युगसम्बाद साप्ताहिक

नेपालको विकासमा सघाउन विश्व समुदय प्रतिबद्ध
Monday, 04.21.2014, 04:08pm (GMT5.5)

काठमाडौं । नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका विश्व बैंक लगायत अन्य विश्व संगठन तथा समुदायहरूले नेपालको विकास अभियानमा अरु सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री डा. रामशरण महतका अनुसार मुलुकको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकासको गति बढाउन विश्व बैंकले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभएको छ । 

संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीमा ‘पानी, सरसफाइ तथा स्वास्थ्यका लागि उचित लगानी’ विषयक उच्चस्तरीय बैठक र मेक्सिकोको राजधानी मेक्सिको सिटीमा यही वैशाख २ र ३ गते सम्पन्न ‘प्रभावकारी विकास सहायताका लागि विश्वव्यापी साझेदारी’ बैठकमा भाग लिएर शनिबार अपराह्न स्वदेश फर्केपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले उक्त जानकारी दिनुभएको हो ।

पहिलोपटक भएको साझेदारी बैठकमा मन्त्री महतले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न अन्तर्राष्ट्रिय वातावरण सबल बनाउने तथा सन् २०१५ पछिको विकास कार्यसूचीलाई ठोस, समावेशी तथा कार्यमुखी बनाउनुपर्ने आवश्यकतामा जोड दिएको बताउनुभयो । दुवै सम्मेलनमा सहभागी संसारका विभिन्न देशका मन्त्री तथा उच्च सरकारी अधिकारीहरूले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका मन्त्री महतले जानकारी दिनुभयो । 

मुलुकमा भर्खरै नयाँ सरकार गठन भएको सन्दर्भमा नेपालको आर्थिक तथा वैदेशिक सहायताको प्राथमिकताका विषयमा दुवै सम्मेलनमा उपस्थित विश्वका विभिन्न देशका अर्थमन्त्री तथा उच्च सरकारी अधिकारीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय सहायता सम्बन्धमा छलफल गरेको मन्त्री महतले उल्लेख गर्नुभयो । 

त्यसै गरी, आफूले विश्व बैंकका प्रबन्ध निर्देशक श्रीमूल्यानी इन्द्रावतीलाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सहायता राशि वृद्धि गर्न अनुरोध गरेको जानकारी दिँदै उहाँले अन्तर्राष्ट्रिय विकास सहायताको १७औँ संस्करणअन्तर्गत सहयोग बढाउन आग्रह गरेको बताउनुभयो । 

जलविद्युत् विकासका लागि विश्व बैंकले रु छ खर्ब लगानी गर्ने र सिँचाइजस्ता पूर्वाधार विकासका परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् प्रसारण लाइन विस्तार लगायत कार्यान्वयनको चरणमा रहेका परियोजनाहरूमा जमिन अधिग्रहण तथा अन्य समस्याहरू समाधानमा ध्यान दिन विश्व बैंकका श्रीमूल्यानीले नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।”

दुवै सम्मेलनमा उपस्थित मन्त्री तथा पदाधिकारीहरूसँग आफूले नेपाल डेढ दशक लामो हिंसात्मक द्वन्द्व र त्यसपछिको सङ्क्रमणकालबाट गुज्रिएर अहिले विकासको काममा अगाडि बढेकाले नेपालको समृद्धि सुनिश्चित गर्न थप सहयोगका निम्ति आग्रह गरेको उहाँले उल्लेख गर्नुभयो । 

जलविद्युत्, सिँचाइ, सडक, पुलपुलेसाजस्ता विकासका पूर्वाधार निर्माण गर्न निजी–सार्वजनिक साझेदारीका साथै गैरसरकारी संस्थासमेत सक्रिय हुनुपर्ने धारणा विश्वव्यापी सहकार्य सम्मेलनमा व्यक्त भएको जानकारी उहाँले दिनुभयो । 

विश्व नेताहरूले आर्थिक वृद्धिदर बढाउन विकासोन्मुख मुलुकहरूले आन्तरिक स्रोत परिचालन गर्नुपर्नेमा पनि जोड दिएका मन्त्री महतको कथन थियो । 

नेपालमा सरसफाइ तथा खानेपानीको क्षेत्रमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै उहाँले आगामी २०१७ सम्ममा सबैका लागि खानेपानी पुर्याउन तथा सरसफाइ सुविधा विस्तारका लागि अन्तर्राष्ट्रिय दातृ समुदायबाट एक अर्ब ९० करोड डलरको सहयोग आवश्यक भएको जानकारी सम्मेलनमा दिनुभएको थियो । 

मेक्सिकोमा भएको उक्त सम्मेलनमा १३० मुलुकका एक हजार ५०० सहभागी रहेका जानकारी दिँदै मन्त्री महतले सन् २०१५ पछिका विकासका विश्वव्यापी विषयलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।

जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन हाल नेपालाई उपलब्ध भएको ३० अर्ब अमेरिकी डलर सन् २०२० सम्ममा एक खर्ब डलरमा वृद्धि गर्नुपर्नेमा आफूले जोड दिएको अर्थमन्त्री महतले बताउनुभयो ।

वासिङटन डिसी र न्युयोर्कमा रहँदा आफूले त्यहाँ बसोवास गर्दै आएका नेपालीसँग छलफल गरेको र उनीहरूले सन् २०१५ भित्रमा यन्त्रले पढ्ने राहदानी (एमआरपी) प्राप्तिमा अत्यन्त कठिनाइ व्यहोर्नुपरेकाले ती समस्या समाधान गर्न अनुरोध गरेका उहाँले बताउनुभयो । 

हाल न्युयोर्कस्थित नेपाली नियोगले ‘कन्सुलर’ सेवा बन्द गरेकाले त्यहाँ उक्त सेवाको वैकल्पिक व्यवस्था गर्न सरकार गम्भीर रहेको जानकारी आफूले उनीहरूलाई गराएको पनि मन्त्री महतले उल्लेख गर्नुभयो । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्रालयका सचिव युवराज भुसाल तथा उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । अर्थमन्त्री महत गत चैत २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com