा आन्तरिक तथा वाह्य लगानीको अपार सम्भावना छ । यहाँ भएका प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने नीति अख्तियार गरी औद्योगिक वातावरण बनाउने हो भने नेपालले थोरै समयमा आर्थिक उन्नतिमा फड्को मार्नसक्छ । विशेषतः जलविद्युत आयोजनाहरूको निर्माणमा सरकारले स्पष्ट दृष्टिकोण बनाएर सोही अनुसारको राजनीतिक प्रतिबद्धता जनाउन सकेको खण्डमा मुलुकले लोडसेडिङको मारबाट मुक्ति पाउने मात्र हैन विद्युत निर्यात गरेर प्रशस्त लाभ लिनसक्छ । त्यस्तै निर्यातमूलक पानी उद्योग पनि अहिलेको सम्भावनामूलक क्षेत्र मानिन्छ । हिमालयबाट बग्ने स्वच्छ पानीलाई प्रशोधन गरेर निर्यात गर्न सकिने विभिन्न अध्ययनहरूले देखाइसकेको छ । जडिबुटी प्रशोधन, कृषिजन्य उद्योगको विस्तार र कृषिलाई उद्योगसरहकै मान्यता दिएर सोही अनुसारको रणनीति बनाउने बेला भैसकेको छ । अर्कोतिर लगानी प्रतिबद्धता जनाएकाहरूबाट सोही अनुसारको काम हुन्छ कि हुँदैन भन्ने सवाल पनि महत्वपूर्ण पक्ष हो । नेपालमा प्रतिबद्धता जनाउने तर काम केही नगर्ने प्रवृत्ति बढिरहेका बेला उद्योग दर्तासंगै संचालनमा ल्याउन पनि सोही अनुसारको पहल आवश्यक छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||