युगसम्बाद साप्ताहिक

नेपाललाई लाभ छैन
Tuesday, 12.17.2013, 08:02am (GMT5.5)

काठमाडौं । इण्डोनेसियाको बालीमा हालै सम्पन्न विश्व व्यापार संगठनको सम्मेलनमा कम विकसित देशहरूका लागि धेरै प्रोत्साहन र प्रतिज्ञा मिले पनि नेपालले प्रत्यक्ष त्यसको लाभ लिन नसक्ने भएको छ । सम्मेलनमा सहभागी अर्थ तथा उद्योग, वाणिज्य मन्त्री शंकर कोइरालाले नै स्वदेश फर्कने क्रममा विश्व व्यापार संगठनबाट नेपालले लाभ लिन नसक्ने बताउनुभएको थियो । नेपाल अति कम विकसित मुलुक भएका कारण बाली सम्मेलनको नतिजा उत्साहित हुने स्थितिको छैन । 

कृषिमा आधारित र आश्रित अर्थतन्त्रमा भारतीय कृषि नीति नै नेपालका लागि सर्वाधिक ठूलो अवरोध हो । भारतले दिएको कृषिको अनुदान नै नेपालका लागि सर्वाधिक ठूलो चुनौतिका रुपमा रहेको छ । विश्व व्यापार संगठनको सदस्य बन्नका लागि नेपालले कृषिमा दिंदैआएको अनुदान रोके पनि भारत जस्ता आर्थिक विकासमा गति लिइरहेका मुलुकहरूले त्यसलाई कटौती नगरेका कारण नेपालको प्रमुख व्यापार हुने मुलुक भारत र कृषि सामग्री निर्यातजन्य प्रमुख उत्पादन भएकाले नेपालको प्रतिस्पर्धी आधार नै खडा हुन सकेको छैन ।

विश्व व्यापार संगठन चार वर्षका लागि खाद्य सुरक्षाको नाममा पुराना उत्पादनमा आफ्नो ४ प्रतिशत अनुदान जारी राख्न भारत दृढ छ । भारतले वार्षिक १५० अर्ब को अनुदान किसानहरू दिन्छ । नेपालको कूल व्यापारको दुई तिहाई भारतसंग हुन्छ । यसमा निर्यातभन्दा आयात बढी छ । भारतसंगको व्यापार घाटा कहालिलाग्दो छ । नेपालबाट भारत निर्यात हुने वस्तुमा कृषि उत्पादनको हिस्सा ठूलो छ । तर, पछिल्लो समय निर्यात गर्न पुग्ने गरी कृषि उत्पादन हुन सकेको छैन । उल्टै भारतबाटै एक खर्बको हाराहारीको खाद्यान्न आयात गर्नुपरेको स्थिति छ । 

सरकारले नेपाल व्यापार एकीकृत रणनीति अन्तर्गत आफ्नो निर्यात प्रवद्र्धन गर्न तुलनात्मक लाभ लिन सकिने भनेर १९ वस्तुहरू वर्गीकृत गरेको छ । त्यो सूचीमा ठूलो अलैंची, अदुवा र मह जस्तै सात कृषि उत्पादन छन् । नेपालले औद्योगिक उत्पादन निर्यात गर्नसक्ने सम्भावना तत्काललाई छैन । यसको अर्थ नेपालले तत्काल आयात प्रतिस्थापन गर्न कृषि उत्पादनलाई जोड दिनुपर्छ । कृषि अन्तर्गत खाद्यान्नका साथै हरियो तरकारी, फलफूल तथा मासुजन्य उत्पादनलाई बढावा दिने हो भने नेपालबाट यी वस्तु भारत मात्र होइन अन्य मुलुकमा पनि निर्यात गर्न सकिन्छ । बंगलादेशमा ठूलो परिणाममा मुसुरो निर्यात हुन्छ । त्यस्तै गहुँ पनि निर्यातमूलक उत्पादन हो तर विडम्बना के भने नेपालको खाद्यान्न उत्पादन नेपालीकै लागि अपुग हुने देखिन्छ । जनसंख्याको आधारमा खाद्यान्न उत्पादन बढी भएको र केही संचित हुने अवस्था देखिए पनि वितरण प्रणालीको अव्यवस्थाका कारण खाद्यान्न अभाव हुने जिल्ला थपिंदैछन् । 

अर्कोतिर कृषिमा श्रम गर्नुपर्ने युवाहरू विदेशमा श्रम गर्न वाध्य छन् । नेपालमा कृषिलाई व्यावसायिक गर्ने र यसतर्फ शिक्षित युवा बेरोजगारलाई आकर्षित गर्ने नीति नहुँदा कृषिमा लगानी हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरूले पनि कृषिमा लगानी प्रवाह गर्न सकिरहेका छैनन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com