| युगसम्बाद साप्ताहिक | ||||
|
भक्तपुरमा ७ करोडभन्दा बढी क्षतिपूर्ति Tuesday, 12.10.2013, 11:11am (GMT5.5) काठमाडौं । केही महिना पहिले भक्तपुर लगायत देशका विभिन्न क्षेत्रमा फैलिएको बर्डफ्लुका कारण कुखुरा व्यवसायीहरूले ठूलो आर्थिक क्षति भोग्नु परेको छ भने सरकारले पनि पीडित व्यवसायीलाई क्षतिपूर्ति रुकम वितरण गर्दैआएको छ । गत १२ साउनमा भक्तपुरको सिपाडोलस्थित हिमा ह्याचरीमा पहिलोपटक बर्डफ्लु देखिएपछि सरकारले जिल्लालाई संकटग्रस्त घोषणा गर्दै पक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने अभियान थालेको थियो । ३ असोजसम्म सञ्चालित अभियानले यहाँका १६ गाविस र २ नगरपालिकाका ५ सय १५ वटा फर्मबाट १० लाखभन्दा बढी कुखुरा र चल्ला तथा १२ लाख हाराहारी अन्डा नष्ट गरेको थियो । भक्तपुरमा हालसम्मकै सबैभन्दा ठूलो कुखुरा नष्ट गर्ने अभियान चलाइएको थियो । जसका लागि सरकारले १० पशु चिकित्सकसहित पशु सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर तथा ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र धादिङमा कार्यरत प्राविधिक जनशक्तिलाई भक्तपुरमा केन्द्रित गरी पक्षी र पक्षीजन्य वस्तु नष्ट गरेको थियो । फर्म सञ्चालकमध्ये १० जना मात्रै भक्तपुर बाहिरका हुन् भने बाँकी ५ सय हाराहारी स्थानीयवासी हुन् । संकटग्रस्त क्षेत्र घोषणा गरेपछि भक्तपुरमा हालसम्म ७ करोड ७८ लाख २२ हजार ७८ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको समाचार छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरमार्फत वितरण भइरहेको क्षतिपूर्ति लिनेमा ४ सय ८० पोल्ट्री व्यवसायी रहेका छन् । जसमध्ये ४ सय ६६ साना किसान, ३ मासु व्यवसायी लगायत छन् । क्षतिपूर्ति लिन अब ३५ कुखुरापालक व्यवसायी बाँकी छन् । ३ मासु व्यवसायीलाई प्रतिकिलो मासुको १ सयका दरले ३ लाख २८ हजार ८ सय क्षतिपूर्ति दिइएको छ । मंगलबार मात्रै थप १६ व्यवसायीले दाबी गरेको १ करोड ७७ लाख १३ हजार ९ सय ७१ रुपैयाँ क्षतिपूर्ति भुक्तानीका लागि पशु सेवा कार्यालयले कोलेनिकालाई पत्राचार गरेको छ । सरकारले कुखुरा नष्ट गर्न थालेपछि भक्तपुरका किसानले क्षतिपूर्ति रकम अतिन्यून भएको जनाउँदै संशोधन गर्न माग गरेका थिए । उनीहरूको मागसमेत अध्ययन गरी सुझाव पेश गर्न कृषि मन्त्रालयले पशु उत्पादन निर्देशनालयका निर्देशक दिनेश पराजुलीको संयोजकत्वमा समिति गठन गरेको थियो । स्रोतका अनुसार समितिले गत २३ असोजमा मन्त्रालयलाई बुझाएको प्रतिवेदनले बर्डफ्लु आदेशमा उल्लेख भएको क्षतिपूर्ति रकम न्यून भएको सुझाव दिँदै क्षतिपूर्ति रकम बढाउन भनेको थियो । तर, मन्त्रालयले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । भक्तपुर पशु सेवा कार्यालय प्रमुख खगेन्द्रराज भट्टका अनुसार क्षतिपूर्ति वितरण बर्डफ्लु नियन्त्रण आदेशले तोकेकै दरअनुसार दिइएको छ । उक्त आदेशले अन्डा प्रतिगोटा ३, चल्लाको ५०, ४ साताभन्दा बढीको ब्रोइलर कुखुरा प्रतिगोटा १ सय ३०, प्यारेन्टको २ सय ५० रुपैयाँ तोकेको छ । यस्तै, दाना प्रतिकिलो १० र मासु प्रतिकिलो १ सय क्षतिपूर्ति तोकेको छ । पशु सेवा कार्यालयका अनुसार भुक्तानी लिन ठूला फर्म बाँकी छन् । भट्टका अनुसार ठूला फर्मले सरकारलाई कर तिरिरहेको प्रमाण, प्यारेन्ट चल्ला आयात गर्दा भन्सार कार्यालयले प्रमाणित गरेको प्रज्ञापनपत्रलगायत कागजात नबुझाएकाले क्षतिपूर्ति लान ढिलाइ भएको हो । सरकारले भक्तपुरका लागि मात्र १३ करोड २८ लाख क्षतिपूर्ति रकम विनियोजन गरेको छ । हालसम्म संकटग्रस्त घोषित भक्तपुरमा पक्षी र पक्षीजन्य वस्तुको ओसारपसार र किनबेच निषेध छ । अपरेसन अभियान ३ असोजमा सकिएको थियो । सोही दिनदेखि लागू हुने गरी तोकिएको संकटग्रस्त क्षेत्र घोषणाको समयसीमा आगामी ३ पुसमा मात्र सकिन्छ । ९० दिनपछि मात्रै सकिने समयसीमापछि भक्तपुरमा कुखुरा, अन्डा, मासु र चल्ला किनबेच, ओसारपसार फुकुवा हुनेछ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||