| युगसम्बाद साप्ताहिक | ||||
|
आपसी टकराव नै लक्ष्य प्राप्तिको चुनौति Tuesday, 11.18.2014, 02:58pm (GMT5.5) काठमाडौं । जे जस्तो अभिप्रायले सार्कको गठन भएको थियो त्यो लक्ष्यको एक छेउसम्म पनि यो संगठन पुग्न सकेको छैन । यसको प्रमुख कारण भनेको सार्कका सदस्य मुलुकबीचको टकराव नै हो । सार्कले आफ्नो वडापत्रमा यस क्षेत्रका जनताको कल्याण गर्ने साथै उनीहरूको जीवनस्तर माथि उठाउने एवम् यस्तै चरित्रका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनसँग सहयोगात्मक सम्बन्ध कायम गर्ने उद्देश्य राखेको छ । जब सार्क गठन भयो यसको स्थापनाकालका वर्षमा होच्याएर ‘गरिबहरूको क्लब’ भनिन्थ्यो । तर अहिले समय र परिवेश फेरिएको छ, सार्कले गर्ने निर्णयदेखि सार्कमा सहभागिता र पर्यवेक्षक हुनका लागि मात्रै पनि विश्वका शक्ति राष्ट्रबीच प्रतिस्पर्धा छ । सार्कले गर्ने निर्णय र यहाँ हुने छलफलका विषयमा सारा विश्वले दृष्टि लगाइरहेको छ । हालसम्म चीन, अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मौरिसस, म्यान्मा, इरानसहित आठ मुलुक र सङ्स्थागत रूपमा युरोपेली सङ्घ गरी नौवटा राष्ट्र सार्कको पर्यवेक्षकका रूपमा रहेका छन् । समय यसरी बदलिए पनि सार्कको लक्ष्यप्राप्ति भने गतिशील छैन । सदस्य राष्ट्रहरूबीच सार्वभौम समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, अर्काको आन्तरिक मामलामा अहस्तक्षेप र पारस्परिक लाभ तथा सदस्य राष्ट्रबीच द्विपक्षीय र बहुपक्षीय सहयोगात्मक सम्बन्धलाई सार्कले आफ्नो सिद्धान्तका रूपमा स्वीकारेको छ । सार्कले यस क्षेत्रको आर्थिक वृद्धि, सामाजिक समृृद्धि तथा सांस्कृतिक विकासलाई अभिवृद्धि गर्ने र सबै व्यक्तिलाई उनीहरूको पूर्ण सामथ्र्यलाई उजागर गर्न सम्मानपूर्वक अवसर प्रदान गर्ने उद्देश्य लिएको छ । वडापत्रले यस क्षेत्रका विकासशील देशसँगको सहयोगलाई दरिलो गर्ने र साझा हितका विषयमा रहेका अन्तर्राष्ट्रिय मञ्चमा आपसमा गर्नुपर्ने सहयोगलाई बलियो पार्नेलगायतका लक्ष्यहरू निर्दिष्ट गरेको छ । सार्क क्षेत्रका दुई आणविक शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानबीचको द्वन्द्व, भारतको छिमेकीप्रतिको हेपाहा दृष्टिकोणले लगभग समान धर्म, संस्कृति, परम्परा र पौराणिक कालसम्मको सभ्यता भएको यो क्षेत्र गरीबहरूको बस्तीमै सीमित छ । भारत विश्वको उदाउँदो आर्थिक र सैन्य शक्ति बन्दैछ तर भारतको गरीबी दक्षिण एसियाका बाँकी मुलुकको जनसंख्याको हाराहारीमा छ । सार्कमा भारतको प्रभावकारी र सहयोगात्मक भूमिकाले अरुलाई मात्र हैन उसलाई पनि लाभ मिल्नेछ । अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको उपस्थिति अरु बलियो हुनेछ । यसका लागि सार्क क्षेत्रको एकमत साथ भारतले लिन सक्नुपर्छ । सार्कका हालसम्म १७औँ शिखर सम्मेलन सम्पन्न भइसकेका छन् भने आगामी मङ्सिर १० र ११ गते १८औँ शिखर सम्मेलन काठमाडौँमा हुन गइरहेको छ । तर वडापत्रले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिको अवस्था हेर्दा यो क्षेत्रीय सङ्गठन विश्वका अन्य क्षेत्रीय सङ्गठनको तुलनामा कमजोर देखिएको छ । साथै, प्रत्येक शिखर सम्मेलनमा जारी गरिएका घोषणापत्रको कार्यान्वयनको अवस्था पनि फितलो रहेको छ । सार्कका लक्ष्य प्राप्तिमा देखिएका चुनौती हेर्दा कुनै एक कारण नभई विविध आन्तरिक र बाह्य कारण देखिन्छन् । एकातिर यो क्षेत्र विश्वमै सबैभन्दा गरिबी, असमानता, अशिक्षा र जनसङ्ख्याको चाप रहेको क्षेत्रका रूपमा रहेको छ भने अर्कोतिर सार्क राष्ट्र आ–आफ्नै कुनै न कुनै समस्यामा पनि रुमलिएका छन् । सार्कको वडापत्रमा कुनै एक राष्ट्रमात्र पनि असहमत भएमा यसको निर्णय कार्यान्वयन नहुने प्रावधान छ । प्रायः सबै मुलुक आर्थिक, सामाजिक, बेरोजगारी, मानव बेचबिखन र अवैध ओसारपसार, महिला र बालबालिकाको शोषण, आपराधिक र आतङ्कवादी गतिविधि, द्विपक्षीय सीमा र घुसपैठ विवाद, राजनीतिक लगायतका आन्तरिक समस्याले आक्रान्त छन् । यस्तै समस्याका कारण सार्कले निर्दिष्ट गरेको लक्ष्य उद्देश्य प्राप्तिमा चुनौती खडा हुने गरेको छ । दक्षिण एसियामा विशेष गरी आर्थिक कठिनाइ, नयाँ परिवेशमा पुरानो नीति, गृहयुद्ध, आन्तरिक द्वन्द्व, विभिन्न रोगका महामारी, अशिक्षा, बेरोजगारी, खाद्य सङ्कट, कुपोषण, कमजोर राजनीतिक नेतृत्व, युगौँदेखि पिछडिएको बन्द समाजलगायतका समस्याले पनि सार्क उद्देश्य हासिलमा चुनौती सिर्जना गरेको छ, तर यस्तै चुनौतीसँग सामना गर्नकै लागि सार्कको परिकल्पना गरिएको थियो । भुटान र नेपालको भारतसँग खुला सीमाले निम्त्याउने आपराधिक र आतङ्तवाद घुसपैठ, सीमा विवादका साथै आन्तरिक मामिलामा हस्तक्षेपको आरोप पनि चुनौती हो । भारत–श्रीलङ्काबीच विगतमा भएको केही तिक्तताले पनि सम्बन्धमा केही असर पुर्याएको थियो भने भुटानी शरणार्थीका कारणलाई सदियौँदेखिको नेपाल–भुटान प्रगाढ सम्बन्धमा केही बादल लाग्न पुग्यो । बङ्गलादेश र माल्दिभ्स एकातिर जलवायु परिवर्तनको असर डुबान र बाढीपहिरोबाट पीडित छन् भने अर्काेतिर राजनीतिक अस्थिरताको समस्या पनि यथावत् छ । बङ्गलादेशको भारतसँग सीमामा काँडेतार विवाद पनि यदाकदा असमझदारीका कारण बन्ने गरेको छ । अफगानिस्तान अलकायदा र तालिवान विद्रोही सङ्गठनका कारण गृहयुद्धले थिलथिलो भएको छ । यसरी सार्कका मुलुकहरू आन्तरिक र बाह्य द्वन्द्वमा गाँजिएका कारण सार्क वडापत्र कार्यान्वयनमा कठिनाइ देखिएको छ । यस्ता चुनौतीलाई दृढताका साथ सामना गरी सार्क क्षेत्रलाई सुरक्षित र समुन्नत बनाई दक्षिण एसियाका एक अर्बभन्दा बढी जनतालाई सुनिश्चित भविष्य दिलाउन सार्क नेताहरूले आत्मीयता र आत्मविश्वासका साथ ठूलो आँट देखाएर सार्कका निर्णयलाई कार्यान्वयनको तहमा पुर्याउने अठोटका साथ काम गर्नु र गराउनु अत्यावश्यक भएको छ । त्यसो त सार्क क्षेत्र सम्भावनै सम्भावनाको भण्डार हो । यहाँ भएका स्रोत साधनको उचित उपयोग गर्न सके छिट्टै नै यो क्षेत्र समृद्ध बन्नेछ । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण सार्क राष्ट्र विश्व पर्यटन आकर्षणका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । विश्वको सर्वोच्च हिमशिखर सगरमाथालगायत आठ हजार मिटरभन्दा अग्ला १४ मध्ये १२ हिमशिखर दक्षिण एसियामैै पर्दछन् । प्राकृतिक र जैविक विविधतासँगै भू–परिवेष्टित भूगोल र जल परिवेष्टित विविधताको सङ्गमले यो क्षेत्रलाई अझै आकर्षण थपिदिएको छ । भू–परिवेष्टितमा नेपाल र भुटान छन् भने जल परिवेष्टित माल्दिभ्स र श्रीलङ्का पनि सार्क क्षेत्रमै रहेकाले हिमशृङ्खलाको रोमाञ्चकदेखि समुद्री तटको सौन्दर्यको आनन्द गर्न पाइने भएकाले पर्यटक लोभिने गर्दछन् । साहसिक पर्यटन, खेलकुद पर्यटन र विश्व चर्चित पदमार्गले पनि सार्कलाई पर्यटकीय हबका रूपमा विकास गर्दै लगेको पाइन्छ । प्राकृतिक र भौगोलिक विविधता, उच्च हिमाली हिमशिखर, पहाडका अग्ला डाँडाकाँडा, तराईका समथर फाँट तथा समुद्रको सङ्गमस्थल रहेको सार्क क्षेत्र तेस्रो मुलुकका लागि आकर्षणका माध्यम बनेका छन् । पूर्वीय सभ्यताको उद्गमस्थल प्राकृतिक सम्पदाले भरिपूर्ण दक्षिण एसियाका आठ राष्ट्र विश्वका जुनसुकै भागका बासिन्दाका लागि पनि आकर्षणको थलो बनेका छन् । सांस्कृतिक विविधता, अनुपम प्राकृतिक छटा, सांस्कृतिक धरोहर, पुरातात्विक महत्वका कलात्मक मठमन्दिर, पवित्र तीर्थस्थल आदिले पनि सार्कलाई आकर्षण थपेको छ । अनेकौँ विविधता र विशेषताले विश्व पर्यटन मानचित्रमा दक्षिण एसिया सर्वाधिक आकर्षकस्थलको रूपमा रहेको पाइन्छ । आवश्यकता उपयोगको मात्र हो । यसका लागि सार्क सदस्य राष्ट्रहरूबीच इमान्दार प्रयास र हातेमालो चाहिन्छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||