युगसम्बाद साप्ताहिक

जलवायु सम्मेलनमा पीडितको नाराबाजी
Tuesday, 11.04.2014, 08:16am (GMT5.5)

काठमाडौं । जलवायु परिवर्तनले सर्वाधिक असर पार्ने मुलुकमध्ये शीर्ष स्थानमा रहेको नेपालको हिमाली क्षेत्र अरु बढी प्रभावित हुने गरेको छ । यसले गर्दा हिमाल जोगाउने चुनौति बढिरहेको छ । जलवायु परिवर्तनको प्रभावबाट विश्वका ध्यान खिच्न कहिले सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक गर्ने त कहिले के गर्ने क्रममा यसपटक मुगुको रारातालमा बिहिबारदेखि दुईदिने जलवायु सम्मेलन सुरु भएको छ । यो सम्मेलन सुरुवातमै मुगुका असिना पीडितहरूले क्षतिपूर्तिको माग गर्दै नारावाजी गरे ।

जलवायु परिवर्तनको प्रभावका विषयमा मुलुकमा जति गोष्ठी, सेमिनार भए पनि पीडितहरूले क्षतिपूर्ति पाउन सकिरहेका छैनन् । बेमौसममा आँधी, हुरी, असिना जस्ता प्रकोपले गर्दा खेतीबालीमा क्षति पुगिरहेको छ र मुगुमा भएको पनि त्यही हो । त्यसैले मुगुबासी क्षतिपूर्तिको माग गर्दै जलवायु सम्मेलनको सुरुवातमा नारावाजी गर्न पुगे । ब्यानर र हातहातमा फोस्रा बालासहितको धानको नल बोकेर आएका झण्डै डेढसय किसानले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । कार्तिक ८ गते परेको असिनापानीले जिल्लाका १२ गाविसमा अन्नाली सखाप पारेपछि त्यसको क्षतिपूर्ति माग्न झण्डै दुई दिनको बाटो हिंडेर उनीहरू समेलनस्थल आएका थिए । 

मुगुको रारा ताल किनारमा बिहिबारेदेखि सुरु भएको राष्ट्रिय जलवायु सम्मेलन नौबुँदे रारा घोषणा पत्र जारी गर्दै शुक्रबार सम्पन्न भयो । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय र किर्डाक नेपालको आयोजनामा भएको सो सम्मेलनमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्रबाट करिब २०० सहभागी थिए । घोषणा पत्रमा रारा जलवायु सम्मेलनले विश्वका ठूला अर्थतन्त्र भएका औद्योगिक शक्ति राष्ट्रका कारण नेपाल जस्तो अल्पविकसित मुलुकले अनावश्यक रुपमा जलवायु परिवर्तनका कारण दुःख व्यहोरिरहेकाले यसको रोकथाम र न्यूनीकरणका विभिन्न चरणमा बहस तथा पैरवी गरिने उल्लेख छ ।

नेपालका नागरिक समाजले सरकारी तथा गैरसरकारी संघसंस्था, यस सम्बद्ध व्यक्ति र निकायसँग समन्वय गरी नेपालमा बहस सुरु गरे जस्तै एसिया क्षेत्रमा समेत बहस थाल्ने सम्मेलनले तय गरेको छ भने अन्तर्राष्ट्रियस्तरमा नेपाल सहभागी हुने बैठक र संयुक्त राष्ट्र संघमा आयोजना हुने सभामा समेत जलवायु परिवर्तनले नेपालका हिमाली क्षेत्रमा पारेको प्रभावका बारेसमेत प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमाल तथा पर्वतमा हिउँ पग्लिदै गएको भू–क्षय र बाढी पहिरो, अनावृष्टि, अतिवृष्टिले ठूलो धनजनको क्षति हुदा दिन प्रतिदिन गरिबी बढ्दै गएकाले यी क्षेत्रमा हिमालय दिगो पर्यटन रणनीति बनाउनुपर्ने, प्रांगारिक कृषि उत्पादन तथा व्यावसायिक कृषि उत्पादनमा घोषणा पत्रले जोड दिएको छ । जलवायु परिवर्तनका कारण परेको प्रभावबारे जानकारी लिन सक्ने गरी कर्णाली क्षेत्रमा परापूर्वकालदेखि हालसम्म देखिएका परिवर्तनका विभिन्न चरणका सबै सामग्री सङ्कलन गरी कर्णाली क्षेत्रमा नै जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना गर्न समेत जोड दिइएको छ ।

कर्णाली क्षेत्र प्राकृतिक रुपमा पर्यटकीय गन्तव्यको प्रमुख स्थल रहेकाले वातावरण मैत्री प्राकृतिक स्रोतको व्यवस्थापन, स्थानीय संस्कृतिको जगेर्ना हुने गरी रारामा पर्यटन विकास गर्न गुरुयोजना निर्माण गर्नुपर्ने, रारा–सिंजा र दैलेखको दुल्लु, जुम्लाको खलङ्गादेखि बडिमालिका र सुदूरपश्चिमको खप्तड हुँदै डोल्पादेखि हुम्लासम्म पर्यटकीय पदमार्ग जोड्नुपर्ने घोषणापत्रमा जोड दिइएको छ । सम्मेलनमा १६ कार्यपत्र प्रस्तुत गरिएको थियो ।

जलवायु परिवर्तनका कारण नेपालका हिमालय र पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकको जीविकोपार्जनलाई नराम्रोसँग प्रभावित बनाएको र नागरिकको दैनिक जनजीवनसँग जोडिएको कृषि उत्पादनमा ह्रास आएको हुँदा उनीहरूको जीविकोपार्जनमा सुधार, प्राकृतिक तथा जैविक विविधताको संरक्षण, यस्तो क्षेत्रमा बसोवास गर्ने नागरिकलाई जलवायु परिवर्तनसम्बन्धी जानकारी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि घोषणा पत्रले समेटेको छ ।

प्रमुख प्रस्तुतिकर्ता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा पीताम्बर शर्माले जलवायु परिवर्तन र भावी विकासको रणनीतिबारे प्रकाश पार्दै विकसित देशले उत्पादन गर्ने हरित ग्याँसले कमविकसित देशमा प्रभाव पारेको उल्लेख गदै नेपालमा आगामी दिनमा बन्ने विकास योजनासम्बन्धी रणनीतिमा जलवायु परिवर्तनले सङ्कटग्रस्त समुदायको जीवन रक्षा सम्बन्धित विषयवस्तु समेट्नमा सम्मेलनले जारी गरेका एजेण्डा कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

प्रा डा शर्माका अनुसार जलवायु परिवर्तनले हिमाली भू–भागमा हिउँ पर्नुपर्नेमा पानी पर्न लागेको, रैथाने अन्नबालीको उत्पादनमा कमी आएको, प्राकृतिक प्रकोपमा वृद्धि भएको र हिमालमा चिसो कम हुदै गर्मी बढ्दै गएको उल्लेख गर्नु भयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com