युगसम्बाद साप्ताहिक

पैसासंगै हिंसा बढ्यो
Monday, 06.02.2014, 03:22pm (GMT5.5)

काठमाडौं । नेपालबाट दैनिक १५ सय युवा श्रम गर्न विदेशिन्छन् भने दैनिक २ जनाभन्दा बढीको सम्बन्धित देशमा मृत्यु हुने गरेको छ । वैदेशिक रोजगारी नेपालको बाध्यता बनेको छ । मुलुकभित्र रोजगारीको सिर्जना हुन नसके पनि वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र धानेको छ । ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकासेको पनि छ तर यससंगै अनेक विकृतिको जन्म हुन थालेको छ । पछिल्लोपटक सार्वजनिक एउटा तथ्यांक अनुसार वैदेशिक रोजगारीले महिला हिंसा बढाएको छ ।

वैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको सङ्ख्या बढ्दै जाने क्रममा महिला हिंसाका घटनामा पनि वृद्धि हुन थालेका छन् । वैदेशिक रोजगारमा जाने पुरुषका कारण महिला हिंसाका घटना बढ्दै जाने गरेको छ । कतिपय महिला घर परिवारबाट र आफ्नो श्रीमान् घर आएपछि हिंसामा पर्ने तथा कतिपय महिलाहरू आफ्नै कारणले परपुरुषसँगको संसर्गका कारणले पनि हिंसामा पर्ने तथा पारिवारिक स्थितिमा कटुता आउने कारणले पनि महिला हिंसाका घटना बढ्न थालेको छ ।

पछिल्लो एक अध्ययनले सुनसरी जिल्लाको सात लाख ६३ हजार ४७७ जनामध्ये ५० हजार २८१ जना वैदेशिक रोजगारका कारण विभिन्न मुलुकमा रहेका देखाएको छ । वैदेशिक रोजगारका सिलसिलमा विदेशिएका कुल जिल्लाको जनसङ्ख्यामध्ये ४३ हजार ३८१ जना पुरुष र छ हजार ८९४ जना महिलाको सङ्ख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले तथ्याङ्क उपलब्ध गराएको छ । 

जिल्लाको समग्र स्वास्थ्य तथा जन्मदर्ता, मृत्युदर्ता र लैङ्गिक हिंसामा न्यूनीकरण गर्नका लागि सक्रिय रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले हिंसामा परेका महिलालाई सुरक्षित रुपमा उपचार सेवासँगै उनीहरूलाई सीपमूलक तालिम प्रदान गरेर स्वरोजगार सिर्जना गर्ने कार्यमा पनि जोड दिन थालेको छ । जनस्वास्थ्य कार्यालयले जनसङ्ख्या सम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा नेपालमा अहिले पनि शहरतिर बसाइँसराइको अधिक चापकै कारणले जनसङ्ख्या व्यवस्थापन हुन नसकेको र राज्यले पनि शहरतिरको जनसङ्ख्या व्यवस्थापनमा चुस्न नीति ल्याई कार्यान्वयन गर्न नसकिरहेकाले समस्या झन थपिँदो क्रममा रहेको बताइएको छ ।

सोही कार्यक्रममा जनसङ्ख्या सम्बन्धी पछिल्लो तथ्याङ्क सार्वजनिक गर्नुहुँदै प्राध्यापक बिमल नेपालले यस जिल्लाबाट जसरी वैदेशिक रोजगारका लागि विदेशिएका छन् त्यसै गरी अन्य मुलुकबाट सुनसरी जिल्लामा आउन विदेशीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको तथ्याङ्क सार्वजनिक गर्नुभएको छ ।

उहाँका अनुसार सुनसरी जिल्लामा छिमेकी मुलुक भारतबाट पाँच हजार ७५२ जना, चीनबाट ४१ जना तथा अन्य मुलुकबाट ८७० जना मानिस यस जिल्लामा आएर बसोबास गरिरहेको पाइएको तथ्याङ्कमा उल्लेख गरिएको छ । विदेशिन र विदेशबाट यस जिल्लामा आएर बसोबास गर्ने जनसङ्ख्या बढी रहेको सन्दर्भमा महिला हिंसाका घटना पनि अस्वभाविक रुपमा बढेको र यो वर्षमात्र त्यस्ता हिंसामा परेका ४० जनाले जनस्वास्थ्य कार्यालयबाट सेवा प्राप्त गरेको बताइएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com