| युगसम्बाद साप्ताहिक | ||||
|
वार्षिक ४ अर्ब रेमिट्यान्स खाएरै सकिन्छ Tuesday, 12.02.2014, 02:35pm (GMT5.5) काठमाडौं । मुलुकको अर्थतन्त्र वैदेशिक रोजगारीबाट भित्रिएको रकमबाटै चलिरहेको छ । खाद्यान्नदखि औषधि, लत्ताकडा, तरकारी, फलफूल सबै आयात गर्नुपर्छ । तर, मुलुक भने कृषि प्रधान भनेर प्रचारित छ । यदि खाद्यान्नमै मात्र मुलुक आत्मनिर्भर रहन्थ्यो भने वार्षिक ३ खर्बभन्दा बढी रुपैयाँ उत्पादनमूलक कार्यमा लगाउन सकिन्थ्यो तर मुलुकका हरेक जिल्लामा भित्रिने रकम सबै दैनिक गुजारामै सकिने गरेको छ । एकै जिल्लामा वार्षिक अर्बौ रुपैयाँ भित्रिन्छ तर सबै सकिन्छ । यस्तै भैरहेको छ म्याग्दीमा । घरका छोरा नाती वैदेशिक रोजगारीमा गएपछि बुढाबुढी र महिलाको जीवनशली बदलिएको छ तर यो दीर्घकालीन हैन । बेनी नगरपालिका–७ डम्मराकी ७० वर्षीया दुर्गालक्ष्मी क्षेत्रीले आजभोलि सुखका दिन विताउन थाल्नुभएको छ । पहिले भएको आफ्नो सम्पत्ति र जग्गा पहिरोले बगाएपछि घरबारविहीन भएर आफन्तको घरमा शरण लिएर बस्नुभएको थियो । उहाँका एकमात्रै छोरा हाल रोजगारीका क्रममा साउदीमा हुनुहुन्छ । पहिरोले घरबारविहीन भएको दुर्गाको परिवारले अहिले भने विदेशमा रहेको छोराले पैसा पठाउन थालेपछि केही सुखको अनुभूति गर्न थाल्नुभएको हो । विदेशमा गएर छोराले कमाएको आम्दानीले अहिले आफ्नै, जग्गा जमिन र घर बनाउन सकेपछि केही सुखको अनुभूति हुन थालेको उहाँले बताउनुभयो । यतिबेला म्याग्दीका अधिकांश परिवारको घरखर्च जुटाउने निर्विकल्प माध्यमजस्तै बनेको छ वैदेशिक रोजगारी । युवा रोजगारीका लागि विदेश पलायन हुने क्रमसँगै हरेकजसो परिवारको आम्दानीको स्रोत नै वैदेशिक रोजगार बन्न पुगेको हो । जिल्लामा अहिले अधिकांश परिवारको गुजारा विदेशमा रहेका आफन्तले पठाउने रकमबाट चल्ने गरेको छ । पछिल्लो तथ्याङ्कअनुसार म्याग्दीका १५ हजारभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । अन्य जिल्लाको तुलनामा धेरै युवा वैदेशिक रोजगारीमा रहेको जिल्लाका रूपमा चिनिने म्याग्दीमा वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै प्रत्येक वर्ष जिल्लामा भित्रिने विप्रेषणको मात्रा बढेको निलगिरि विकास बैंक लिमिटेड बेनीका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा बैंकले रु एक अर्ब ४० करोडभन्दा बढी विप्रेषण भुक्तानी गरेको छ । तेइस हजार २७६ जनालाई विप्रेषण भुक्तानी गरेको बैंकले अधिकांश रकम साउदी, कतार, मलेसिया, दुवइलगायतका मुलुकमा रोजगारीको सिलसिलामा पुगेकाले पठाउने गरेको अधिकृत कमलप्रसाद ढुङ्गानाले बताउनुभयो । आर्थिक वर्ष २०७०।०७१ मा जिल्लाको बेनी, गलेश्वर, दरबाङ, भुरुङ तातोपानीलगायतका स्थानमा रहेका सहकारी तथा बैंकले चार अर्बभन्दा बढी विप्रेषण भुक्तानी गरेका छन् । जिल्लामा बेनीस्थित अन्य केही सहकारी तथा बैंक र ताकममा रहेका सहकारीले समेत विप्रेषण भुक्तानी गर्छन् । बैंक तथा वित्तीय संस्थामार्फत भुक्तानी भएको यो तथ्याङ्कमा हुन्डी र व्यक्तिमार्फत आएको रकम देखिदैन । जापान, कोरियालगायतका मुलुकमा रहेकाबाट हुन्डीमार्फत पैसा पठाउने गरेको जानकारहरू बताउँछन् । खाडी मुलुकबाट धेरै र अन्य देशबाट थोरै रकम आउने गरेको विप्रेषण कारोबार गर्ने सहकारी तथा बैंकले जनाएका छन् । यसरी बर्सेनि जिल्लामा भित्रिने अर्बौं रकमको अधिकांश भाग उपभोगमा खर्च हुने गरेको पाइन्छ । यसले भविष्यमा अभाव र परनिर्भरताको खाडल गहिरिदै जाने सम्भावना देखाउँछ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||