युगसम्बाद साप्ताहिक

वैदेशिक रोजगारीको योगदान २३.५ प्रतिशत
Monday, 02.03.2014, 06:14pm (GMT5.5)

काठमाडौं । मुलुकमा रोजगारीको सिर्जना हुन नसक्दा वैदेशिक रोजगारी नै एकमात्र आधार बन्न थालेको छ । वैदेशिक रोजगारीकै कारण नेपालको ग्रामीण क्षेत्रको जीवनस्तर उकासिएको छ भने चरम व्यापार घाटा भोगिरहेको मुलुकको आयात पनि वैदेशिक रोजगारीबाट भित्रिएको रकमले नै धानिरहेको छ । 

मुलुकको कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट अहिले नेपालमा कुल गार्हस्थ्य उत्पादनमा २३ दशमलम ५ प्रतिशत योगदान पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेसँगै विप्रेषणमा समेत ह्वात्तै वृद्धि भएको छ ।चितवनमा शनिबार भएको एक कार्यक्रममा तथ्याङ्क सार्वजनिक गर्दै वैदेशिक रोजगारका प्रशिक्षक अञ्जनकुमार दाहालले १५ वर्षमा विप्रेषणको दरसमेत ३० गुणाले बढेको बताउनुभयो ।

विसं २०६६ मा गार्हस्थ्य उत्पादनमा १९ प्रतिशत योगदान दिएको वैदेशिक रोजगारी अहिले बढेर २३ दशमलव ५ प्रतिशतभन्दा माथि पुगेको उहाँले बताउनुभयो । सन् १९९५ मा सात अर्बमात्रै रहेको विप्रेषण अहिले २५० अर्ब नाघेको समेत उहाँले तथ्याङ्क सार्वजनिक गर्नुभयो । 

नेपालबाट हाल करिब ७० लाख मानिस विदेश गएको अनुमानित तथ्याङ्क छ । सरकारी तथ्याङ्कमा भारतबाहेक श्रम स्वीकृति लिएर २५ लाख नेपाली वैदेशिक रोजगारीमा गएको उल्लेख छ । कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी विदेशमा रोजगारीका लागि गएको बताउँदै दाहालले लुकीछिपी तथा विभिन्न कारणबाट विदेश जानेसहित गरी करिब ७० लाख पुगेको उल्लेख गर्नुभयो । 

पछिल्लो १० वर्षमा गरिबीको दर १० प्रतिशत घटेर ३१ प्रतिशतमा झर्नु पनि विप्रेषणका कारण रहेको कार्यक्रममा बताइयो । नेपाल सरकारले १०८ मुलुकमा रोजगारी खुला गरेकामा हाल इराकमा बन्द गरेको छ । बढी रोजगारीका लागि मानिसहरू खाडी मुलुक गएको अधिवक्ता तथा सेलर्डका प्रतिनिधि विनोद लामिछानेले बताउनुभयो । 

वैदेशिक रोजगार विभागको तथ्याङ्कमा अहिलेसम्म मलेसियामा धेरै नेपाली पुगेका छन् । त्यसपछि कतारमा पुगेका छन् । सबैभन्दा कम जापानमा गएको भए पनि पछिल्लो समय जापान गन्तव्य बन्दै आएको छ । 

वैदेशिक रोजकारीमा जाने नेपालीले विभिन्न समस्या झेल्नुपरिरहेकाले यसलाई अझै व्यवस्थित गर्न जरुरी रहेको सम्वद्ध व्यक्तिहरू बताउँछन् । 

छ करोड ४० लाख क्षतिपूर्ति प्रदान 
सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ४२७ जनाका परिवारलाई रु एक लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नागरिकका परिवारलाई सामाजिक दायित्वअन्तर्गत सरकारले सो रकम उपलब्ध गराएको हो । 

चालु आवको पुस मसान्तसम्म सरकारले क्षतिपूर्तिवापत सो रकम उपलब्ध गराएको श्रम तथा रोजगार मन्त्रालयका सहायक प्रवक्ता मुक्तिनाथ भट्टराईले जानकारी दिनुभयो । क्षतिपूर्तिवापत मात्रै रु छ करोड ४० लाख ५० हजार रकम उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका लागि विशेषगरी खाडी मुलुक गएकाहरूको दुर्घटनाका कारण दैनिक तीन जनाको शव आउने गरेको छ । 

मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका ३६ जनाका परिवारलाई रु १५ हजारदेखि रु एक लाख पचास हजारसम्म आर्थिक सहायता उपलब्ध गराएको छ । सामान्य घाइते भएकालाई रु १५ हजार र अङ्गभङ्ग नै भएकालाई बढी रकम उपलब्ध गराइएको हो । वैदेशिक रोजगारीमा जानेमा जनचेतनाको अभाव र सुरक्षात्मक उपायको अवलम्बन गर्न नसक्दा अङ्गभङ्ग हुनेक्रम बढेको भन्दै श्रम तथा रोजगार मन्त्रालयले अधिकभन्दा अधिक जानकारीबिना वैदेशिक रोजगारीमा नजानसमेत आग्रह गरेको छ । 

यस्तै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १८५ जनाको शव काठमाडौँ ल्याउनसमेत मन्त्रालयले आर्थिक सहायता उपलब्ध गराएको छ । सोवापत मात्रै मन्त्रालयले रु एक करोडभन्दा बढी रकम उपलब्ध गराएको हो । वैदेशिक रोजगारीमा जाने ४३२ जना महिलाले अभिमुखीकरण तालिम लिएवापत तालिम दिने संस्थालाई तिरेको प्रतिव्यक्ति रु ७०० का दरले रु तीन लाख दुई हजार ४०० रकमसमेत सोध भर्ना दिइएको छ । 

चालु आवको मङ्सिर मसान्तसम्म वैदेशिक रोजगारीमा भएको ठगीका सम्बन्धमा परेको कुल ९२३ उजुरीमध्ये १५९ वटा उजुरीको निक्र्यौल गरी रु आठ करोड २३ लाख रकम पीडितलाई उपलब्ध गराइएको छ । बाँकी रहेका उजुरीको समेत चाँडै टुङ्गो लगाइने मन्त्रालयले जनाएको छ । कुल ९२३ उजुरीवापत उजुरीकर्ताले रु ४० करोड ९२ लाख दाबी गरेका थिए । वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउनका लागि ठगीमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न मन्त्रालयले काम कारबाहीसमेत सञ्चालन गरिरहेको सहायक प्रवक्ता भट्टराईको भनाइ छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com