युगसम्बाद साप्ताहिक

सार्कजस्तो नहोस बिम्स्टेक
Monday, 03.03.2014, 04:50pm (GMT5.5)

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला मुलुकको शासनभार सम्हालेको थोरै दिनमै विदेश भ्रमणमा निस्कनुभयो । उहाँको विदेश भ्रमण बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को शिखर सम्मेलनमा सहभागी हुनका लागि भएको हो । आज सम्पन्न हुने सम्मेलनले यो क्षेत्रको आर्थिक–सामाजिक विकासका लागि खेल्ने भमिका र तय गर्ने रणनीति महत्वपूर्ण मानिएको छ । त्यसो त सार्क जस्तै बिम्स्टेकलाई मुलुकको आर्थिक विकासको संवाहकका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइए पनि सार्कको भूमिका घोषणा गर्नमै सीमित भैरहेको छ । 

जसरी क्षेत्रीय सम्बन्ध विस्तार गर्ने र यो क्षेत्रको आर्थिक–सामाजिक वकासका लागि एकताबद्ध प्रयास हुनुपर्नेमा कागजमा मात्रै सीमित भैरहेका बेला बिम्स्टेक पनि यस्तै प्रवृत्तिको शिकार नहोस् भन्ने चाहना गर्नु नितान्त जायज छ । यसबीचमा उद्यमी–व्यवसायीहरूले आपसी सहयोग विस्तार तथा आर्थिक वृद्धि हासिल गरी सदस्य मुलुकका जनताको समृद्धि सुनिश्चित गर्ने उद्देश्यका साथ गठन भएको बिम्स्टेकलाई लगानी आकर्षण, प्रविधि भित्राउने र आर्थिक विकास गर्ने साझा मञ्चका रूपमा अझ सुदृढ बनाउनुपर्ने र त्यसको प्रतिफल गरिब जनतासम्म पुर्याउनुपर्ने धारणा राखेका छन् ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र त्यस्तै उद्देश्य लिएको बिम्स्टेकजस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय नेपालले आर्थिक विकासका बाटाहरू पहिल्याउन लगानी प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुहुन्छ ।

यापार तथा लगानी बिम्स्टेकका लक्ष्य एवम् उद्देश्य भएकाले आर्थिक कूटनीतिको प्रभावकारिता बढाउँदै पर्यटन, जलविद्युत्, कृषिलगायत तुलनात्मक लाभका क्षेत्रमा सदस्य मुलुकबाट लगानी आकर्षित गर्न सकिने उहाँ बताउनुहुन्छ । 
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीपराज पाण्डे क्षेत्रीय सहयोग एवम् सहकार्यलाई बढावा दिँदै नेपालको आर्थिक विकास र सरकारले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा पूँजी ल्याउन सकिने विचार व्यक्त गर्नुहुन्छ । अध्यक्ष बस्न्यात र उपाध्यक्ष पाण्डे प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको आर्थिक विकासका विषयलाई केन्द्रमा राखेर नेपालको धारणा स्पष्ट राख्ने विश्वास व्यक्त गर्दै विश्वव्यापीकरणको लाभबाट अब नेपालीलाई वञ्चित गर्न नहुनेमा जोड दिनुहुन्छ । 

बिम्स्टेकले व्यापार तथा लगानी, प्राविधिक, ऊर्जा, यातायात तथा सञ्चार, पर्यटन, मत्स्यपालन, कृषि, प्रतिआतङ्कवाद, अन्तर्देशीय अपराध नियन्त्रण, वातावरण संरक्षण, विपत व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, गरिबी निवारण, जलवायु परिवर्तन र जनता–जनताबीचको सम्पर्क, विकासका विविध आयाम लगायत साझा चासोका १४ विषयलाई उच्च प्राथमिकता दिँदै आएको छ । 

संगठनको पर्यवेक्षक हुँदै सन् २००४ मा पूर्ण सदस्यता पाएको नेपालले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी विधागत विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । संगठनले नेपाललाई गरिबी न्यूनीकरणसम्बन्धी विधागत विषयमा जिम्मेवारी सुम्पेको छ ।

त्यसैगरी, बङ्गलादेशले व्यापार तथा लगानी, भारतले यातायात तथा यात्रा, म्यान्माले ऊर्जा तथा कृषि, श्रीलङ्काले प्रविधि, थाइल्याण्डले मत्स्यपालन तथा भुटानले सांस्कृतिक विषयको जिम्मेवारी लिएका छन् । 

हाल बिम्स्टेकले व्यापार र लगानीलाई दुई क्षेत्रमा विभाजन गरेको छ । मालसामान तथा सेवाको व्यापारलाई आठ उपक्षेत्रमा छुट्याइएको छ । लत्ताकपडा, नरिवल, मरमसलामा बङ्गलादेश, औषधि तथा औषधिजन्य उत्पादनमा भारत, प्रशोधित खाद्य पदार्थ, रत्न, गरगहना तथा खनिजजन्य वस्तुका लागि श्रीलङ्का, बागवानी तथा पुष्पखेती, यातायात उद्योग, चिया, कफी र रबरमा थाइल्याण्डलाई कार्य क्षेत्रमा समावेश गरिएको छ । 

त्यसैगरी, व्यापार तथा सेवा सहजीकरणलाई सात उपसमूहमा विभक्त गरिएको छ । उक्त उपसमूहमा भन्सार सेवा, बैंककिङ सम्झौता, नापतौल, बौद्धिक सम्पत्ति, मालसामानको गुणस्तर, व्यापार यात्रा सुविधालगायत सेवा समाविष्ट गरिएको छ । वस्तु,सेवा र लगानीसम्बन्धी उपसमितिहरू पनि उपक्षेत्रमा राखिएको छ ।

बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्र स्थापनाका लागि थाइल्याण्डले प्रस्तुत गरेको प्रस्तावमाथि सदस्य मुलुकबीच छलफल जारी रहेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । सन् २०१८ भित्रमा त्यसलाई लागू गर्ने संगठनको लक्ष्य छ । 

एसियाली विकास बैंक(एडिबी)ले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्ने सेतुको रूपमा रहेको बिम्स्टेकको विकास साझेदारका रूपमा सन् २००५ देखि सहकार्य गर्दै आएको छ । उक्त बैंकले यातायात पूर्वाधार प्रवद्र्धन सम्बन्धमा अध्ययन गरी सबै सदस्य देशलाई आफ्नो प्रतिवेदन प्रतिक्रिया एवम् सुझावका निम्ति प्रस्तुत गरिसकेको छ । यद्यपि सदस्य मुलुकहरूले उक्त प्रतिवेदनबारे एडिबीलाई कुनै राय दिइसकेका छैनन् । 

सार्क सदस्य राष्ट्रमध्ये नेपाल, भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) मा आबद्धमध्ये थाइल्याण्ड र म्यान्मा सम्मिलित सात देशको उपक्षेत्रीय संगठन बिम्स्टेक सन् १९९७ मा स्थापना भएको हो । बिम्स्टेकमा नेपालले पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी विधागत विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । संगठनले नेपाललाई गरिबी न्यूनीकरण सम्बन्धी विधागत विषयमा जिम्मेवारी सुम्पेको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com