| युगसम्बाद साप्ताहिक | ||||
|
बजारभरि विदेशी स्याउ डोल्पाको स्याउ बोटमै कुहिने Tuesday, 11.11.2014, 12:48pm (GMT5.5) काठमाडौं । मुलुकलाई खाद्यान्न, तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन सकिने प्रशस्त सम्भावना र आधार छन् तर तिनको सदुपयोग हुन नसक्दा, उचित नीति, नियम र व्यवस्था नहुँदा यी वस्तुमा चरम परनिर्भरता छ । नेपालमा उत्पादित खाद्यान्न, फलफूलको बजार व्यवस्थापन नहुँदा एकातिर चीन र भारतबाट आयात भैरहेको छ भने अर्कोतिर किसानको उत्पादन खेतबारीमा कुहिने अवस्था छ । यस्तोमा स्याउ खेतीका लागि उर्वर भूमि मानिने मध्यपश्चिमका पहाडी जिल्लाका किसानहरू मारमा छन् । कर्णाली अञ्चलको डोल्पामा उत्पादित स्याउको ढुवानी नहुँदा बोटमा कुहिने गरेको छ । डोल्पा कर्णाली अञ्चलमै मिठो, रसिलो एवम् धेरै स्याउ उत्पादन हुने जिल्लाका रुपमा लिने गरिन्छ । डोल्पामा स्याउ उत्पादन राम्रो हुने भए तापनि राष्ट्रिय सडक सञ्जालसँग डोल्पाको पहँुच नभएकाले हरेक वर्ष डोल्पामा लाखौँ रुपैयाँ बराबरको स्याउ बोटमै कुहिने गर्दछ । जिल्ला कृषि कार्यालय डोल्पाको तथ्याङ्कअनुसार हरेक वर्ष डोल्पामा रु ४० लाख बराबरको स्याउ उत्पादन गरिने भए तापनि बिक्री वितरणका लागि स्थानीय बजारको अभावले गर्दा जम्मा चारदेखि पाँच लाख बराबरको मात्र स्याउ बिक्री वितरण हुने गर्दछ । स्याउखेतीका लागि डोल्पाका त्रिपुराकोट गाविसको मद्धु, करेलीकाँडा, कोट, रुम, सुँ गाविसको रँँङ्ग, जिँउ, जुफाल गाविसको आरुपानी, डाँङ्गीबाटा, मोतिपुर, दुनै, रह, लिकु, पहाडा, काइगाउँ सहरतारा लगायतका गाविस महत्वपूर्ण मानिन्छन् । यी स्थानमा डोल्पामा लगाइने फापर, कोदो, मकै, धानलगायतका अन्नबाली नलगाएर स्याउको व्यावसायिक रुपमा खेती गरिएको छ । डोल्पामा खेतीयोग्य जमिन भनेको झन्डैझन्डै दुई प्रतिशतमात्र रहेकाले जिल्लामा पटक–पटक खाद्यान्नको अभाव हुने गरे तापनि स्याउ, ओखर, आरु, कागतीलगायतका फलफूलको भने व्यावसायिक उत्पादन गरिने गर्दछ । डोल्पामा स्याउका लागि उपयुक्त वातावरण भएकाले यसबाटै राम्रो आम्दानी गर्न सक्ने भए पनि यातायातको अभाव तथा बजारको अभावले गर्दा डोल्पालीहरू पुरानै परम्परागत खेती गर्न बाध्य भएको जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा सम्पत्ति बुढाले बताउनुभयो । “यदि डोल्पामा यातायातको मात्र पहुँच हुने हो भने डोल्पाली स्याउ र दाँते ओखरलगायतका फलफूल नेपालगन्ज, सुर्खेतलगायतका नजिकैका बजारका लागि बिक्री वितरण गरेर राम्रो आम्दानी गर्न सकिन्थ्यो” उहाँले भन्नुभयो । डोल्पाको त्रिपुराकोट गाविस वडा नं २ गल्लीका ५२ वर्षीय भैरवबहादुर शाहीको बगँैचामा ४० बोट स्याउ लगाएको पाँच वर्ष भयो भने उहाँको बगैँचामा स्याउ फल्न थालेको पनि दुई वर्ष भयो । तर रुखभरि लटरम्म फलेका स्याउ बोटमै कुहिन थालेपछि उहाँ चिन्तित हुनुभएको छ । यातायातको अभावले गर्दा स्याउ स्थानीय बजारसम्म पुर्याउन नसकेर बोटमै कुहिने गरेको उहाँ बताउनु हुन्छ । हरेक वर्ष चारदेखि पाँच लाखसम्मको स्याउ फल्ने भए तापनि केही रुखमै कुहिने र टिपेका स्याउ पनि घरमैै कुहिने गरेको उहाँले बताउनुभयो । भरियालाई स्याउ बोकाएर चार–पाँच घन्टा लगाएर बजारसम्म पुर्याउने हो भने सामानको मूल्यभन्दा भरियाको खर्च धेरै लाग्ने गरेकाले स्थानीय उत्पादनलाई बजारसम्म लान यातायातको आवश्यकता रहेको उहाँले बताउनुभयो । डोल्पामा दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि लिएर एकठाउँबाट अर्को ठाउँसम्म जाँदा पनि थाप्लोमा नाम्लो र पैताला खियाउनुबाहेक अरु विकल्प नरहेको स्थानीयवासी रविप्रसाद न्यौपानेले बताउनुभयो । यातायात भएपछि मात्रै स्याउमात्र नभई दाँते ओखर, कागती, आरुलगायतका फलफूलको उत्पादन हुने प्रचुर सम्भावना हुने र मनग्य आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । जिल्लाभर वार्षिक १० देखि १५ टनसम्म स्याउ उत्पादन हुने भए तापनि डोल्पामा यातायातकै असुविधाका कारण जम्मा उत्पादनको पाँच प्रतिशतमात्र स्याउ बजार पुर्याएर बिक्री वितरण गर्ने गरिन्छ । डोल्पामा स्याउमात्र नभई दाँते ओखर, कागती, आरु तथा विभिन्न तरकारी धेरैमात्रामा उत्पादन हुने गर्दछन् । तर यातायातकै असुविधाका कारण बर्सेनि अधिकांश उत्पादन कुहिएर जाने गर्दछ । त्यस्तै, डोल्पामै सबैभन्दा धेरै स्याउ उत्पादन हुने सँु गाविसस्थित रङ्गका कृषक २२ वर्षीय पूर्ण बुढा पनि स्याउखेतीमा लागेका एक कृषक हुन् । उनले पनि बर्सेनि रु तीन लाख बराबरको स्याउ फलाउने गर्दछन् । यी स्याउ बजारसम्म पुर्याउन यातायात र स्थानीय बजारको अभावले गर्दा अधिकांश बोटमै कुहिने र बाँकी घरमा र आफन्तलाई बाँडेर सक्ने गरेको उहाँको भनाइ छ । व्यावसायिक रुपमा फलफूलखेती गरेर पनि फाइदाको साटो घाटा हुन थालेपछि डोल्पाली कृषक चिन्तित भएका छन् । यातायातको सुविधा नभएकाले फलेको जम्मा स्याउमध्ये आधा स्याउ रुखमै कुहिने र नगन्य मात्रामा भरिया लगाई बजारसम्म पुर्याएर बिक्री वितरण गरिने सँु गाविसस्थित रङ्गका कृषक पूर्ण बुढाले बताउनुभयो । भरियालाई डोकोमा स्याउ बोकाएर बजारसम्म पठाउने र बिक्री गरिएको त्यही पैसाबाट आधाआधा बाँडेर चित्त बुझाउनुपर्ने डोल्पाली स्याउ कृषकको बाध्यता रहेको छ । डोल्पामा बलौटे माटो र परम्परागतखेती प्रणालीले गर्दा अन्नबाली नगन्यमात्रामा उत्पादन हुने गर्दछ तर फलफूल भने धेरै उत्पादन हुने गर्दछ । डोल्पालाई सडक सञ्जालले अहिलेसम्म पनि जोड्न नसकेकाले यहाँ यातायातको पहँुच छैन । यातायातको नाममा डोल्पाको एकमात्र जुफाल विमानस्थल र खच्चडबाहेक अरु उपाय छैन । यस जिल्लामा प्रतिदाना रु पाँच पर्ने स्याउ जिल्ला बाहिरका नेपालगन्ज, सुर्खेतलगायतका बजारमा भने रु ३० सम्म पर्ने गर्दछ । रङ्गमा उत्पादन गरिएको स्याउ केहीमात्रामा जाजरकोटमा लाग्ने विभिन्न मेलाका लागि लिन व्यापारीहरू आउने गरेको स्थानीयवासीले बताएका छन् । यहाँबाट रु पाँचमा लगिएका स्याउ जाजरकोटमा प्रतिदाना रु २५ मा बिक्री गरिने स्थानीयवासीले बताएका छन् । यातायातको पहँुच नभएकाले डोल्पामा उत्पादन गरिएको स्याउ जुफाल र रङ्गमा रहेको दुईवटा रक्सी उद्योगमा प्रतिकेजी रु २० मा उधारो बिक्री गर्ने बाध्यता रहेकोे रङ्गका स्थानीय पूर्ण बुढाले बताउनुहुन्छ । मुस्ताङमा एकै मौसममा ४० करोड कमाइ मुस्ताङीहरूको जीवनमा स्याउले चमत्कारिक परिवर्तन ल्याइदिएको छ । स्याउकै कारण जीवनशैलीमा त परिवर्तन आएको छ नै प्राकृतिक स्रोतको उपयोग र माटोको माया पनि उनीहरूमा वृद्धि हँुदै गएको छ । हिमाली जिल्ला मुस्ताङका कृषक स्याउबाट नै समृद्ध बनेका छन् । स्याउका बोटले पैसा तान्न थालेपछि काठमाडाँै, पोखराजस्ता सहर र विदेश पसेका मुस्ताङीहरू पनि आफ्नै ठाउँमा फर्केर स्याउखेतीमा रमाउन थालेका छन् । मुस्ताङमा स्याउ संस्कृतिको विकास हुँदै गएको छ । यस वर्ष स्याउ बेचेर जिल्लामा रु ४० करोड कृषकले भित्र्याएका छन् । जैविक विविधताको दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण मानिएको हिमाली जिल्लामा प्राकृतिक स्रोतको महत्व र माटोप्रतिको उदात्त भावना पनि घनिभूत रूपमा विकसित हुँदै गइरहेको छ । मुस्ताङका लालबहादुर शेरचन भन्नुहुन्छ, “माटोमा सुन फल्छ भनेर त्यसै भनिएको रहेनछ, हाम्रो माटोमा साच्चिकै सुन फलेको छ ।” गत वर्षकोभन्दा यस वर्ष स्याउ उत्पादनमा २५ प्रतिशतले वृद्धि भएपछि आम्दानी पनि गत वर्षकोभन्दा दोब्बर भएको हो । गत वर्ष करिब रु २१ करोड मूल्यको स्याउ बिक्री भएको थियो । गत वर्ष मुस्ताङमा चार हजार मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष पाँच हजार मेट्रिकटन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीका अनुसार मुस्ताङमा उत्पादित स्याउमध्ये ९० प्रतिशत स्याउ बिक्री भइसकेको छ भने सोही स्याउको बिक्रीबाट मुस्ताङी कृषकले रु ४० करोड आम्दानी गरेका छन् । कृषकले बाँकी रहेको १० प्रतिशत स्याउमध्ये केही स्थानीयस्तरमा बिक्री गर्ने र केही सुकुटी बनाएर आफन्तलाई दिने गर्दछन् । जम्मा १६ वटा गाविस रहेको मुस्ताङ जिल्लाका १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । जिल्लाका छुसाङ, टुकुचे, कागबेनी, मार्फा, मुक्तिनाथ, जोमसोम, घर्मी, झोङ, खुर्साङ र कोबाङलगायतका गाविसमा स्याउ उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । उत्पादित स्याउ पोखरा, बागलुङ, म्याग्दी, पर्वतलगायतका व्यापारी कृषकको बगँैचामा गई बोटबाटै ठेक्कामा खरिद गर्ने गरेका छन् । जिल्लामा ८८३ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील मानिए पनि यस वर्ष कृषकले ३०० हेक्टर क्षेत्रफलमा मात्र स्याउ लगाएका थिए । जिल्लामा स्याउका बिरुवा उमार्नका लागि नौवटा नर्सरी स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||