युगसम्बाद साप्ताहिक

जलविद्युतमा अमेरिकी चासो ः नेपालको हितमा कति ?
Monday, 09.26.2011, 02:30pm (GMT5.5)

नेपालको जलविद्युतमा विदेशी लगानीकर्ताहरूको आकर्षण बढ्न थालेको छ । पछिल्लोपटक चीनको एक्जिम बैंकले पश्चिम सेतीका लागि एक खर्ब १० अर्ब बराबरको ऋण लगानी गर्न सहमत भएको समाचार सार्वजनिक भएलगत्तै नेपालको जलविद्युत क्षेत्रमा अमेरिकीहरूले लगानी गर्न चासो देखाएको समाचार छ । तर त्यो चासो नेपालको विद्युत संकटलाई हल गर्नेतिर नभै भारतको संकट टार्ने गरी व्यक्त भएको छ । केही दिन पहिले नेपालमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ वासिङ्टन पुगेको नेपाली उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमण्डलसंग भएको दुई दिने बैठकमा अमेरिकी लगानीकर्ताहरूले नेपालको जलविद्युतमा लगानी गर्ने चाहना व्यक्त गरेका थिए । उनीहरूले भारतको आर्थिक उन्नतिलाई अझ मजबुत बनाएर बढीभन्दा बढी फाइदा लिनका लागि नेपालको जलविद्युतमा लगानी गर्नैपर्ने धारणा अघिसारेका थिए । अमेरिकी लगानीकर्ताहरूले भारतमा बढिरहेको अमेरिकी लगानीको प्रतिफल दीगो बनाउन पनि नेपालमा जलविद्युत विकास आवश्यक छ किनभने भारत चरम ऊर्जा संकटबाट गुज्रिरहेको छ भन्ने धारणा राखेका थिए ।
अमेरिकी लगानीकर्ताहरूले नेपालको ऊर्जा संकट टार्ने उद्देश्यका साथ नभै भारतको ऊर्जा संकट टार्ने हिसाबले नेपालको जलविद्युतमा लगानी गर्न उत्सुक देखिएका हुन् । विश्व अर्थतन्त्रमा उदाउँदो शक्तिको रुपमा अघि बढिरहेको भारतमा ठूलो मात्रामा अमेरिकीहरूको लगानी छ र सो लगानी सुरक्षित गर्नका लागि भारतको ऊर्जा संकट टर्नुपर्छ । भारतको यही संकट टार्ने र आफ्नो लगानी सुरक्षित गर्न मात्र अमेरिकीहरूले नेपालको जलविद्युतमा लगानी गर्न चासो देखाएका हुने भने नेपालले वाञ्छित परिमाणमा लाभ उठाउन मुस्किलै पर्छ ।
वासिङ्टन पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र अमेरिकी लगानीकर्ताहरूको बैठकमा “उर्जा अभाव झेलिरहेको भारतीय बजार लक्षित गरेर अमेरिकीहरू नेपालमा लगानी गर्न तयार रहेको” धारणा राखिएको थियो । अमेरिकी लगानीकर्ताहरू नेपालमै पनि उर्जा अभाव भएकाले बजारको समस्या नरहेकोमा सहमत भए पनि उनीहरूको उद्देश्य प्रचूर मात्रामा जलविद्युत उत्पादन गरेर भारत बेच्ने र भारतमा बढिरहेको अमेरिकी लगानी पनि सुरक्षित पार्ने रहेको देखिन्छ ।
नेपालको जलस्रोतको विकासको नाममा विदेशीलाई नदी सुम्पेर भारतको विद्युत संकट टार्ने गरी भित्रिने लगानीले नेपाललाई नाम मात्रको फाइदा हुने र विदेशीले नै बढी लाभ उठाउने हो भने हात्ती आयो हात्ती आयो फुस्सा हुने छ । आन्तरिक लगानी प्रबद्र्धन गरेर आफ्नो आवश्यकता पूरा गर्ने आयोजनाहरू आफैंले बनाउनुलाई पहिलो प्राथमिकतामा राखेर विदेशी लगानी भित्र्याउने सोच बनाउनु मुलुकका लागि श्रेयस्कर छ । नेपालको बिजुली विदेश निर्यात गरी समृद्धिको ढोका खोल्ने नारा विदेशीलाई पोषण दिने मेसो मात्र हो । नेपालकै लागि चाहिने विद्युत उत्पादन हुन नसकिरहेको बेला भारत निर्यात गर्ने गरी जलविद्युतमा लगानी गर्ने चासो अमेरिकीहरूले देखाउनु र त्यसमा खुसी हुनुको कुनै अर्थ छैन । आन्तरिक माग पूर्तिका लागि दह्रो गृहकार्य गरेर नीति बनाउने र आन्तरिक खपतलाई नै प्राथमिकता दिने हो भने मात्र जलविद्युतमा वैदेशिक लगानीको अर्थ रहन्छ । विदेशीकै स्वार्थमा अमेरिकीहरूले देखाएको चासो राष्ट्रिय स्वार्थ अनुकूल उपयोग गर्नसके मात्र नेपालको जलविद्युत विकासको गतिले नयाँ फड्को मार्नेछ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com