युगसम्बाद साप्ताहिक

दशैंको रौनक : ठूलादेखि फुटपाथसम्म भ्याइनभ्याई
Tuesday, 09.30.2014, 11:12am (GMT5.5)

काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैं घरघरमा भित्रिसकेको छ । देश–विदेशबाट आआफ्ना घर फर्कनेहरूको भीडभाड एयरपोर्टदेखि बसपार्कहरूसम्मै छ । व्यवसायीहरूलाई भ्याइनभ्याइ छ । राम्रो लगाउने, मीठो खाने, आफन्तसंग भेटघाट गर्ने महान पर्व दशैंमा जो कोही मन खोलेर खर्च गर्न तयार हुन्छन् । हुनेले मात्र हैन नहुनेले पनि ऋण गरेरै दशैंमा खर्च गर्ने गर्दछन् । यसले गर्दा दशैंमा व्यापारीहरूको आम्दानी दोब्बर हुन्छ । कर्मचारीहरूले पनि दशैंमा बोनस रकम पाउँछन् । उनीहरू पनि दोब्बर रकम पात पार्छन् ।

यस्तोमा लत्ता कपडादेखि सुनचाँदी, सवारी साधन तथा विद्युतीय उपकरणहरूको विक्री पनि दोब्बरभन्दा बढी हुन्छ । ठूलठूला मलदेखि फुटपाथका व्यापारीसम्मलाई सामान बेच्ने फुर्सद हुँदैन । साँच्चैको दशैं त  व्यापारीहरूलाई लाग्दछ ।यतिबेला राजधानी उपत्यका खरीद–विक्रीको चटारोमा छ । बजारमा मालसामान किन्नेको घुइँचो लाग्नासाथ आम्दानी दोब्बर बढेको व्यापारीहरू बताउँछन् ।

करिब सात वर्षदेखि ललितपुरको मङ्गलबजारमा कपडा पसल गर्दै आउनुभएका रमेश कार्कीले दशैं लागेसँगै आफ्नो आम्दानीमा धेरै वृद्धि भएको बताउनुभयो । उहाँको दशैं अगाडि दैनिक रु १०–१५ हजार हुने व्यापार अहिले बढेर दैनिक रु ५० देखि ८० हजारसम्म हुने गरेको र त्यसबाट नाफा रु १५ देखि २० हजार बस्ने गरेको छ । 

त्यस्तै लामो समयदेखि सोही स्थानमा जुत्ता पसल गर्दै आउनुभएकी विमला शर्मा भन्नुहुन्छ– “दशैं नजिकिँदै गर्दा ग्राहकलाई सम्हाल्न समस्या परेको छ, दैनिक ५०÷६० ग्राहक सामान किन्न आउने गरेका छन्, कम्तीमा पनि दुई तीन मानिस सामान दिनका लागि तयार रहनुपर्छ ।” उहाँको दैनिक रु ३०÷४० हजारको जुत्ता दैनिक बिक्री हुने गरेको छ । 

ग्राहकका अनुसार यस वर्ष केही सामानको मूल्यमा बढेको छ । कपडा पसलमा आउनुभएकी जानुका ज्ञवालीका अनुसार यस वर्ष बाढीपहिराले गर्दा चीनबाट कपडा ल्याउन समस्या परेको भएर सामानको मूल्यमा वृद्धि भएको होला –उहाँ भन्नुहुन्छ । चाडपर्वको चहलपहल अत्यन्तै बढेको छ । कामकाजी र कार्यालय आउने जाने मानिसलाई समेत मानिसको भिडले निकै कठिन भएको छ  । व्यापारीका अनुसार सामान किन्नेको चहलपहल फूलपातीसम्म रहने छ । 

दशैंका बेला व्यापारीहरूले उपभोक्तालाई छुटका नाममा कमसल र मिति सकिएका सामान पनि विक्री गर्ने गर्दछन् । वर्षभरि विक्री नभएका सामान पनि दशैंकै बेला विक्री हुन्छ । यसले गर्दा दशैंका बेला उपभोक्ता ठगिने सम्भावना पनि उत्तिकै छ ।

चावहिलमा ‘सेल’मा राखिएको सस्तो मूल्यमा हेर्दा आकर्षक देखिने जुत्ता किनेका एक उपभोक्ता साइज नै फरक परेको भन्दै पसलेसंग साट्न आग्रह गर्दैथिए । उनले लगेको जुत्ताको जोडी नभेटिएपछि पैसा फिर्ता माग्न अनुरोध गरिरहेका उनीलाई पसले भने सामान नै लान दबाब दिइरहेका थिए ।

त्यस्तै मासुको अत्यधिक खपत हुने दशैंमा मासुको मूल्य पनि ह्वात्तै बढ्ने गरेको छ । यस वर्ष दशैंमा खसीको मासु प्रतिकिलो उक हजारसम्म पुग्ने व्यापारीहरूले बताइसकेका छन् ।

चाड पर्वका बेला उपत्यकाको बजार अराजक बन्ने गरेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । सरकारले अनुगमन गर्ने गरेका बताए पनि जनशक्तिको अभावमा त्यो प्रभावकारी हुन सकेको छैन । ठूलादेखि फुटपाथे व्यापारीसम्मले उपभोक्ता ठग्ने मेसोका रुपमा चाड पर्वलाई लिने गरेका छन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com