| युगसम्बाद साप्ताहिक | ||||
|
एक वर्षमा पाँच लाख विदेशिए Monday, 08.04.2014, 06:55pm (GMT5.5) काठमाडौं । मुलुकमा रोजगारीको अभावमा नेपाली युवाहरूका लागि रोजगारीको एउटै मात्र आधार वैदेशिक रोजगारी बन्न पुगेको छ । हरेक वर्ष लाखौं युवाहरू विदेशिन्छन् र यो क्रम बढ्दो छ । मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको र अब आर्थिक–सामाजिक परिवर्तन गर्नुपर्छ भन्ने गरिए पनि आर्थिक उपार्जनको भरपर्दो आधार नै मुलुकभित्र तयार हुन सकेको छैन । त्यसैले वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या दिनदिनै बढ्दो छ । नेपालमा वि.सं. ५० को दशकबाट वैदेशिक रोजगारी सुरु भएको हो । यतिबेला अनिवार्य र एकमात्र विकल्प बन्न पुगेको छ । यो बीस वर्षको अवधिमा ३० लाखभन्दा बढी नेपाली विदेशिएका छन् । आर्थिक वर्ष २०५०।५१मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारीमा गएकामा पछिल्लो आव २०७०।०७१ सम्म आइपुग्दा त्यो सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना पुगेको छ । गएको आव २०७० साउन १ देखि २०७१ असार मसान्तसम्म बिदेसिनेमध्ये चार लाख ९८ हजार ४४६ जना पुरुष र २९ हजार ३६८ जना महिला रहेका छन् । आव २०६९।७० मा चार लाख ५३ हजार ५४३ जना वैदेशिक रोजगारीमा गएकामा गएको आवमा ७४ हजार २७१ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका हुन् । गएको आर्थिक वर्षमा सबैभन्दा बढी असार महिनामा ६१ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम भदौ महिनामा २४ हजार १६४ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जानेको तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ४३ हजार ९८४ रहेको छ भने प्रत्येक दिन एक हजार ४४६ नेपाली बिदेसिने गरेका छन् । गत आवमा साउनमा ४५ हजार ९३७ जना र भदौमा २४ हजार २१४ जना, असोज महिनामा ३१ हजार ९५९ जना, कात्तिकमा ३१ हजार ९४९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसै गरी मङ्सिरमा ४१ हजार ६३४ जना, पुसमा ५० हजार ३२ जना, माघमा ३७ हजार २८५ जना, फागुनमा ४८ हजार ५५२ जना, र चैतमा ४५ हजार ८५४ जना, वैशाखमा ५४ हजार १७३, जेठमा ५४ हजार ९२६ र असारमा ६१ हजार ७१७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागका प्रवक्ता कार्की देशमा पर्याप्त रोजगारीको अवसर सिर्जना नहुनु, छिमेकीको देखासिकीले उत्प्रेरित हुनु र गन्तव्य मुलुकबाट रोजगारीको ठूलो सङ्ख्यामा माग हुनुले बिदेसिने सङ्ख्या बढेको बताउनुहुन्छ । वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेल नेपालमा राजनीतिक अस्थिरता बढ्नु र विश्व श्रम बजारमा रोगजारीको अवसर बढ्दै जानु बिदेसिने कारण मान्नुहुन्छ । पछिल्लो समय नेपाली कामदारहरू दक्ष हुँदै गए पनि नेपाली कामदारलाई अदक्ष ठान्ने सरकारी नीतिका कारण दक्ष र प्राविधिक क्षेत्रका कामदारहरू सहज रूपमा वैदेशिक रोजगारीमा जान नपाएको उहाँ बताउनुहुन्छ । वैदेशिक रोजगार विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जानेको सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना भए पनि विभागको स्वीकृत बेगर जाने, पढ्नका लागि भनेर गएर काम गरेर बस्ने र भारतीय भूमि भएर जाने नेपाली कामदारको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको विभागका प्रवक्ता बद्रीकुमार कार्की बताउनुहुन्छ । वैदेशिक रोजगारीका लागि भारत हुँदै बर्सेनि करिब एक लाख नेपाली कामदार जाने अनुमान गरिए पनि उनीहरूको विवरण नेपाल सरकारसँग छैन । विशेष गरी नेपाली महिला कामदारलाई खाडीलगायतका देशमा रोजगारीका लागि कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन् । पछिल्लो दश वर्षको आँकडा अनुसार आव २०६१।६२ मा एक लाख ३९ हजार ७१८, आव २०६२।६३ मा एक लाख ६५ हजार २५२, आव २०६३।६४ मा दुई लाख चार हजार ५३२, आव २०६४।६५ मा दुई लाख ४९ हजार ५१, आव २०६५।६६ मा दुई लाख १९ हजार ९६५, आव २०६६।६७ मा दुई लाख ९४ हजार ९४, आव २०६७।६८ मा तीन लाख ५४ हजार ७१६ जना वैदेशिक रोजगारीमा गएका छन् । आव २०६७।६८ मा तीन लाख ५४ हजार ७१६, आव २०६८।६९ मा तीन लाख ८४ हजार ६६५, आव २०६९।७० मा चार लाख ५३ हजार ५४३, आव २०७०।०७१ मा पाँच लाख २७ हजार ८१४ जना वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो समय विदेशबाट नेपाल फर्किएका गाउँघरमै गाईपालन, कुखुरापालन, बाख्रापालन, तरकारीखेतीलगायत विभिन्न नयाँ प्रविधि निर्माणसमेतको काम गर्न थालेका छन् । जसले विदेशमा सिकेको सीपको स्वदेशमै प्रयोग गर्ने वातावरण र बिदेसिने परम्परालाई केही हदसम्म कम गर्ने आशा गर्न सकिन्छ । प्रवक्ता कार्की नेपालको आर्थिक मेरुदण्डको प्रमुख माध्यम विदेशिएका नेपालीले पठाएको विप्रेषण भएकाले वैदेशिक रोजगारीलाई नियन्त्रण गर्नेभन्दा पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता भएको बताउनुहुन्छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||