| युगसम्बाद साप्ताहिक | ||||
|
सानो माछा बल्छीमा : ठूलो माछो पोखरीमै Wednesday, 08.13.2014, 11:26am (GMT5.5) काठमाडौं । नेपाल भ्रष्टाचार हुने मुलुकहरुको अग्रपंक्तिमा आउँछ । भ्रष्टाचारको आँकडा केही तलमाथि पर्ने गरे पनि नेपालको स्थिति दक्षिण एसियामा अफगानिस्तानभन्दा मात्र राम्रो छ । सुशासनको स्थितिमा नेपाल विश्वका सयभन्दा बढी मुलुकभन्दा पछि छ । नीतिगत र संस्थागत भ्रष्टाचार बढ्दो छ । सुडान काण्ड यसको ज्वलन्त उदाहरण हो । यस्तोमा भ्रष्टाचार निवारण गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनसन्धान आयोगको सक्रियता बढेको देखिन्छ । अख्तियारको पछिल्लो सक्रियताले मुलुकमा भ्रष्टाचार नभएको क्षेत्र कुन रहेछ भन्ने सोच्न बाध्य पारेको छ । तर पनि अख्तियारको सक्रियता र भ्रष्टाचारीहरुमाथि गरिएको मुद्दा दायरले मुलुकमा सुशासन कायम हुन्छ भन्न सकिने स्थिति छैन । अहिले त केवल साना माछाहरु मात्र बल्छीमा परेका हुन् । यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरेक दिन भ्रष्टाचारका मुद्दा दायर गर्ने र हरेक दिन भ्रष्टहरुलाई हिरासतमा लिएको समाचारहरु आउँछन् । दिनको एक दर्जनका हाराहारीमा भ्रष्टाचारका मुद्दाहरुमा अख्तियार प्रवेश गर्दा पनि भ्रष्टाचारका कथा समाप्त हुँदैनन् । मुलुकमा भ्रष्टाचारले कति जरा गाडेको रहेछ भन्ने यसैबाट पुष्टि हुन्छ । अख्तियारको यो सक्रियता ऐतिहासिक मानिएको छ तर उसको पञ्जा वास्तविक भ्रष्टाचारमा पुग्न नसकेको र उजुरी परेका ठूला भ्रष्टाचारका काण्डहरुमा अनुसन्धान भैरहेको भन्दै समय व्यतित गरिरहेको आरोप पनि लाग्ने गरेको छ । वास्तविकता पनि त्यस्तै देखिन्छ– अख्तियारले अहिलेसम्म कर्मचारी र सामान्य भ्रष्टाचारमा मात्र हात हालेको छ । उच्च तह र नीतिगत रुपमा भएका भ्रष्टाचारमाथि हात हाल्नै सकेको छैन । अर्बौं अर्ब रुपैयाँका भ्रष्टाचारका मुद्दाहरु थाती नै रहेका छन् । यसबीचमा माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारको कुरा बेलाबेलामा अख्तियार प्रमुख लोकमानसिं कार्कीले उठाउने गरे पनि यो वास्तविकता हो कि जनता भुलाउने मेसो मात्र भन्नेमा शंका गर्नुपर्ने ठाउँ बाँकी नै छ । त्यस्तै सुडान घोटाला काण्डका मुख्य मतियारहरु भनिएकाहरुमाथि अनुसन्धान समेत हुन सकेको छैन । नेपाल प्रहरीका सदस्यहरुको गाँस कटाएर जम्मा भएको कल्याणकारी कोषको रकमबाट खरीद गरिएको एपीसी लगायतका बन्दोबस्तीका सामग्रीमा ठूलो रकम भ्रष्टाचार भएको थियो । संसदीय समितिले सुडान नै पुगेर छानबिन प्रतिवेदन बुझायो । थप अनुसन्धान गर्न अख्तियारलाई दियो तर त्यतिबेला अख्तियार कर्मचारीको भरमा थियो । अख्तियारले नेपाल प्रहरीका अधिकारीहरु, ठेकेदार र सामान निर्यातकलाई मात्र मुद्दा चलायो । उनीहरु सबै धरौटीमा छुटिसकेका छन् । सुडान घोटालामा मुछिएकाहरुले आफूले त आदेशको पालना मात्र गरेको बताइरहे पनि थप अनुसन्धान भएन । यतिबेला अख्तियारले नेतृत्व पाएको छ र सुडान घोटालाको पुनः छानबिन होला भन्ने आम अपेक्षा कायमै छ । राजनीतिक तहको संलग्नाबिना ३२ करोड रुपैयाँ बराबरको रकम भ्रष्टाचार हुनै सक्दैन भन्ने धेरैको तर्क छ र यसलाई नजरअन्दाज गर्न सकिने स्थिति छैन । तर अख्तियारले भित्रभित्रै अनुसन्धान गरिरहेको भए कुन्नि नत्र यो विषय त्यत्तिकै सेलाउने छ । भ्रष्टाचारका ठूलठूला काण्डहरुलाई छोपछाप पारिरहने र सानातिनालाई मात्र कारवाही गरिरहने हो भने यसले मुलकले चाहेको सुशासन कायम हुँदैन । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||