| युगसम्बाद साप्ताहिक | ||||
|
मासिक १४ मेगावाट विद्युत Monday, 03.24.2014, 04:36pm (GMT5.5) काठमाडौं । सरकारी नियन्त्रणमा रहेको नेपाल आयल निगमको अहिलेको मासिक घाटा डेढ अर्बभन्दा बढी छ । यो तथ्यांक कति वास्तकिवताको नजिक छ अनुसन्धानको विषय भए पनि यो घाटापूर्तिको कुनै मेसो छैन । आयल निगमलाई सुधार गर्नेतिर पटक्कै चासो दिइएको छैन, घाटापूर्तिको एउटै मात्र उपाय भनेको मूल्यवृद्धिलाई लिइएको छ । सरकार जमानीमा बसेर र अनुदान दिएर ३० अर्बभन्दा बढी ऋणभार बोकेको नेपाल आयल निगमको मासिक घाटा पूर्ति कुनै न कुनै दिन गर्नैपर्छ र त्यो घाटापूर्ति गरीब नेपालीको शिक्षा, स्वास्थ्य, तथा विकासको रकम काटेर गर्नुपर्नेछ । यस्तो वास्तविकताका बीच इन्धनको जोहोका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्रले सकारात्मक पहल गर्ने हो भने आयल निगमको मासिक घाटाले मात्र १४ मेगावाट विद्युत उत्पादन हुने आँकडा प्रस्तुत गरिएको छ । विज्ञहरूका अनुसार नेपालको वैदेशिक व्यापार घाटा चरम चुलीमा पुगिरहेका बेला नेपालको निर्यातले पेट्रोलियम पदार्थ खरीद गर्न समेत पुग्दैन । त्यसमा पनि आयल निगमको मासिक डेढ अर्बको घाटा आश्चर्य र चिन्ताको विषय बनेको छ । यस्तोमा आयल निगमलाई प्रतिस्पर्धी बनाएर त्यसको घाटापूर्तिका लागि सरकारले दिने अनुदान तथा ऋण विद्युतमा लगाउने हो भने १० मेगावाट जलविद्युत् तथा चार मेगावाट सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । इन्जिनियरिङ अध्ययन संस्थान ऊर्जा अध्ययन केन्द्रले शनिबार आयोजना गरेको राष्ट्रिय प्रशारण लाइनमा सोलार पिभी जोडिएको नमूना गोष्ठीमा सो कुरा बताइएको हो । कार्यक्रममा बोल्दै ऊर्जाविद् प्रा जगन्नाथ श्रेष्ठले राजधानीका चार लाखख घरमध्ये एक लाख घरको परल मूल्य रु एक करोडभन्दा बढी पर्दछ, ती घरले करिब रु दुई लाख ५० हजार लगानी गरी एक किलोवाट क्षमताको सौर्य विद्युत् जडान गरेको खण्डमा निजको ऊर्जाको आवश्यकता सजिलै पूर्ति हुनाका साथै बढी भएको विद्युत् ग्रीडमा जोडेर छिमेकीलाई आपूर्ति गर्न सकिने बताउनुभयो । राजधानीका एक लाख घरमा एक किलोवाट क्षमताको सौर्य प्रणाली राख्न सकिएमा १० मेगावाट विद्युत् सजिलै उत्पादन हुनसक्ने र यसले यहाँको विद्युतको मागलाई पूरा गर्न सकिने उहाँले दाबी गर्नुभयो । अन्तर्राष्ट्रियस्तरमा सोलार पाताको मूल्यमा आएको भारी ह्रास र विद्युत्को बढ्दो लागतलाई हेर्दा सोलारको एक युनिट विद्युत्को महसुल ६ रुपैयाँ ८० पैसा पर्न आउने तर नेपाल विद्युत प्राधिकरणको विद्युतको प्रतियुनिट महसुल कम्तीमा सात रुपैयाँ २५ पैसा रहेको पनि श्रेष्ठले बताउनुभयो । सौर्य प्रणालीमा पाताको आयु २५ वर्षभन्दा बढी हुन्छ । तीन–तीन वर्षमा ब्याट्री परिवर्तन गर्न लाग्ने खर्चलाई समेत जोड्दा पनि प्रतियुनिट १२ रुपैयाँ ५० पैसा हुन आउँछ । अबको २५ वर्षमा प्राधिकरणको महसुललाई हेर्ने हो भने रु ३० नाघ्न जाने भएकाले सौर्य विद्युत् तुलनात्मक रूपमा सस्तो र प्रभावकारी रहेको प्रा श्रेष्ठको जिकिर थियो । सौर्य विद्युत्लाई ग्रीडमा जोड्न सकिने अभ्यास सन् २०१३ मार्चमा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको छतमा एक किलोवाट, मीनभवनस्थित प्राधिकरणको छतमा एक÷एक किलोवाटका तीनवटा प्रणाली र ललितपुर इमाडोलस्थित रिच नेपाल नामक संस्थाको भवनको छतमा राखिएको एक किलोवाट क्षमताको सौर्य प्रणालीबाट उत्पादित विद्युत्लाई प्राधिकरणको ग्रीडमा जोडिएको छ । गोष्ठीमा ती प्रणालीहरूको एक वर्षको अनुभवबारे जानकारी गराउँदै डोमेनिको चियान्सेले पुल्चोकमा दैनिक २.४ युनिट, मीनभवनमा ४.४ युनिट र इमाडोलमा ३.७ युनिट विद्युत् ग्रीडमा गएको जानकारी दिनुभयो । उहाँका अनुसार पुल्चोकमा विद्युत्भार कटौती भएको अवस्थामा, मीनभवनमा विद्युत्भार कटौती नभएको अवस्था र इमाडोलमा सौर्य विद्युत्लाई ब्याट्रीमा सञ्चय गरी भिन्दाभिन्दै तथ्याङ्क सङ्कलन गरिएको थियो । विश्वका अन्य धेरै देशहरूमा संस्थागत वा घरेलु सौर्य प्रणालीलाई ग्रीडमा जोड्ने कार्य निकै प्रभावकारी भए पनि नेपालमा यसअघि ललितपुर धोवीघाटमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ६८० किलोवाट क्षमताको सौर्य विद्युत्लाई ग्रीडमा जोडेको छ । ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा डा त्रिरत्न बज्राचार्यले ऊर्जाको सङ्कटबाट मुलुकलाई मुक्त गराउन जलविद्युत्को साथै सौर्य विद्युत्लाई विस्तार गर्नुपर्नेमा जोड दिँदै सौर्य विद्युतबाट घरायसी प्रयोजनका लागि मात्र नभएर औद्योगिक क्षेत्रमा आवश्यक विद्युत आपूर्ति हुनसक्ने धारणा राख्नुभयो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||