युगसम्बाद साप्ताहिक

नेपालको स्रोत, नेपालकै पूँजी, नेपालीकै उन्नति - बिनिता देवकोटा
Monday, 02.17.2014, 06:46pm (GMT5.5)

जैविक विविधताले भरिपूर्ण नेपालमा राष्ट्रिय समृद्धिको महत्वपूर्ण पाटोका रुपमा जडिबुटीलाई लिइन्छ । नेपालमा विश्वमा अति महंगोमा विक्री हुने औषधिजन्य जडिबुटीदेखि लिएर विभिन्न सुगन्धित जडिबुटीको अथाह भण्डार रहेको छ । उच्च हिमाली भेगमा पाइने जडिबुटी किलोकै लाखभन्दा बढी पर्दछ । यस्ता जडिबुटीको सदुपयोगबाटै नेपाली जनतालाई समृद्धिको उचाइमा पुर्याउन सकिनेमा दुईमत छैन । राष्ट्रिय अर्थतन्त्रको एउटा मजबुत र दीर्घकालीन आधारको रुपमा रहेका जटिबुटीजन्य वस्तुहरूको उपयोगिताका लागि अहिलेसम्म नीति बनेको छैन । व्यक्तिगत रुपमा केही संस्थाहरूले यसको निकासी र प्रशोधन कार्य गर्ने गरेका भए पनि त्यो पर्याप्त छैन । जडिबुटीको निकासीभन्दा यसको प्रशोधन र अन्य वस्तुहरू उत्पादन गरेर निर्यात गर्ने परिपाटीको विकास अहिलेको आवश्यकता हो । वर्तमान वास्तविकता त के छ भने हामीले निकासी गरेको जडिबुटीबाट उत्पादित सामग्रीहरू हामीले महंगो मूल्य तिरेर खरीद गर्नु परिरहेको छ । औषधि, तेल वा अन्य सुुगन्धित वस्तुहरू हामी महंगो मूल्य तिरेर आयात गरिरहेका छौं । तर, आफैं त्यसको उत्पादनतर्फ ध्यान दिन सकिरहेका छैनौं ।

राष्ट्रिय आयलाई मजबुत र समृद्ध बनाउने एउटा बलियो आधार र खम्बाको रुपमा जडिबुटीलाई लिन सकिन्छ । एक्काइसौं शताब्दीको यो विश्व विज्ञान र प्रविधिले जतिसुकै सम्पन्न भए पनि, मानिसको जीवनलाई जस्तोसुकै सुविधा प्रदान गर्ने गरेको भए पनि मानिस अहिले प्राकृतिक जीवनयापनतिर विस्तारै ढल्किरहेका छन् । प्राकृतिक जीवनयापनको पहिलो खुड्किलो वनजन्य पदार्थको उपयोगिता हो । यसमा औषधि, विभिन्न प्रकारका सौन्दर्य प्रशाधन तथा अन्य सुगन्धित वस्तुहरू पर्दछन् । महाऔषधीय गुण भएका नेपालको जडिबुटीहरूको उपयोगमा विदेशीले जसरी आ“खा गाडेका छन् । हामीले त्यसतर्फ गम्भीर हुनु आवश्यक छ । स्रोत साधनले भरिपूर्ण हु“दाहु“दै पनि हाम्रो सम्पदा त्यसै खेर गैरहेको छ । यो नै विडम्बनाको पक्ष हो । जडिबुटी तस्करहरू सक्रिय छन्, जसरी जलस्रोतमा माफिया घुसेको छ जडिबुटी पनि त्यही नियतिको शिकार भैरहेको छ । मुलुकको सबभन्दा पिछडिएको भनिएको कर्णाली प्रदेश जडिबुटीको भण्डार हो । सो क्षेत्रको विकासका लागि त्यहा भएका जडिबुटीको सदुपयोग, संरक्षण र यसको प्राकृतिक कृषि प्रणाली अपनाउन सकिए मुलुकको सबभन्दा समृद्ध क्षेत्र नै कर्णाली बन्ने छ । यो कुरा राजनीतिक भाषणमा त सुन्न सकिन्छ तर व्यवहारमा छैन । 

त्यसैले, जडिबुटीको पहिचान, खोजी र यसको संरक्षण अहिलेको प्रमुख आवश्यकताभित्र पर्दछ । उच्च हिमाली भेगदेखि लिएर पहाडी क्षेत्रमा जडिबुटीको अथाह भण्डार छ । सामान्य रुपमा हेर्दा तितेपातीदेखि यार्सागुम्बा र पा“चऔंलेको उपयोग विश्वव्यापी रुपमा भैरहेका छन् । ग्रामीण क्षेत्रमा त्यसै मिल्कइरहेको तितेपातीको बहुउपयोगी गुणलाई मात्र हामीले उपयोग गर्न सक्यौं भने त्यसबाट लिन सकिने लाभ अनगिन्ती छ । प्रतिकिलो ५ सय रुपैया“का दरले तितेपातीको धुलो विक्री हुन्छ । तितेपातीको औषधीय गुणमा सर्वाधिक ठूलो विशेषता भनेको कीटनाशक क्षमता नै हो । कृषिप्रधान मुलुक नेपालमा विदेशमा डलर तिरेर कीटनाशक औषधि भिœयाउनुको साटो यसैको उपयोगितातिर ध्यान केन्द्रित गर्ने हो भने उत्पादित खाद्य पदार्थमा प्राकृतिक गुण प्राप्त हुनेछ भने आयात खर्च पूरै रोकिने मात्र होइन, स्वदेशभित्रै थुप्रैले रोजगारी पनि प्राप्त गर्नेछन् । स्वस्थ खाद्यान्नको उत्पादनले जनस्वास्थ्य पनि राम्रो हुन्छ । यस्तै हेर्दा सामान्य लाग्ने यस्तो औषधीय वनस्पतिहरू कति छन्, त्यसको लेखाजोखा नै छैन ।

तितेपाती एउटा साधारण प्रसंग मात्र हो । हामीले त्यसै मिल्काइरहेका वस्तुबाट त यति धेरै लाभ लिन सकिन्छ भने महत्वपूर्ण मानिएका अन्य जडिबुटीहरूको लाभ कस्तो होला ? यो प्रसंगले नै हामीलाई झक्झकाउनु पर्ने हो । तर त्यस्तो परिस्थिति निर्माण भैसकेको छैन । अर्थतन्त्र र औद्योगिकीकरणको नारामा विश्वव्यापीकरण, उदारीकरण तथा निजीकरणलाई प्राथमिकता दिएर विदेशी पैसामै र्याल चुहाउने परिपाटीको अन्त्यस“गै आफ्नो स्रोत साधनको उपयोगितालाई प्राथमिक सूचीमा पारिनुपर्छ भन्ने आग्रह मात्र यहा“ गर्न लागिएको हो । 

राज्य पुनःसंरचनाको राजनीतिक नारा विद्यमान अवस्थाबाट मात्र पूरा हुन सक्दैन । मुलुकलाई सा“च्चिकै पुनःसंरचित गर्ने हो भने यी र यस्ता विषयहरूलाई उच्च प्राथमिकता दिनुपर्छ । सामान्यदेखि बहुमूल्य वनस्पतिहरूको अथाह भण्डारको बहुउपयोगिता नै नेपालको समृद्धिको आधार हो । विकास निर्माण र आर्थिक दुरावस्थाले संकटपूर्ण अवस्थामा रहेको कर्णाली क्षेत्रमा जडिबुटीको अथाह भण्डार रहेको छ । सो क्षेत्रमा जडिबुटी प्रशोधन उद्योग स्थापना गर्ने हो भने त्यहा“को जनताको आर्थिक क्षमतामा कायापलट हुने निश्चित छ । जडिबुटी संकलन र यसको प्रशोधन र औषधि तथा अन्य वस्तुहरूको उत्पादन सम्बन्धित क्षेत्रमै गर्ने नीति बनाइनु पर्दछ । दुर्गम पहाडी जिल्लाहरूमा रहेका प्राकृतिक स्रोतहरूको सदुपयोग नै हाम्रो आर्थिक समृद्धिको बाटो हो भन्ने नीति निर्माता तथा योजनाविद्हरूले बुझ्नुपर्छ । 

समावेशीकरण, संघीयताका जतिसुकै नारा लागे पनि आर्थिक विकासका लागि केन्द्रीकृत धारणाले नै प्राथमिकता पाइरहेको छ । आफ्नो स्रोत साधनको उपयोगमा खासै चासो नदेखाइएको नेपालको औद्योगिक क्षेत्र निर्यातभन्दा आयातबाट बढी दंगदास छ । विदेशी सामान नेपाल भिœयाएर मुनाफा खानेलाई व्यवसायी र घरेलु तथा कुटीर उद्योग संचालन गर्नेका बीचमा सरकारले देखाएको विभेदकारी नीति पनि आर्थिक रुपान्तरणका लागि बाधक बनिरहेको छ । विदेशमुखी अर्थनीति हाम्रो अभिशाप बनिरहेको छ । वैदेशिक सहायता वा ऋणविना केही पनि गर्न नसकिने मनचिन्ते सोचाइले नै हामीलाई पछाडि पारिरहेको छ । घा“स दाउराको मूल्यमा बिक्री भैरहेका हाम्रा जडिबुटीबाट उत्पादित बहुमूल्य औषधि निकै महंगोमा खरीद गर्नु परिरहेको वास्तविकता अहिले पनि छ । सिंहदरबार वैद्यखाना र केही निजी आयुर्वेद औषधालयहरूले नेपाली जडिबुटीको सदुपयोग गरिरहेका छन् । कुल मागको सानो अंश मात्र स्वदेशी उत्पादनले धानिरहेको छ । अधिकांश मागको पूर्ति भारतबाट भैरहेको छ । नेपालको जडिबुटीबाट बनेको औषधिदेखि अन्य पदार्थहरू नेपाली जनताले महंगोमा खरीद गरिरहेका छन् । यो विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नाले नै आर्थिक समृद्धिको एउटा अध्याय सुरु हुन्छ । 

औषधि होस् वा सुगन्धित तेल, अत्तर हुन् वा अगरवत्ती वा अन्य पदार्थ सबैको स्रोत प्रकृति नै हो । प्रकृतिमा यी सबै रहेका छन् । केवल यसको पहिचान र उपयोग मात्र आवश्यक छ । विश्वमा अहिले औषधिदेखि सौन्दर्य सामग्री समेत प्राकृतिक वनस्पतिद्वारा तयार पार्ने होडबाजी चलिरहेको छ । नेपाल जस्तो जडिबुटीको अपार भण्डार रहेको देशका लागि यो एउटा सुनौलो अवसर हो । हामीले अपरिपक्व किसिमबाट होइन कि त्यसको प्रशोधन र उत्पादन नेपालमै गरी तयारी रुपमा निर्यात गर्नुपर्दछ । जुन क्षेत्रमा जडिबुटीको भण्डार रहेको छ, त्यो क्षेत्र विकास निर्माणका दृष्टिले अत्यन्त पिछडिएको छ । तसर्थ सो क्षेत्रमा भएका जडिबुटीको निर्यात वा विकासबाट प्राप्त रकम सोही क्षेत्रमा लगानी गर्ने हो भने केन्द्रबाट विकासका लागि थप रकम पनि पठाउनु पर्दैन । अनुदान तथा उपदानको निरीह अवस्थामा त्यहा“का जनताले जीवन चलाउनु पनि पर्दैन । यो एउटा सपना मात्र होइन, वास्तविकता हो । तर, यो वास्तविकतालाई नीति निर्माण तहमा बसेका र औद्योगिक व्यावसायिक क्षेत्रले पनि गम्भीरतापूर्वक लिनु अति आवश्यक छ । 

नेपाल जस्तो अल्पविकसित देशका लागि बहुराष्ट्रिय कम्पनीको उद्योग स्थापनाभन्दा स्थानीय र प्राकृतिक स्रोत साधनमा आधारित औद्योगिक प्रतिष्ठान त्यो पनि सरकारी लगानीमा स्थापित हुनु आवश्यक छ । बहुराष्ट्रिय कम्पनीहरू यहा“ नाफा कमाउन सकुन्जेल बस्ने, नभए जाने निश्चित छ । विगतको दृष्टान्त यस्तै छ । नेपालमा स्थापित भएका कति बहुराष्ट्रिय वा संयुक्त लगानीका उद्योगहरू विस्तापित भए त्यसको लेखाजोखा र मूल्यांकन गरेर अघि बढ्ने जमर्को भयो भने नेपालको आर्थिक रुपान्तरणको आधारको रुपमा जडिबुटी बन्न सक्छ र यसले नै नेपाली जनताको आर्थिक समृद्धिको बाटो तय गर्नेछ । 

सरकारी नीति र प्रतिवद्धता अनि उद्योगी व्यवसायीहरूलाई यस्ता क्षेत्रमा लगानी आकर्षित गराउने काम सरकारको हो । परिवर्तित सन्दर्भमा आर्थिक रुपान्तरणको नारा लगाउने औद्योगिक प्रतिष्ठान र घरानीय व्यवसायीहरूले प्याकेजिङ गरेर मुनाफा गर्नुभन्दा जडिबुटी प्रशोधन तथा उत्पादनतिर ध्यान केन्द्रित गरे समग्रतामा नेपालकै मात्र हित हुनेछ । नेपालको स्रोत, नेपालकै लगानी भएपछि दुवै हातमा मिठाई पर्ने निश्चित छ । यसका लागि नीति, साहस, राष्ट्रियता र आफ्नो जिम्मेवारीबोध हुनु पर्दछ । समग्रतामा नेपालको हित नेपालको स्रोत साधनबाट मात्र सम्भव छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com