युगसम्बाद साप्ताहिक

धान दिवसमा खेतजति बाँझै
Wednesday, 07.02.2014, 11:43am (GMT5.5)

काठमाडौं । मुलुकका धान रोपाई हुने अधिकांश जिल्लामा पानी नपरेका कारण रोपाई हुन सकेको छैन भने कतिपय स्थानमा धानको बीउ समेत राखिएको छैन । असारको १५ बितिसक्दा पनि खेतमा पानी छैन, न त सिँचाइको राम्रो व्यवस्था छ । पानी अभावले रोपो सुक्ने चिन्ता किसानलाई थपिएको छ । असारको मध्यलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । हरेक वर्षजस्तै असार १५ मा सरकारले धान दिवस मनाइरहँदा किसानका खेत भने बाँझै छन् ।

आकाशे पानीको भरमा खेती गर्नुपर्ने जलस्रोतको धनी मुलुक नेपालका किसानहरू यस्ता दिवसहरूको औपचारिकताभन्दा पनि आकाशतिर हेरेर समय बिताइरहेका छन् । यतिबेला मानो रोपेर मुरी फलाउन कम्मर कसेर लाग्नुपर्ने किसानहरू आकाशतिर हेरेर पानी पर्ने पर्खाइमा छन् । तराईदेखि पहाडसम्म गरिने धान रोपाईका लागि पर्याप्त पानी उपलब्ध गराउन नसकिएका कारण वर्षाको अनुपातमा धान उत्पादन हुने गरेको छ ।

असारको १४ सम्म मुस्किलले नौ प्रतिशत भूभागमा धान रोपाइँ भएको तथ्याङ्क सार्वजनिक भएको छ । गएका वर्षमा असार १५ आइसक्दा २५ देखि ४० प्रतिशतसम्म रोपाइ सकिसकेको हुन्थ्यो ।

बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डिलाराम भण्डारीका अनुसार अझै साता, दश दिनसम्म पानी आएन भने समस्या पर्छ । धानको बिउ सुक्नसक्छ ।

नेपालमा झण्डै १५ लाख हेक्टरमा धान खेती हुँदै आएको छ । अहिलेसम्मको स्थितिमा डेढ लाख हेक्टरमा पनि धान रोपाइँ भइसकेको छैन । मनसुन ढिला सुरु भएकाले धान खेतीलाई प्रभावित पारेको भनाइ राख्दै कृषिविज्ञहरूले तयारी जवाफ दिने गरेका छन् ।

धान दिवस मनाउने परम्पराको निर्वाह भने निकै धुमधामका साथ हुने गरेको छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारी सबै खेतमा पसेर हिलोसंग खेल्ने गर्दछन् । उनीहरूले रोपाइ गरेको फोटो सार्वजनिक हुन्छ तर जनताले धान रोपाई गर्न नपाएको पीडाको अनुभूति भने त्यसरी दिवस मनाउनेहरूसम्म पुगेकै हुँदैन ।

हरेक वर्ष कृषि विकासका लागि भनेर तय गरिने योजना र सिंचाईका अनेक आयोजनाहरूको विकास सुस्त गतिमा भैरहँदा नेपालमा कृषि जीवनको अभिन्न अंग बन्नुको साटो बाध्यता बन्न पुगेको छ । त्यसैले त कृषि छोडेर वैदेशिक रोजगारी रोज्न थालेका छन् युवाहरूले ।

एकातिर समयमा पानी नपर्ने, अर्काेतिर सरकारले सिंचाईको व्यवस्था गर्न नसक्ने भएपछि नेपालको निर्वाह मुखी कृषि परनिर्भर हुँदै जान थालेको छ । यस्तो अवस्थाको अन्त्यका लागि सरकारले दीर्घकालीन, अल्पकालीन र तत्कालीन रणनीति तय गरी कार्यान्वयन गर्नु अत्यावश्यक भैसकेको छ ।

त्यसो त जलवायु परिवर्तनका कारण समयमा पानी परेन भन्दै उम्कने गतिलो मेसो तयार छ । यो निश्चित सत्य हो तर यस्तो अवस्थाको अन्त्यका लागि पर्याप्त सिंचाईको व्यवस्था गर्ने रणनीति भने बन्न सकेको छैन । प्रमुख खाद्यान्न बाली भएकाले धानको उत्पादनसंग मुलुकको अर्थतन्त्रको विशेष सम्बन्ध रहन्छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com