| युगसम्बाद साप्ताहिक | ||||
|
आयोजनाहरूको लागत र समय बढेको बढ्यै Monday, 12.29.2014, 07:40pm (GMT5.5) काठमाडौं । जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक नेपालमा जलस्रोतको उपयोगको स्थिति अत्यन्त नाजुक छ । न जलविद्युत आवश्यकता अनुसार उत्पादन भएको छ, न त सिंचाईको सुविधा नै । त्यस्तै सबै जनताले स्वच्छ खानेपानी पनि पाएका छैनन् । मुलुकको राजधानी नै काकाकुलको स्थितिमा छ । मेलम्चीको सपना पालेर जनता कुरिरहेका छन् । यस्तै विद्युत संकट टार्न सरकारले अनेक योजना ल्याएको छ र जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । तर, सरकारी लगानीमा निर्माण आरम्भ गरिएका प्रायःजसो आयोजनाको स्थिति नाजुक छ । नेपाल प्राधिकरणको लापर्बाही, अनावश्यक राजनीति तथा टे«ड युनियनको हस्तक्षेप र ठेक्कामा भएको कमजोरीका कारण आयोजनामा समस्या बढ्दै गएको हो । प्राधिकरणले निर्माण गरिरहेका आयोजनाको पछिल्लो कार्यप्रगति समेत सन्तोषजनक नरहेको पाइएको छ । प्राधिकरणले हाल अगाडि बढाएका माथिल्लो त्रिशूली ३ ए, राहुघाट, कुलेखानी तेस्रो र चमेलिया जलविद्युत् आयोजना कहिले सम्पन्न हुने हो भन्नेमा समेत आशङ्का पैदा भएको छ । कुल ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको हालसम्मको भौतिक प्रगति ४६ प्रतिशत मात्रै रहेको छ । गत साल नै सम्पन्न हुनुपर्ने सो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि प्राधिकरणले नै उपलब्ध गराएको विवरण हेर्ने हो भने तोकिएको समयमा सम्पन्न नहुने देखिएको छ । सो आयोजनाका लागि भनेर सरकारले चालु आवका लागि उपलब्ध गराएको रु ४६ करोड ४३ लाख रकम पनि खर्च हुनसकेको छैन । यस्तै प्राधिकरणले नै अगाडि बढाएको ३२ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको काम माथिल्लो त्रिशूली ३ ए कोभन्दा कमजोर रहेको छ । सिभिल ठेकेदारको आर्थिक अवस्था ज्यादै नराम्रो भएकोले ठेकेदारले आर्थिक स्रोत परिचालन गर्न नसकेको हुँदा समग्र प्रगति कम भएको प्राधिकरणले जनाए पनि ठेक्का रद्द गर्ने वा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रस्ट निर्णय नहुँदा समस्या घट्नुको साटो बढ्दै गएको छ । चालु आवको पहिलो चौमासिकका लागि भनेर सरकारले उपलब्ध गराएको रु ३३ करोड ३८ लाख ८८ हजार रकममध्ये हालसम्म केवल रु चार करोड ९१ लाख ७१ हजार मात्रै खर्च भएको छ । आयोजना अगाडि बढाइएको पाँच वर्षभन्दा बढी समय भए पनि भौतिक प्रगति १२ प्रतिशत मात्रै भएको छ । सो आयोजनाको लागत रु चार अर्ब ७७ करोड ४ लाख रहेको छ । राहुघाट जलविद्युत् आयोजनालाई समस्याग्रस्त आयोजनाको रुपमा ऊर्जा मन्त्रालयले निर्दिष्ट गरेको भए पनि समस्या निरुपण गर्नेतर्फ हालसम्म कुनै पनि पहल हुन सकेको छैन । ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री नीतिगत रुपमा देखिएको अप्ठ्यारोका कारण सोचेअनुसारको कार्यप्रगति हुन नसकेको भन्दै आगामी दिनमा सच्याएर अगाडि बढ्न मन्त्रालयले नीतिमा नै संशोधनको प्रक्रिया सुरु गरिसकेको बताउनुहुन्छ । सरकारले यही पुसको अन्त्यसम्म विद्यमान विद्युत् ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको र सोसँगै जग्गा प्राप्ति ऐनमा रहेको कठिनाइ समेत हट्न सकेको खण्डमा ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति हुने धारणा राख्दै उहाँले बाह्यभन्दा पनि आन्तरिक समस्या हटाउन मन्त्रालय लागिपरेको विश्वास दिलाउनुभयो । कुनै आयोजनामा ठेकेदारको विवाद, कुनैमा प्राधिकरणको लापरबाही त कुनैमा भौगोलिक जटिलताका कारण समस्या उत्पन्न भएको छ । निर्माण पूरा भइसक्नुपर्ने चमेलिया र कुलेखानीमा उत्पन्न समस्याका कारण लागत र अवधि पटक–पटक थपिएको छ । निर्माण पूरा हुनुपर्ने माथिल्लो त्रिशूली–३ ‘ए’ को काम हाल कछुवा गतिमा अगाडि बढीरहेको छ । आयोजनाको लागत र अवधि कति लाग्ने भन्नेमा प्राधिकरणनै विश्वस्त रहेको छैन । सो आयोजनाको हालको लागत रु नौ अर्ब रहेको छ । ऊर्जा मन्त्री राधा ज्ञवालीका अनुसार समस्यामा रहेका सबै आयोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक निर्देशन र कार्यतालिका समेत पारित गरिसकेको छ । “कतिपय सन्दर्भमा नीतिगत कमजोरी भएको छ भने कतिपय सन्दर्भमा जनशक्तिको अभाव पनि देखिएको छ । ती दुवै समस्या समाधानका लागि कार्यतालिका नै बनाइएको छ । समस्या समाधान हुने विश्वास लिएको छौँ ।’’ ऊर्जा मन्त्री ज्ञवालीले भन्नुभयो । कुलेखानी तेस्रोमा सिभिल निर्माणको काम अगाडि बढेको भए पनि इलेक्ट्रोमेकानिकल ठेकेदारले काम नगर्दा कार्यक्रम र लागत संशोधन गर्नुपर्ने स्थिति देखिएको छ । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाका लागि पहिलो चौमासिकका लागि रु ४३ करोड ४३ लाख विनियोजन गरिएको थियो । उपलब्ध गराइएको रकममध्ये रु ४३ करोड नै खर्च भएको भए पनि भौतिक प्रगति सन्तोषजनक पाइएको छैन । सो आयोजनाको कुल लागत रु दुई अर्ब ३३ करोड अनुमान गरिएको भए पनि समय बढेका कारण थप हुने देखिएको छ । चमेलिया जलविद्युत् आयोजना तीन वर्ष पहिले नै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सुरुङ खुम्चिएको भन्दै ठेकेदारले थप रकम माग गरेपछि विवादमा फसेको छ । सो आयोजनाको लागत रु १४ अर्ब ३६ करोड पुगेको छ । जलविद्युत आयोजनाहरूको यस्तो अवस्थालाई हेरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थाल्न र कारवाही गर्न सम्बन्धिन निकायलाई निर्देशन दिंदा अख्तियार विकास बिरोधी भयो भन्दै सभासदहरूले नारावाजी गरे पनि माथिल्लो तथ्यले विकास बिरोधी को हो भन्ने उजागर गर्दछ । त्यस्तै २०७३ वैशाख १ गते मेलम्चीको पानी काठमाडौँमा ल्याउने घोषणा गरिए पनि योजनाअनुसारको कार्य सम्पन्न हुन नसक्दा ढिलाइ हुने स्पष्ट भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २० किलोमिटरमध्ये जम्मा तीन किलोमिटर खनिएको छ भने १७ किलोमिटर बाँकी छ । यसबाहेक सहायक सुरुङमार्ग छ किलोमिटर खनिएको छ । हालसम्म जम्मा १७ प्रतिशत काम सम्पन्न भएको छ । समयका हिसाबले ४० प्रतिशत समय बितिसकेको छ भने ६० प्रतिशत समय बाँकी छ तर गर्नुपर्ने काम भने ८३ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ । जम्मा सुरुङमार्गको लम्बाई भने २६ दशमलव ५ किमि रहेको छ । मेलम्ची खानेपानी विकास समितिका निर्देशक घनश्याम भट्टराईले तोकिएको समयमा कार्य सम्पन्न गर्न कुनै कसुर बाँकी नराखिएको बताउनुभयो । उहाँ भन्नु हुन्छ, “समयमै सुरुङ मार्गको काम सकिन्छ भन्नेमा आशावादी छौँ । कोसिस गरिरहेका छौँ । कामको गति बढेकाले अझै पनि सम्भावना रहेको छ ।” दैनिक ४० मिटरको लक्ष्यले सुरुङ खन्दा पनि समयमा सकिन मुस्किल पर्ने देखिन्छ तर हाल दैनिक झन्डै २० मिटरका दरले खनिएको छ । विप्रेषण हाइड्रोको प्रक्रिया सुरु काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले रु दुई अर्ब बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ । उपभोगमै सकिएको विप्रेषण उत्पादनमूलक कार्यमा लगाउन कम्पनीले विप्रेषण जलविद्युतका लागि पनि केही समयभित्रै अन्तर्राष्ट्रिय आह्वान गरिनेछ । त्यसका लागि आवश्यक कार्यविधि निर्माणको चरणमा रहेको छ । सरकारी स्वामित्वको सो कम्पनीले पहिलोपटक जलविद्युत्को विकासका लागि नागरिकको सहभागिता जुटाउन सेयर निस्कासन गर्न लागेको हो । सो योजनाका लागि रु तीन अर्ब बराबरको विप्रेषण लगाउने परिचालन गर्ने कम्पनीले तयारी गरेको छ । नागरिकका लागि वितरण गर्न लागिएको सो परिमाणको सेयर हालसम्मकै ठूलो हो । कम्पनीले नागरिकलाई सेयर जारी गर्न नागरिक लगानी कोषलाई निष्कासन तथा विक्री प्रबन्धकसमेत नियुक्त गरेको छ । । कम्पनी र कोषबीच विक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो । यो सझौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियार र कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गर्नुभयो । यो कम्पनीको चुक्ता पूँजी रु १० अर्ब रहेको छ । संस्थापकले रु आठ अर्ब यसअघि नै लगानी गरिसकेका छन् । त्यसमा नेपाल सरकारको रु पाँच अर्ब, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोषले समान रु एक अर्ब लगानी गरेका छन् । नागरिकका लागि बाँकी राखिएको रु दुई अर्ब बराबरको सेयरका लागि सार्वजनिक आह्वान गर्न लागिएको हो । कम्पनीले प्रतिकित्ता रु एक सयका दरले दुई करोड कित्ता सेयर नागरिकका लागि जारी गर्न लागेको हो । पछिल्लो दिनमा जलविद्युत् आयोजनाको विकास र विस्तारका लागि नागरिकको उत्साह बढ्दै गएकाले मागभन्दा धेरै सेयर आवेदन पर्ने कम्पनीले विश्वास लिएको छ । सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा कम्पनीले आवेदन दिइसकेको छ । बोर्डले कम्पनीको निवेदनमाथि सहमति जनाएपछि सेयर निष्कासनको प्रक्रिया सुरु हुनेछ । तर कम्पनीले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन बोर्डमा बुझाउन बाँकी रहेको र सो प्रतिवेदन बुझाएपछि बोर्डले सेयर निष्कासनका लागि अनुमति दिने जनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी निर्देशक रौनियारले मुलुकको जलविद्युत्को विकासका लागि नागरिकलाई सहभागी गराउने उद्देश्यका साथ सेयर निष्कासन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सेयर निष्कासनका लागि आवश्यक प्रक्रियासमेत सुरु भइसकेको जानकारी दिँदै ढुक्क भएर लगानी गर्न नागरिकलाई आग्रह गर्नुभयो । कम्पनीले ३० मेगावाट क्षमताको खानीखोला, २३.५ मेगावाट क्षमताको सोलु खोलालगायत विभिन्न ६ वटा आयोजनामा ऋण सम्झौता गरिसकेको छ । यस्तै निकट भविष्यमा थप केही आयोजनासँग ऋण सम्झौता गर्ने तयारीसमेत गरेको छ । प्रमुख कार्यकारी निर्देशक रौनियारका अनुसार एसियाली विकास बैंकको रु आठ अर्ब सहुलियतपूर्ण ऋण लिनेसमेत तयारी गरिएको छ । सो रकम पनि जलविद्युत् क्षेत्रमा लगानी गर्ने योजना अगाडि सारिएको छ । यस्तै कम्पनीले वैदेशिक रोजगारीमा गएका युवालाई जलविद्युत् क्षेत्रमा लगानी गराउनका लागि ‘विप्रेषण जलविद्युत्’ को अवधारणासमेत अगाडि सारेको छ । ऊर्जा मन्त्रालयले कार्यविधि स्वीकृत गर्ने वित्तिकै सार्वजनिक आह्वान गरिने कम्पनीले जनाएको छ । कम्पनीले बैंकमा रकम जम्मा गरेर व्याज मात्रै खाएको आरोप लागिरहेको बेला जलविद्युत् क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सारिएको आज जानकारी दिइयो । कम्पनीले गत आवमा रु ४१ करोड व्याजमार्फत खुद नाफा कमाएको थियो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||