युगसम्बाद साप्ताहिक

आर्थिक वृद्धिदर लक्ष्यभन्दा कम
Tuesday, 04.08.2014, 01:45pm (GMT5.5)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७०।०७१ मा ५.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको भए पनि सो लक्ष्य प्राप्त नहुने एसियाली विकास बैंक (एडिबी)ले प्रक्षेपण गरेको छ । एडीबीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा नेपालको आर्थिकवृद्धि ४.५ प्रतिशतमा सीमित रहने अनुमान गरेको हो । पत्रकार सम्मेलनमा बैंकका देशीय निर्देशक केनिची योकोयामाले अनुकूल मनसुनी वर्षा, विप्रेषण आप्रवाहमा हुने वृद्धि र समयमा नै पूर्ण बजेट सार्वजनिक हुने आधारमा त्यस्तो अनुमान गरिएको स्पष्ट गर्नुभयो । 

लामो समयपछि प्रधान न्यायाधीश नेतृत्वको पूर्व प्रशासकको सरकारले पूर्ण बजेट समयमै ल्याएको भए पनि विकास खर्च अहिले पनि २० प्रतिशत पनि पुग्न सकेको छैन । विकास खर्च नहुँदा मूल्यवृद्धि हुनुका साथै आर्थिक वृद्धिदरमा समेत प्रभाव परेको छ । त्यसो त संविधानसभाको निर्वाचनपछि भएको सकारात्मक राजनीतिक विकास र स्पष्ट सरकारी मार्गदर्शनले लगानीकर्ता र व्यवसायीको विश्वास बढाएको हुँदा नेपालको आर्थिक विकासले गतिलिने आशा एडीबीको छ । 

पछिल्लो राजनीतिक विकासक्रमले औद्योगिक गतिविधि र निर्यात वृद्धिको संभावना बढाएको तथा पर्यटनजस्ता सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्दै गएकाले आशावादी हुने पर्याप्त स्थान रहेको उहाँले बताउनुभयो । अनुकूल मनसुन, समयमै बजेट आउने, विप्रेषण आप्रवाहको क्रम सबल रहने, घरजग्गा व्यवसाय पुनः मौलाउने र भारतको राम्रो वृद्धिको प्रभावलाईं आधार मान्दा आर्थिक वर्ष २०७१÷७२ मा आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै नेपाल दक्षिण एसियामै सबैभन्दा बढी महंगी भएको मुलुकमा दरिएको छ । आधारभूत आवश्यकता कुनै पनि वस्तुमा आत्मनिर्भर नरहेको मुलुकमा वार्षिक एक खर्बको हाराहारीको खाद्यान्न मात्र आयात गर्नुपरेको छ । कृषिमा निर्भर ग्रामीण अर्थतन्त्रले फड्को नमार्दासम्म मुलुकको आर्थिक विकासमा तात्विक सुधार आउने अवस्था पटक्कै छैन । यसबीचमा कृषिउपजमा सुधार भए पनि ज्यालाको दबाब, इन्धनको मूल्यवृद्धि हुने गरी गरिने समायोजन, मुद्रा कमजोर हुने अवस्थाको निरन्तरता र भारतमा उच्च मुद्रास्फीति, निरन्तरको ऊर्जा सङ्कट तथा आपूर्ति पक्षका अन्य अवरोधले मूल्यवृद्धि १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । आगामी आवमा मूल्यवृद्धि ८.५ प्रतिशतमा रहने प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको छ ।

चालु आवमा भुक्तानी सन्तुलन सबल रहने, बाह्य मागमा सुधार र मुद्राको मूल्यमा ह्रासका कारण लागत प्रतिस्पर्धाको लाभका आधारमा निर्यात तीन प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आन्तरिक मागमा वृद्धिको बलले आयात १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यसै गरी, व्यापार घाटाको विस्तार भएपनि विप्रेषण आयमा उच्च वृद्धि र पर्यटन क्षेत्रको वृद्धि चालु खाता बचत अघिल्लो आवभन्दा केही सुधारका साथ कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत रहने छ । निर्यातको वृद्धिले थप गति लिने, आयातको मागमा केही सुधार र विप्रेषण आयमा दिगोपनको अनुमान गर्दा चालु आवमा चालु खाता बचत सामन्य रुपमा वृद्धि भई कुल गार्हस्थ्य उत्पादनको ३.७ प्रतिशत रहने अनुमान गरिएको छ । 

सरकारले एकाधिकार र अप्रतिस्पर्धी व्यवहारमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन पक्ष कमजोर रहेको, पूँजीगत खर्च अपेक्षाकृत बढ्न नसकेको, बजारको विचलनलाई सही स्थानमा ल्याउन प्रभावकारी बजार निरीक्षण र अनुगमन सुदृढ हुन नसकेको, मौद्रिक नीति सुनिश्चित गरेर मुद्रास्फीति बढाउने संभावना रोक्नु, मूल्यवृद्धि नियन्त्रणमा वित्तीय नीति र संरचनागत नियन्त्रणलाई एडिबीले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com