| युगसम्बाद साप्ताहिक | ||||
|
एनआरएनले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनु पर्छ Wednesday, 10.15.2014, 01:33pm (GMT5.5) काठमाडौं । मुलुकको अर्थतन्त्र विदेशमा श्रम गरिरहेका नेपालीहरूले धानिरहेका छन् । त्यस्तै ठूलो संख्याका नेपालीहरू विदेशमा प्रतिष्ठित उद्यमी–व्यवसायी बनेर धन आर्जन गरिरहेका छन् । तर, मुलुकमा सोचेजस्तो लगानी भित्रिन सकेको छैन । यस्तोमा प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ । राजधानीमा निर्माण गर्न लागिएको ‘शेराटन काठमाडौँ होटल’ को शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री कोइरालाले “गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले शेराटन होटलमा गरेको लगानीले अन्तर्राष्ट्रिय लगानीकर्तालाई ठूलो उत्प्रेरणा गरेको छ, यसलाई उदाहरण मानेर अरूले पनि लगानी भित्र्याउनुस् ।” प्रधानमन्त्री कोइरालाले नेपालमा ६० वर्षदेखि अवरुद्ध विकासलाई गैरआवासीय नेपालीको ठूलो लगानीले ढोका खोलिदिएको भन्दै यसले ऊर्जा, कृषिलगायतमा लगानी गर्न सबैलाई बाटो खुलेको बताउनुभयो । कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले नेपालमा यस किसिमको ठूलो लगानीले पर्यटन र अर्थतन्त्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । शेराटन होटलका अध्यक्ष शेष घलेले काठमाडौँमा पाँचतारे होटल सञ्चालन गर्ने पाँच वर्षको प्रयासपछि सफल भएको भन्दै यसले नेपालको अर्थतन्त्र र पर्यटन पूर्वाधार खडा हुनुका साथै मुलुकको सबैभन्दा बढी सम्भावना बोकेको पर्यटन उद्योगको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमा राजनीतिक अस्थिरता र सुरक्षित वातावरण नरहेको अवस्थामा आफ्नो मात्रृभूमिमा विकास गर्ने लक्ष्यका साथ जोखिम मोलेर ठूलो लगानीको परियोजना सुरु गरेको भन्दै उहाँले लगानीमैत्री वातावरणका लागि नेपालको राजनीतिक नेतृत्व र प्रशासनिक निकाय अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । शनिबार नै प्रधानमन्त्री सुशील कोइरालाले मुलुक र जननीप्रति आफ्नो पनि जिम्मेवारी भएको महसुस गर्दै लगानीका लागि गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली दिवस (अक्टोबर २१)को अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले खुला मनले लगानी गर्न आग्रह गर्नुभएको हो । मुलुकलाई सधैँ गरिबी र अभावमा राख्न नहुनेमा जोड दिँदै उहाँले आर्थिक समृद्धिबिनाको राजनीतिसमेत स्थिर हुन नसक्ने भएकाले विदेशमा सिकेको सीप र योग्यतालाई राष्ट्र हितमा प्रयोग गर्न सुझाव दिनुभयो । एकपटकको नेपाली सधैँको नेपाली भएकाले आफू नेपाली होइन कि राज्यले कुनै पनि सहयोग गर्दैन कि भन्ने हीन भावना नराख्न अनुरोध गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘‘ मुलुकको राजनीतिक क्रमशः सफलताको दिशातर्फ केन्द्रित भएको छ, तोकिएकै समयमा संविधान पनि जारी हुन्छ । संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्छ ।’’ रोजगारीको खोजीमा विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी प्रदान गर्न सरकार एक्लैले केही पनि गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग जरुरी रहेको उहाँको कथन थियो । शान्ति, विकास र लोकतन्त्रको युग मुलुकमा सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले सबैको समान सहयोग भएमात्र केही वर्षभित्रै राष्ट्रमा देख्न र अनुभव गर्न सकिने परिवर्तन हुने बताउनुभयो । सो अवसरमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र आर्थिक उन्नतिको दिशामा सबै राजनीतिक दलको समान धारणा भएकाले लगानीको वातावरण छैन कि भनेर हिच्किचाउन नहुने बताउनुभयो । दुई अङ्कको आर्थिक वृद्धि नहुँदासम्म मुलुकमा जारी बेरोजगारी, अशिक्षा, गरिबी न्यून हुन नसक्ने बताउँदै उहाँले आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने र आर्थिक समृद्धिको बाटोमा सबै राजनीतिक दल लाग्ने विश्वास दिलाउनुभयो । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले विदेशमा रहेका गैरआवासीय नेपाली नागरिक मुलुकको अवैतनिक राजदूत भएको भावना राखेर काम गर्न आग्रह गर्नुभयो । हाल नेपालले १३८ मुलुकसँग कुटनीतिक सम्बन्ध राखेको भएपनि नेपाली दूतावास केवल ३२ मुलुकमा मात्रै रहेको जानकारी दिँदै मन्त्री पाण्डेले बाँकी अन्य मुलुकका रहेका गैरआवासीय नेपाली नै नेपालको सच्चा प्रतिनिधि भएको बताउनुभयो । वैदेशिक लगानी भित्र्याउन दिलोज्यानले लाग्नसमेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालको माया गर्ने र नेपालीको हित चिताउने जो कोहीलाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । सरकार गैरआवासीय नेपालीलाई विशेष नागरिकता दिने पक्षमा रहेको उहाँको कथन थियो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्षहरू उपेन्द्र महतो र जीवा लामिछाने एवम् संरक्षक रामप्रताप थापालगायतले मुलुकप्रति इमान्दार भएर लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको थियो । हाल विश्वका करिब ७० मुलुकमा करिब ४० लाख नेपाली रहेको सो अवसरमा जानकारी दिइएको थियो । आठ अर्बको लगानीमा पाँचतारे होटल बन्दै काठमाडौं । गैरआवासीइ नेपाली संघका अध्यक्ष शेष घले प्रमुख कार्यकारी अधिकृत रहेको एमआइटी ग्रुप होल्डिङसको लगानीमा काठमाडौँमा पाँचतारे ‘शेराटन काठमाडौँ होटल’ निर्माण गर्न लागिएको छ । कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा रु आठ अर्बको लगानीमा निर्माण गर्न लागिएको १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम रहने छ । होटलमा सतप्रतिशत वैदेशिक (अष्ट्रेलियन) लगानी रहने छ । होटलको प्रवद्र्धक अष्ट्रेलियाको एमआइटी ग्रुप होल्डिङस रहेको छ भने व्यवस्थापन तथा सञ्चालन सिङ्गापुरको स्टारबुड ग्रुपले गर्नेछ । होटल शेराटनमा २१८ वटा गेष्टरुम र सुइट रहने छन्, होटल निर्माणका क्रममा करिब ५० हजारले प्रत्यक्ष रोजगारी पाउने र होटल सञ्चालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने कम्पनीले जनाएको छ । होटलको नक्सा पास भइसकेको र शिलान्यासलगत्तै निमार्ण कार्य सुरु गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल सञ्चालन गर्ने लक्ष्य रहेकोे छ । अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि हो भन्दै यसले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा ठूला परियोजना सुरु गर्न प्रोत्साहन मिल्नुका साथै शेराटनजस्तै अन्तर्राष्ट्रिय चेन होटललाई नेपाल आउन हौसला मिल्नेछ, एमआइटी ग्रुप होल्डिङस नेपाल प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र जमुन गुरुङद्वारा प्रवद्र्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको एमआइटी ग्रुप होल्डिङले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||