| युगसम्बाद साप्ताहिक | ||||
|
दुई वर्षभित्र मेलम्ची आयोजना सम्पन्न हुने दावी Wednesday, 08.20.2014, 01:00pm (GMT5.5) काठमाडौं । राजधानी उपत्यकाबासीको तिर्खा मेट्ने सपना बन्दैआएको मेलम्ची खानेपानी आयोजनाको मुख्य काम सुरुङ मार्ग निर्माणमा ढिलाई भरहेको र निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्ने आशंका व्यक्त भैरहेका बेला सो आयोजनाको प्रमुख लगानीकर्ता एसियाली विकास बैंकका उपाध्यक्ष वेनकाइ झाङले मेलम्चीको काम अबको दुई वर्षमा सम्पन्न हुने बताउनुभएको छ । नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त आयोजना निर्माणमा विलम्ब भएको स्वीकार गर्दै सन् २०१६ को मध्यसम्ममा त्यसलाई जसरी पनि सम्पन्न गरिने दृढता व्यक्त गर्नुभयो । ‘मेलम्ची बैंकको प्रमुख आयोजना भएकाले यसलाई सम्पन्न गर्न हामी लागिपरेका छौ,’– आयोजनाको सर्वाधिक कठिन पक्ष सुरुङमार्ग निर्माणको काम सुरु भएकाले निर्धारित समयमा आयोजना पूरा हुनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले भन्नुभयो । नेपाल सरकारका सम्बन्धित निकायहरूसँग निकट सम्पर्कमा रहेर आयोजनासम्बन्धी सबै कामलाई द्रुत गतिमा अघि बढाइएको उहाँको कथन थियो । नेपाल सरकारले अनुदान सहायता कटौति नगर्न गरेको अनुरोधप्रति आफू सकारात्मक रहेको र नेपालको उक्त अनुरोध बैंकको मुख्य कार्यालयका उच्चअधिकारीसमक्ष प्रस्तुत गर्ने जानकारी पनि उहाँले दिनुभयो । नेपालले ऋण जोखिम व्यवस्थापनमा उल्लेख्य प्रगति गरेकाले बैंकले अनुदानको सट्टा ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको स्पष्ट पार्दै उहाँले नेपालको सङ्क्रमणकालीन अवस्थालाई दृष्टिगत गरी उक्त निर्णयमा पुनर्विचार गर्न सकिने स्थान रहेको बताउनुभयो । नेपालको सामाजिक–आर्थिक विकासलाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको दोहोर्याउँदै उपाध्यक्ष वेनकाइले जलविद्युत् विकास, उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा नेपाललाई सघाउन बैंक तत्पर रहेको उल्लेख गर्नुभयो । नेपालको विकासका साझेदारहरूसँग मिलेर यहाँको आर्थिक वृद्धिदर बढाउने परियोजनामा सहयोग गर्न बैंक तयार छ, उहाँले भन्नुभयो– सडकलगायत सम्पर्क विस्तार गरी बन्द व्यापार र व्यवसाय प्रवद्र्धन हुने आयोजना नेपालका निमित बैंकका प्राथमिकता हुन् । गरिबी घटाउने तथा उच्च एवम् समावेशी वृद्धि हासिल गर्न पूँजीगत लगानी अपरिहार्य भएको बताउँदै उहाँले आगामी पाँच वर्षका लागि एसियाली विकास कोषबाट नेपाललाई सहुलियतपूर्ण ऋणस्वरूप एक अर्ब ५० करोड अमेरिकी डलर उपलब्ध गराइने जानकारी दिनुभयो । उक्त रकम नेपालको आर्थिक क्षेत्र सुधार, ऊर्जा, यातायात, सहरी सेवा, सिँचाइ, मानव संशाधन विकास र कृषिको रूपान्तरणजस्ता विकासका संवाहक क्षेत्रका निम्ति उपलब्ध गराइएको स्पष्ट गर्दै उपाध्यक्ष वेनकाइले क्षेत्रीय सडक सञ्जाल विस्तार, द्रुत गतिमा आर्थिक वृद्धि हासिल गरिरहेका चीन र भारतका बजारमा पहुँच वृद्धिलाई बैंकले जोड दिएको बताउनुभयो । उहाँले नेपालको पूर्वाधारको कमीलाई तत्काल सम्बोधन गर्न तथा त्यसमा निजी क्षेत्रको सहभागितासहित लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै आयोजना व्यवस्थापन सुदृढीकरण, संस्थागत सुधार एवम् क्षमता अभिवृद्धिमा लाग्नु पर्ने सुझाव दिनुभयो । आफूले उपप्रधानमन्त्री सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री डा रामशरण महत, सहरी विकास मन्त्री डा नारायण खड्का, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडा, मुख्यसचिव लीलामणि पौड्याललगायत अन्य वरिष्ठ सरकारी अधिकारीलाई बेग्लाबेग्लै भेटेर पूर्वाधार निर्माणमा जोड दिएको र त्यसमा बैंकले सक्दो सहयोग गर्ने जानकारी दिएको बताउनुभयो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||