| युगसम्बाद साप्ताहिक | ||||
|
राजनीतिक स्थिरता नै लगानीको द्वार Monday, 02.24.2014, 06:26pm (GMT5.5) काठमाडौं । नेपालको अर्थतन्त्र धान्ने एउटै आधार भनेको वैदेशिक रोजगारी मात्र हो । ३० लाखभन्दा बढी नेपालीले विदेशमा श्रम गरेर पठाएको रकमबाटै आयात धानिरहेको छ । मुलुकमा रोजगारीको सिर्जना हुन नसक्दा नेपाली युवाहरूको बाँच्ने आधार नै वैदेशिक रोजगारी बनिरहेको छ । यसको एउटै कारण भनेको नेपालमा औद्योगिक वातावरण नबन्नु र राजनीतिक अस्थिरता लम्बिदै जानु हो । राजनीतिक अस्थिरताले गर्दा बाह्य तथा आन्तरिक लगानी भित्रिन नसक्दा मुलुक कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । नेपालको वैदेशिक व्यापार घाटा आकाशिंदो छ । अर्कोतिर मुलुकमा भित्रिएको पूँजीको उत्पादनमूलक कार्यमा उपयोग हुन नसक्नु पनि प्रमुख समस्या हो । वैदेशिक लगानीबाट भित्रिएको झण्डै चार सय अर्ब बराबरको रकम उपभोग्य वस्तु खरीदमै जान्छ । आयातित वस्तु खरीदमा आयात भएको रकम खर्चिने गरिंदा मुलुकमा पूँजी निर्माण पनि हुन सकेको छैन । स्वदेशी लगानी विस्तारमा पनि अनेक किसिमका समस्या रहेका कारण विदेशी लगानी भित्रिने अपेक्षा पनि कम मात्रै गर्न सकिन्छ । विगत आधा दशकयता भएको यस्तै देखिन्छ । यसबीचमा राजनीतिक स्थिरताको संकेत आउनासाथ मुलुकमा बाह्य लगानीको ढोका खुलेको देखिएको छ । चालू आर्थिक वर्षको सात महिनामा झन्डै १ खर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । समाचार अनुसार उद्योग विभागमा १६ अर्ब ४ करोड ६० लाख रुपैयाँ सिधै लगानीको प्रतिबद्धता आएको छ भने लगानी बोर्डमार्फत ८२ अर्ब ५० करोड गरी ९८ अर्ब ९० करोड लगानी ल्याउने प्रतिबद्धतासहित उद्योग दर्ता भएका छन् । यस अवधिमा ९ वटा जलविद्युतमा ९२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ । नेपालको आर्थिक विकासमा जलस्रोतको उपयोग गर्नुपर्छ भन्ने गरिए पनि चाहे अनुसारको लगानी भित्र्याउन नसकिएका बेला प्रतिबद्धता भएकामा सबैभन्दा बढी लगानी जलविद्युतमै हुनु सुखद् सन्देश हो । यस अवधिमा विदेशी लगानीका लागि ३४ मुलुक आएको देखिन्छ । त्यसमध्ये सबैभन्दा बढी लगानीको प्रतिबद्धता देखाउने मुलुक भारत हो । उसले १६ वटा उद्योगमा ८८ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता देखाएको हो । एउटा मात्रै उद्योग दर्ता गर्ने मुलुकको संख्या दर्जनभन्दा बढी छ । संख्याको आधारमा सबैभन्दा बढी उद्योग दर्ता गर्ने मुलुक भने चीन हो । उसले ४८ वटा उद्योग चालू आर्थिक वर्षको सात महिनामा दर्ता गरेको हो । लगानी भने ५ अर्ब ५५ करोड रुपैयाँ मात्रै छ । लगानी बोर्डमार्फत स्वीकृति पाएको भारतको सतलज जलविद्युत निगम पनि छ । उक्त कम्पनीले संखुवासभाको अरुण तेस्रो जलविद्युत्मा ८२ अर्ब ५० करोड रुपैयाँ लगानीको तत्परता देखाएको हो । बाँकी रकम कृषि, उत्पादन, खानी, सेवा र पर्यटन क्षेत्रमा भएको तथ्यांकले देखाउँछ । सबैभन्दा कम पर्यटन क्षेत्रमा लगानी भएको हो । ३० वटा पर्यटनमूलक उद्योगमा ४८ करोड रुपैयाँको मात्रै एफडीआई प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्षको सात महिनामा आएको प्रतिबद्धता गत आर्थिक वर्षभरिको भन्दा झन्डै ६ गुणाले बढी हो । आर्थिक वर्ष ०६९।७० मा जम्मा वैदेशिक लगानीको प्रतिबद्धता १९ अर्ब ९३ करोड रुपैयाँ मात्रै भित्रिएको थियो । प्रतिबद्धता जनाइएका उद्योगहरूका विदेशी लगानीकर्ताले ६ हजार १ सय ३८ जनलाई रोजगारी दिने प्रतिबद्धता देखाएका छन् । त्यसमध्ये सबैभन्दा बढी सेवा क्षेत्रका उद्योगले रोजगारीको सिर्जना गर्ने प्रतिबद्धता देखाएका हुन् । विभागको तथ्यांकअनुसार सेवा क्षेत्रमा १ हजार ८ सय २४ जनालाई रोजगारी दिने प्रतिबद्धता छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||